logo
२०८३ आश्विन १६, शुक्रबार |
☰
📰
🔍
✕

बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्री वाग्लेको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्री वाग्लेको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’

काठमाडौं / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी–रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई पीडाको घडीमा आफूहरू एक्लो नरहेको अनुभूति दिलाउन आग्रह गर्नुभएको छ।

बिहीबार अर्थ मन्त्रालयमा पीडित परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालय र भन्सार प्रशासन परिवारको साथमा रहेको बताउनुभयो। उहाँले अकल्पनीय विपत्तिमा कर्तव्यमा खटिएका दक्ष कर्मचारी गुमाउनुपर्दा आफूहरू पनि अत्यन्त दुःखी भएको बताउनुभयो।

परिवारका सदस्यहरूले आफ्ना समस्या र आवश्यकताबारे मन्त्रालय तथा विभागमा खुलस्त रूपमा जानकारी गराउन आग्रह गर्दै मन्त्री वाग्लेले कानुनी आधारमा सम्भव मागहरू प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले दिवंगत तथा बेपत्ता कर्मचारीका परिवारको शिक्षा, भरणपोषण र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने बताउनुभयो। घटना दर्ता, बालबालिकाका लागि छात्रवृत्तिलगायतका विषयमा पनि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उहाँले जानकारी दिनुभयो।

बेपत्ताको खोजी कार्यमा सुरक्षाकर्मी परिचालन भइरहेको जनाउँदै उहाँले पीडित परिवारलाई सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न मन्त्रालय प्रशासनलाई निर्देशन दिनुभयो।

रसुवा भन्सार कार्यालयमा कार्यरत १५ कर्मचारीका परिवारका सदस्य अर्थमन्त्रीसँग भेट गर्न मन्त्रालय पुगेका थिए। भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी १५ कर्मचारी प्रभावित भएका थिए। तीमध्ये भन्सार अधिकृत नकुल शर्माको शव भेटिएर अन्तिम संस्कार भइसकेको छ भने बाँकी १४ जना अझै बेपत्ता छन्।