logo
२०८३ आश्विन ९, शुक्रबार |
☰
📰
🔍
✕

अर्को प्रचण्ड बन्ने महत्त्वाकांक्षाले अस्तित्व नै संकटमा

प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ आश्विन ९, शुक्रबार
अर्को प्रचण्ड बन्ने महत्त्वाकांक्षाले अस्तित्व नै संकटमा

काठमाडौँ / नेपालको १० वर्षे सशस्त्र द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रियाको प्रमुख नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘क्रान्तिप्रति गद्दारी गरेको’, ‘संसदीय भासमा फसेको’ वा ‘वैचारिक विचलन आएको’ आरोप लगाउँदै माओवादी मूल प्रवाहबाट अलग भएका नेता तथा घटकहरूको राजनीतिक भविष्य यतिबेला अस्तित्व रक्षाकै गम्भीर संकटमा पुगेको छ। जनयुद्धकालीन नेतृत्वलाई चुनौती दिँदै ‘नयाँ क्रान्ति’ को सपना बाँडेर बाहिरिएका समूहहरू समयक्रममा क्रमशः कमजोर, विभाजित र चुनावी राजनीतिमा लगभग शून्यप्रायः अवस्थामा पुगेका छन्।

माओवादी पृष्ठभूमिका नेता तथा राजनीतिक विश्लेषकहरूका अनुसार, मूल नेतृत्व छाडेर जाने अधिकांश नेताहरूको मुख्य ध्येय क्रान्तिको नयाँ मार्ग कोर्नुभन्दा पनि ‘प्रचण्डको विकल्प’ वा ‘अर्को प्रचण्ड’ बन्ने व्यक्तिगत तथा समूहगत महत्त्वाकांक्षा थियो। तर, सांगठनिक आधार र स्पष्ट कार्यदिशाको अभावमा ती सबै घटकहरू नेपाली राष्ट्रिय राजनीतिमा प्रभावहीन बन्न पुगेका हुन्।

विभाजनको शृंखला र निराशाजनक परिणाम

२०६९ सालमा मोहन वैद्य ‘किरण’, रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका प्रभावशाली नेताहरूले पार्टी विभाजन गरी ‘नेकपा–माओवादी’ गठन गरे। प्रचण्डले क्रान्तिलाई बीचमै तुहाएको आरोप लगाएका ती नेताहरू आफैँ एक दशक पनि सँगै रहन सकेनन्।

मोहन वैद्य ‘किरण’ : क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेका वैद्य वैचारिक रूपमा कट्टर देखिए पनि उनको समूह वृद्ध नेताहरूको अध्ययन मण्डलीमा सीमित बनेको छ र सडक वा सदन कतै पनि उल्लेखनीय उपस्थिति देखाउन सकेको छैन।

नेत्रविक्रम चन्द ‘विप्लव’ : ‘एकीकृत जनक्रान्ति’ को नारा दिएर भूमिगत बनेका विप्लव राज्यको प्रतिबन्ध, वार्ता र खुला राजनीति हुँदै अहिले राष्ट्रिय राजनीतिमा कुनै निर्णायक शक्ति बन्न सकेका छैनन्। उनीबाट छुट्टिएर बनेको धर्मेन्द्र बाँस्तोला नेतृत्वको ‘नेकपा (बहुमत)’ चन्दा असुली र आन्तरिक कलहमै रुमलिएको छ।

डा. बाबुराम भट्टराई : जनयुद्धका प्रमुख रणनीतिकार भट्टराईले ‘कम्युनिस्ट विचार नै असान्दर्भिक भयो’ भन्दै नयाँ शक्ति पार्टी गठन गरे। तर, मधेस केन्द्रित दलसँगको एकता, फुट र नेपाल समाजवादी पार्टीसम्म आइपुग्दा उनी मूलधारको प्रतिस्पर्धी राजनीतिबाट निकै टाढा पुगिसकेका छन्।

सिपी गजुरेल, आहुति लगायतका समूह : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीलगायतका साना समूहहरू गोष्ठी र वक्तव्यमै सीमित भएका छन्।

मूल प्रवाहमा धक्का तर अस्तित्व कायमै

शीर्ष नेताहरूले लगातार पार्टी छाड्दा तत्कालीन एकीकृत नेकपा (माओवादी) र पछिल्लो समय बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई संगठनात्मक र चुनावी रूपमा ठूलो धक्का लाग्यो। २०६४ को संविधानसभामा पहिलो दल बनेको माओवादी पछि लगातार खुम्चिँदै गयो। जनयुद्धको बलियो जनमत र आधार इलाका तितरवितर भए।

तर, यति धेरै विभाजन र आन्तरिक घेराबन्दीका बाबजुद प्रचण्ड नेतृत्वको मूल प्रवाह भने नेपाली राजनीतिको राष्ट्रिय मुद्दाहरूमा निर्णायक भूमिकामै छ।

नेकपा सम्बद्ध नेताहरूका अनुसार, पार्टी छाडेर क्रान्तिकारी बन्ने दाबी गर्नेहरूले जनतालाई कुनै नयाँ विकल्प दिन सकेनन्। बरु उल्टै दक्षिणपन्थी प्रतिक्रियावादीलाई फाइदा पुर्‍याए। परिणामतः, प्रचण्डको विकल्प बन्न हिँडेकाहरू अस्तित्व संकटको भुमरीमा फस्दा, मूलधारको नेकपाले भने तमाम धक्काहरूका बीच पनि संसद् र सत्ता राजनीतिमा आफ्नो अपरिहार्य उपस्थिति प्रमाणित गरिरहेको छ।