प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन १, बिहिबार
रौतहट / मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले नगरपालिकाको प्रशासनिक तथा सेवा प्रवाहमा देखिएका समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष सार्वजनिक अपिल प्रस्तुत गरेकी छन्।
भदौ २९ गते दर्ता गरिएको अपिलमा प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिकाको दैनिक प्रशासनिक कार्य तथा विकास निर्माणका काम प्रभावित भएको उल्लेख गरिएको छ।
नगर प्रमुख साहका अनुसार विगतका वर्षहरूमा उच्च प्रगति हुँदै आएको नगरपालिकाको बजेट खर्च आर्थिक वर्ष २०८२/८३ मा ५०.६८ प्रतिशतमा सीमित भएको छ। सङ्घीय सरकारबाट पर्याप्त बजेट प्राप्त हुन नसकेको तथा प्रमुख प्रशासकीय अधिकृतको अभावले नगरपालिकाको कामकाज प्रभावित भएको उनको भनाइ छ।
अपिलमा कर्मचारीको तलब, जनप्रतिनिधिको सेवा–सुविधा तथा वडा सञ्चालन खर्चलगायत विभिन्न भुक्तानी बाँकी रहेको उल्लेख गरिएको छ। विद्युत् तथा खानेपानीको बक्यौता, दलित बस्ती निर्माण र ‘छोरीसँग मेयर’ कार्यक्रमसमेत प्रभावित भएको नगर प्रमुख साहले बताएकी छन्।
प्रधानमन्त्री शाहले काठमाडौं महानगरपालिकाको नगर प्रमुख रहँदा दिएको एक अभिव्यक्तिको प्रसंग उल्लेख गर्दै नगर प्रमुख साहले नगरपालिकामा देखिएको समस्याप्रति ध्यानाकर्षण गराएकी छन्। सोही क्रममा उनले ‘लालबकैयामा कसलाई गाड्ने हो, सल्लाह पाउँ’ भन्ने व्यङ्ग्यात्मक प्रश्नसमेत राखेकी छन्।
नगर प्रमुख साहले मौलापुर नगरपालिकाको सेवा प्रवाह तथा प्रशासनिक कामलाई नियमित बनाउन तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेकी छन् ।