प्रभातफेरी अनलाइन३० पटक पढिएको | २०८३ आश्विन १२, सोमबार
काभ्रे / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकार पूर्ण रूपमा अराजक ढङ्गले अगाडि बढिरहेको आरोप लगाएका छन्। सरकारका पछिल्ला क्रियाकलाप र शैलीले मुलुकका लागि कुनै पनि शुभ सङ्केत नदेखिएको उनको भनाइ छ।
सोमबार पाँचथरमा आयोजित नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले सरकारले लोकतन्त्रको सामान्य मर्म र मर्यादालाई समेत कुल्चिएको बताए। ‘सरकार लोकतन्त्रको सामान्य मर्मलाई पनि नरुचाएर अराजक ढङ्गबाट चलेको छ, यसले देशमा राम्रो सङ्केत दिएको छैन,’ उनले भने।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यराति नियन्त्रणमा लिएको घटनाप्रति लक्षित गर्दै उनले सरकारको अपारदर्शी कार्यशैलीमाथि गम्भीर प्रश्न उठाए। ‘राति पक्रेर किन लग्यो भन्ने थाहा छैन, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई समेत भेट्न दिइएन,’ उनले भने, ‘कुनै पनि क्रियाकलापलाई सरकारले पारदर्शी बनाउन चाहेको छैन।’
सरकारका पछिल्ला कदमहरू गैरजिम्मेवार र केटाकेटीको खेलजस्तो देखिएको टिप्पणी गर्दै आङ्देम्बेले थपे, ‘जसरी पक्राउ गरियो र छाडियो, यो केटाकेटीको खेल भयो। उनको कमजोरी कानुनले केलाउला, तर पक्राउ गर्ने पनि त एउटा कानुनी तरिका होला नि!
यसैबिच, उनले नेपाल प्रहरी केवल राजनीतिक आदेश पालकको रूपमा सीमित भएको भन्दै व्यावसायिकतामाथि प्रश्न उठाए। ‘प्रहरी पनि आदेश पालकजस्तो मात्रै देखियो, खुरुखुरु गएर ल्याएको छ,’ उनले भने, ‘बर्दीधारी हुनुको एउटा नैतिकता प्रहरीले पनि कायम गर्न सकेको छैन।