प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
काठमाडाैं / सरकारले स्वास्थ्य सेवा सुधार, कानुनी संशोधन, राष्ट्रिय वन क्षेत्र उपयोग तथा उच्च तहका कर्मचारीको पदस्थापनलगायत विषयमा विभिन्न ६ वटा निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
बैठकले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमला–ढल्केबर–पथलैया सडकखण्ड, गजार्ङ खोला साना जलविद्युत् आयोजना, ४० मेगावाटको बलेफी खोला जलविद्युत् आयोजना तथा सशस्त्र प्रहरी बलका तालिम शिक्षालय, गुल्म र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको छ।
त्यस्तै, पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ संशोधन गर्न बनेको विधेयक, संघीय निजामती सेवा सम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले नेपाल प्रशासन सेवा सामूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीमा सहसचिव आभा श्रेष्ठ कर्णलाई बढुवा गरी गण्डकी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, नेपाल इन्जिनियरिङ सेवा सामूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीमा डा. जगदीश्वर कर्माचार्यलाई बढुवा गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।