प्रभातफेरी अनलाइन४ पटक पढिएको | ४६ मिनेट अघि
काभ्रे / सामाजिक विकृति तथा अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक मातहतका प्रहरी इकाइहरूले जिल्लाका विभिन्न ८ स्थानमा एकैदिन सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेका छन्।
कार्यक्रममा प्रहरी र स्थानीयबीच अन्तरक्रिया गर्दै लागुऔषध, जुवातास, चोरी, आत्महत्या तथा लैङ्गिक हिंसालगायतका सामाजिक समस्याबारे सचेतना फैलाइएको थियो। स्थानीय महिला, बालबालिका, युवा, जनप्रतिनिधि तथा समाजसेवीहरूको सहभागितामा गाउँ–गाउँमा सचेतनामूलक कार्यक्रम गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विभिन्न स्थानमा सञ्चालन गरिएका कार्यक्रम र विषयहरू यस प्रकार छन् :
इ.प्र.का. देवीटार — लागुऔषधसम्बन्धी सचेतना
इ.प्र.का. भगवतीस्थान — जुवाताससम्बन्धी सचेतना
प्र.चौ. रोशीभुमी — चोरीसम्बन्धी सचेतना
प्र.चौ. श्यामपाटी — आत्महत्यासम्बन्धी सचेतना
प्र.चौ. सल्लेभुम्लु — लागुऔषधसम्बन्धी सचेतना
प्र.चौ. हिगुवापाटी — लैङ्गिक हिंसासम्बन्धी सचेतना
प्र.चौ. ढुङ्खर्क — जुवाताससम्बन्धी सचेतना
प्र.चौ. पचुवारघाट — लागुऔषधसम्बन्धी सचेतना
कार्यक्रमका क्रममा प्रहरीले लागुऔषध दुरुपयोगले स्वास्थ्य तथा परिवारमा पार्ने असर, जुवातासबाट निम्तिन सक्ने आर्थिक तथा सामाजिक समस्या, चोरी रोकथामका उपाय, आत्महत्याका कारण तथा रोकथामका उपाय र लैङ्गिक हिंसाविरुद्धको कानुनी व्यवस्थाबारे जानकारी गराएका थिए।
स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरी र समुदायबीचको सम्बन्ध थप बलियो बनाउँदै अपराध न्यूनीकरण तथा नागरिकलाई आफ्नो सुरक्षाप्रति जिम्मेवार बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।