logo
२०८३ कार्तिक २०, शुक्रबार |
☰
📰
🔍
✕

नारायणीको उर्लँदो भेलले सम्झाइरहेछ रेणु दाहालको दूरदर्शिता: विकासप्रेमी नेतालाई चिन्न नसक्नु जनताकै दुर्भाग्य

प्रभातफेरी अनलाइन३६ पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
नारायणीको उर्लँदो भेलले सम्झाइरहेछ रेणु दाहालको दूरदर्शिता: विकासप्रेमी नेतालाई चिन्न नसक्नु जनताकै दुर्भाग्य

काठमाडाैँ / अविरल वर्षासँगै यतिबेला देशका अधिकांश नदी र खोलाहरूले रौद्र रूप धारण गरेका छन्। बाढी र पहिरोको चपेटामा परेर कतै सिङ्गो बस्ती डुबानमा परेका छन् त कतै नागरिकका वर्षौँका सपना बोकेका घर–टहराहरू पानीको भेलसँगै बगेका छन्। नवलपरासी, पर्वत, काठमाडौंलगायत देशका विभिन्न क्षेत्रमा बाढीले जनजीवन अस्तव्यस्त बनाइरहँदा, मध्य नेपालको मुटु मानिने चितवनको भरतपुरतर्फ भने सबैको ध्यान तानिएको छ।

यतिबेला नारायणी नदी आफ्नो इतिहासकै भयानक रूप लिएर उर्लिरहेको छ। छालहरूले किनारलाई निल्न खोजिरहेका छन्, भेलको गर्जनले मुटु कमाउँछ। तर, यस्तो कहालीलाग्दो प्राकृतिक प्रकोपका बीच पनि भरतपुरका नदी किनारका बस्तीहरू सुरक्षित छन्, त्यहाँका नागरिकले चैनको सास फेरिरहेका छन्। कारण हो— नारायणीको किनारमा ठडिएका बलिया तटबन्ध र संरक्षणका पूर्वाधारहरू। र, यी संरचनाहरू देख्दा आज सिङ्गो चितवनवासी मात्र होइन, देशले नै एक जना विकासप्रेमी नेतृलाई खुलेर सम्झिरहेको छ— भरतपुर महानगरपालिकाकी पूर्वमेयर तथा दूरदर्शी नेतृ रेणु दाहाल। उनी नेकपाका अध्यक्ष प्रचण्डकी छाेरी पनि हुन। बुबाकाे ठुलाे साहसले देशै परिवर्तन भयाे भने रेणुकाे अथक प्रयासले भरतपुर नमुना बन्न सफल भयाे।

नारायणी भरतपुरको सौन्दर्य र पहिचान हो, तर वर्षायाममा यही नदी भरतपुरवासीका लागि काल बनेर आउँथ्यो। विगतमा नारायणीमा अलिकति मात्रै पानीको सतह बढ्दा किनारका बस्तीहरू रातभर सुत्न पाउँदैनथे। तर, रेणु दाहालले आफ्नो नेतृत्वकालमा यो नियतिलाई सधैँका लागि बदल्ने अठोट गरिन्। उनले नारायणी किनारको संरक्षण, तटबन्ध निर्माण र नदी व्यवस्थापनलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राखिन्। त्यतिबेला कतिपयले यी संरचनाहरूलाई सामान्य रूपमा लिए होलान्, कतिले राजनीतिक चस्माले हेरेर आलोचना पनि गरे होलान्। तर आज जब नारायणी उर्लिएर बस्ती पस्न खोजिरहेको छ, तब रेणु दाहालले निर्माण गरेका ती तटबन्धहरू जनताको ज्यान र सम्पत्ति जोगाउने अभेद्य ढाल बनेर उभिएका छन्।

विकासको वास्तविक मूल्याङ्कन सस्तो भाषण वा चुनावको बेला बाँडिने आश्वासनले होइन, संकटको समयमा देखिने परिणामले हुन्छ भन्ने कुरा आज नारायणीको किनारमा उभिएर हेर्दा छर्लङ्ग हुन्छ। जब नदी शान्त हुन्छ, तटबन्धको महत्व कसैलाई महसुस हुँदैन। तर आज जसरी नारायणीको पानीको सतहले खतराको तह पार गर्दा पनि भरतपुरका बस्तीहरू सुरक्षित छन्, त्यसले रेणु दाहालको दूरदृष्टि र विकासप्रतिको साँचो समर्पणलाई प्रमाणित गरेको छ। यदि उनले समयमै ती संरचनाहरू निर्माण नगरेकी भए आज भरतपुरको अवस्था कस्तो हुन्थ्यो होला? कति आमाका काख रित्तिन्थे होलान्? कति नागरिक घरबारविहीन हुन्थे होलान्? कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ।

तर, यति धेरै जनमुखी र दीर्घकालीन विकासका काम गर्ने रेणु दाहालजस्ता विकासप्रेमी नेतालाई लिएर हाम्रो समाज र राजनीतिको दृष्टिकोण भने बेलाबेला निकै दुखद देखिन्छ। चुनावमा जनताको निर्णय सर्वोपरि हुन्छ, तर सस्तो लोकप्रियता, क्षणिक आवेग र राजनीतिक दाउपेचको सिकार बनाएर रेणु दाहालजस्ता अहोरात्र जनताका लागि खट्ने नेतालाई हराउनु वा उनीहरूको अवमूल्यन गर्नु भनेको अन्ततः जनताकै दुर्भाग्य हो। जसले आफ्नो कार्यकालमा सहरको मुहार फेरिन्, सडक, शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापनमा क्रान्ति नै ल्याइन्, त्यस्ता नेतालाई चिन्न नसक्नुले हाम्रो समाजको चेतनामाथि नै गम्भीर प्रश्न खडा गर्छ।

राजनीतिमा कसैको समर्थन होला, कसैको विरोध होला। चुनावमा हारजित पनि सामान्य प्रक्रिया हो। तर, चुनाव सकिएपछि पनि नागरिकको जीवनमा निरन्तर प्रभाव पारिरहने कुरा भनेको त्यही नेताले गरेको विकास हो। रेणु दाहालले भरतपुरमा छोडेको विकासको छाप आज नारायणीको छालसँगै झन् चम्किलो बनेको छ। उनले बनाएका संरचनाहरूले आज हजारौँ जनताको ज्यान जोगाइरहेका छन्। यो भन्दा ठूलो धर्म र यो भन्दा ठूलो राजनीति अर्को के हुन सक्छ?

रेणु दाहाल एउटी व्यक्ति मात्र होइनन्, उनी विकास र रूपान्तरणकी एक जिउँदो प्रेरणा हुन्। समय बदलिरहन्छ, नेतृत्व पनि बदलिन सक्छ, तर उनले भरतपुरको माटोमा कोरेको विकासको रेखा कहिल्यै मेटिने छैन। आज नारायणीको उर्लँदो भेलले दिएको सबैभन्दा ठूलो सन्देश यही हो— संकटका बेला जनताको रक्षा गर्ने नेता नै वास्तविक नेता हो। यस्ता विकासप्रेमी, दूरदर्शी र जनताको दुःखमा मलम लगाउने नेतालाई राजनीतिमा सधैँ उच्च सम्मान मिल्नुपर्छ। यदि हामीले विकास गर्ने नेतालाई नै तिरस्कार गर्ने वा हराउने बाटो रोज्यौँ भने, भोलिका दिनमा विपद् आउँदा हामीलाई जोगाउने कुनै तटबन्धहरू बन्ने छैनन्। रेणु दाहालको कामले आज जे प्रमाणित गरेको छ, त्यो सम्पूर्ण नेपाली राजनीतिको लागि एउटा गतिलो पाठ हो।