प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
काठमाडौं / प्रतिनिधिसभाको सोमबारको बैठकमा छ वटा विधेयक प्रस्तुत भएका छन्। बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँच वटा विधेयक प्रस्तुत गरिएको हो।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सम्बन्धित विधेयक प्रस्तुत गरिन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी चार विधेयक प्रस्तुत गरिन्।
यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गरिन्।
सभामुख डोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४ गते दिउँसो २ बजे निर्वाचन हुने जानकारी गराएका छन्।