logo
२०८३ आश्विन ४, आईतबार |
📰
🔍

वामपन्थी शक्तिले आत्मसमीक्षा, रूपान्तरण र पुनर्गठन गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

प्रभातफेरी अनलाइन४ पटक पढिएको | १ घण्टा अघि
वामपन्थी शक्तिले आत्मसमीक्षा, रूपान्तरण र पुनर्गठन गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं / नेकपा नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै संविधानको मर्म र भावनाअनुरूप प्राप्त उपलब्धिको संरक्षण, कार्यान्वयन तथा आवश्यक सुधारमा जोड दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश व्यक्त गर्दै श्रेष्ठले ऐतिहासिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ। उहाँले बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान, घाइते योद्धाहरूप्रति कृतज्ञता व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै, परिवर्तनको नेतृत्व गर्नुहुने अग्रजहरूप्रति धन्यवाद तथा संघर्षशील नेपाली जनताप्रति अभिनन्दन व्यक्त गर्नुभएको छ।

श्रेष्ठले संविधान दिवसलाई केवल उत्सवका रूपमा सीमित नराखी परिवर्तनको मर्म, भावना र सारतत्व आत्मसात् गर्ने, संविधान कार्यान्वयन तथा प्राप्त उपलब्धिको समीक्षा गर्ने र देखिएका कमी–कमजोरीलाई सुधार तथा परिमार्जन गर्दै अघि बढ्ने संकल्प दिवसका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

उहाँले वर्तमान संवेदनशील परिस्थितिमा मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको रक्षा सबैभन्दा महत्वपूर्ण राष्ट्रिय दायित्व भएको उल्लेख गर्नुभएको छ। मुलुकको अस्तित्व र राष्ट्रिय हितको संरक्षणका लागि आवश्यक जिम्मेवारी निर्वाह गर्न सबै पक्ष तयार रहनुपर्ने उहाँको भनाइ छ।

श्रेष्ठका अनुसार नेपालको ऐतिहासिक परिवर्तनको मुख्य सारतत्व ‘समाजवादउन्मुख समावेशी लोकतन्त्र’ हो भने यसको राजनीतिक प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र हो। उहाँले वामपन्थी शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा मात्र नभई संविधानले परिकल्पना गरेको समाजवादउन्मुख राज्य तथा अर्थतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

संविधान जारी भएपछि जनताले संघीय, प्रदेश र स्थानीय तहमा वामपन्थी शक्तिलाई उल्लेख्य जनादेश दिएको स्मरण गर्दै श्रेष्ठले त्यसअनुरूपको जिम्मेवारी पूरा गर्न नसकिएको धारणा व्यक्त गर्नुभएको छ। वामपन्थी शक्तिले नेतृत्व गर्न नसक्दा संविधानको मर्म र भावनाअनुरूप यसको कार्यान्वयन कमजोर हुन सक्ने तथा प्राप्त परिवर्तनमाथि चुनौती उत्पन्न हुन सक्ने उहाँको भनाइ छ।

उहाँले राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक उपलब्धिको संरक्षणका लागि देशभक्त तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ। साथै, सम्पूर्ण वामपन्थी शक्तिहरूलाई आपसी सहकार्य र मोर्चाबद्ध हुँदै देश तथा जनताका समसामयिक मुद्दालाई सम्बोधन गर्न अघि बढ्न आह्वान गर्नुभएको छ।

श्रेष्ठले वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूका लागि पहिलो आवश्यकता आत्मसमीक्षा, रूपान्तरण र पुनर्गठन भएको उल्लेख गर्नुभएको छ। त्यसो गर्न नसके वैचारिक तथा सांस्कृतिक स्खलन र पूँजीवादी प्रवृत्तिको प्रभावका कारण राष्ट्रिय दायित्व पूरा गर्न कठिन हुने उहाँले बताउनुभएको छ।