logo
२०८३ कार्तिक २९, आईतबार |
☰
📰
🔍
✕

छठ पर्वले सामाजिक विभेद अन्त्य गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलको विश्वास

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
छठ पर्वले सामाजिक विभेद अन्त्य गर्दै राष्ट्रिय एकता अभिवृद्धि गर्ने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गर्दै सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

छठ पर्व २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव सुदृढ बनाउन यस पर्वले प्रेरणा प्रदान गर्ने बताउनुभएको हो।

उहाँले दीर्घायु, स्वच्छता, सात्त्विक भोजन, संयमता, सद्भाव र समृद्धिको कामनासहित मनाइने छठ पर्वले सूर्यदेवको आराधनामार्फत सामाजिक तथा प्राकृतिक सन्तुलनको सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्नुभएको छ।

राष्ट्रपति पौडेलले छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल प्राप्त हुने, परिवारको कल्याण हुने तथा दुःखकष्ट हटेर शुभ हुने जनविश्वास रहेको पनि बताउनुभएको छ।

उहाँले सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने तथ्यलाई आत्मसात् गर्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने यस पर्वले प्रकृतिप्रतिको सम्मान, पर्यावरणीय चेतना तथा पारिवारिक र सामाजिक एकताको भावना अभिवृद्धि गर्ने उल्लेख गर्नुभएको छ।

राष्ट्रपति पौडेलले सूर्य, जल र पृथ्वीप्रति श्रद्धा प्रकट गर्दै छठी माताको पूजा तथा व्रत गरी नदी, खोला, पोखरी र तालतलैयाका किनारमा रातभर जाग्राम बसेर हर्षोल्लासका साथ यो पर्व मनाउने परम्परा रहेको स्मरण गराउनुभएको छ।

विशेषगरी तराई तथा मधेस क्षेत्रमा मनाइँदै आएको छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी र हिमाली जिल्लाहरूमा समेत श्रद्धा र भक्तिपूर्वक मनाउने क्रम बढ्दै जानु खुसीको विषय भएको उहाँको भनाइ छ।

अन्त्यमा राष्ट्रपति पौडेलले नेपाली समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिको अन्त्य गर्दै दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्न छठी माता र सूर्य भगवान्को कृपा रहिरहोस् भनी कामना गर्नुभएको छ।