logo
२०८३ आश्विन १३, मंगलबार |
☰
📰
🔍
✕

पार्टीभित्र अनुशासनहीनता स्वीकार्य हुँदैन, निर्वाचन तयारीमा केन्द्रित हुनू : अध्यक्ष ओली

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन १३, मंगलबार
पार्टीभित्र अनुशासनहीनता स्वीकार्य हुँदैन, निर्वाचन तयारीमा केन्द्रित हुनू : अध्यक्ष ओली

काठमाडौँ / नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दुई मुख्य कार्यभार र १५ वटा प्रमुख काम कार्यान्वयनका लागि सबै नेता तथा कार्यकर्तालाई अनुशासन र निष्ठाका साथ अघि बढ्न निर्देशन दिनुभएको छ। एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा आगामी निर्वाचनको तयारीलाई मुख्य कार्यभारका रूपमा अघि सारेको छ।

मंगलबार कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि पार्टीभित्रको सन्देह अन्त्य भएको दाबी गर्नुभयो। उहाँले अब पार्टीको नीति र अनुशासनविपरीत जाने, अराजकता फैलाउने वा विपक्षीलाई फाइदा पुग्ने गरी अभिव्यक्ति दिने जोकोहीमाथि कारबाही हुने चेतावनी दिनुभयो।

अध्यक्ष ओलीले आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारीमा पार्टी केन्द्रित हुनुपर्ने बताउँदै जनसंगठनको पुनर्गठन र संगठन निर्माणलाई प्राथमिकता दिन निर्देशन दिनुभयो। उहाँले अहिले प्रतिनिधि परिषद् बैठकतर्फ जानुभन्दा निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो।

उहाँले नेता तथा कार्यकर्तालाई एउटै लक्ष्यमा केन्द्रित भएर संगठन निर्माणमा सम्पूर्ण शक्ति लगाउन आग्रह गर्नुभयो। साथै, देशलाई पछाडि धकेल्ने, संवैधानिक प्रक्रिया मिच्ने तथा हिंसा र अराजकता निम्त्याउने प्रयास रोक्न पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो।

अध्यक्ष ओलीले मुलुकको आर्थिक, राजनीतिक तथा सांस्कृतिक अवस्थालाई प्रभावित पार्ने योजनाबद्ध प्रयास भइरहेको आरोप लगाउँदै विगतका घटनामा राष्ट्रिय सम्पत्ति, सिंहदरबारलगायत संरचना तथा निजी घरमा भएको आगजनीप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले एमालेले संविधानको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्स्थापनाका लागि नेतृत्व गर्ने दाबी गर्नुभयो।

फागुनको निर्वाचनमा पार्टीले व्यहोरेको क्षतिको कारणबारे विभिन्न पक्ष उल्लेख गर्दै उहाँले अब सामूहिक स्वार्थलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। विरोधीहरूले फैलाउने भ्रम चिर्न तथ्य, तर्क र प्रमाणमा आधारित डिजिटल अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो।

अन्य दलसँग पार्टी एकताको चर्चा आवश्यक नरहेको बताउँदै अध्यक्ष ओलीले चुनावी तालमेल वा विषयगत कार्यगत एकता भने हुन सक्ने उल्लेख गर्नुभयो।

उहाँले राजधानी वा सुविधायुक्त स्थानमा बसेर मात्र जिम्मेवारी पूरा नहुने भन्दै नेताहरूलाई आफ्नो कार्यक्षेत्रमै खटिएर संगठन निर्माणको कार्ययोजना बनाउन निर्देशन दिनुभयो। नेता–कार्यकर्ताको मूल्याङ्कन ज्येष्ठताभन्दा काम र योगदानका आधारमा गरिने उहाँले बताउनुभयो।

यसैगरी, केन्द्रीय कमिटीले अघि बढाएको डिजिटल अभिलेख निर्माण तथा संगठन सुदृढीकरणको काम यसै महिनाभित्र सम्पन्न गर्न र नयाँ सदस्यता वितरणलाई तीव्रता दिन अध्यक्ष ओलीले निर्देशन दिनुभयो।