logo
२०८३ आश्विन १५, बिहिबार |
☰
📰
🔍
✕

रेबिज खोपदेखि विद्यालय दूध दिवससम्म : पनौतीमा रोटरीको स्वास्थ्य तथा पोषण अभियान निरन्तर

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन १५, बिहिबार
रेबिज खोपदेखि विद्यालय दूध दिवससम्म : पनौतीमा रोटरीको स्वास्थ्य तथा पोषण अभियान निरन्तर

पनौती / रोटरी क्लब अफ पनौतीले भेटेरिनरी जनस्वास्थ्य तथा पोषण प्रवद्र्धन अभियानलाई निरन्तरता दिँदै विश्व रेबिज दिवसका अवसरमा पनौती–७ का कुकुर तथा बिरालोलाई निःशुल्क रेबिजविरुद्धको खोप र जुकाको औषधि वितरण गरेको छ।

रेबिजलाई पशुको मात्र समस्या नभई मानव स्वास्थ्यसँग समेत जोडिएको विषयका रूपमा बुझाउन तथा ‘एक स्वास्थ्य नीति’लाई समुदायस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले क्लबले विगतदेखि नै अभियान सञ्चालन गर्दै आएको जनाएको छ। अभियानमा पनौती नगरपालिका वडा नं. ७, पशु सेवा प्राविधिक समूह पनौती तथा पशु सेवा कार्यालय धुलिखेलले सहकार्य गर्दै आएका छन्।

त्यस्तै, क्लबले हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने विश्व स्कुल दूध दिवस पनौती–४ स्थित बालोद्वार माध्यमिक विद्यालयमा विभिन्न कार्यक्रमसहित मनाएको छ। ‘बलियो हड्डी, बलियो शरीरः खेलकुद र विकासका लागि दूध अमूल्य आधार’ भन्ने नाराका साथ दिवस मनाइएको हो।

विद्यालय तहदेखि नै दूध तथा दुग्धजन्य पदार्थको पौष्टिक महत्त्व, सुरक्षित तथा गुणस्तरीय दूधको सेवन र स्वस्थ खानपानबारे विद्यार्थी तथा अभिभावकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। क्लबले पछिल्ला सात वर्षदेखि पनौतीका सामुदायिक विद्यालयमा विश्व स्कुल दूध दिवस मनाउँदै आएको छ।

कार्यक्रममा पनौती–४ का वडा अध्यक्ष दीपकप्रसाद दाहाल, पनौती नगरपालिका पशुपंछी शाखाकी प्रमुख डा. दीपिका रेग्मीलगायतले दूध तथा दुग्धजन्य पदार्थको पोषणमा रहेको महत्त्वबारे धारणा राखेका थिए।

रोटरी क्लब अफ पनौतीका अध्यक्ष राजेश सुन्दर सैंजुले मानव स्वास्थ्य तथा पोषणका क्षेत्रमा क्लबले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए। नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष दूधको उपलब्धता तथा खपत करिब ७२ देखि ७८ लिटर रहेको र यो एफएओ तथा राष्ट्रिय दुग्ध विकास बोर्डले सिफारिस गरेको वार्षिक ९१ देखि ९२ लिटरको स्तरभन्दा कम रहेको आयोजकले जनाएको छ।