प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ आश्विन १७, शनिबार
काठमाडौं / नेपालमा सन् २०२६ मा हालसम्म १३१ जनामा जापानीज इन्सेफलाइटिस (जेई) सङ्क्रमण पुष्टि भएको छ भने २८ जनाको मृत्यु भएको छ।
परिवार कल्याण महाशाखाका अनुसार हालसम्म एक हजार ३७२ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम (एईएस) देखिएकामध्ये १३१ जनामा जेई पुष्टि भएको हो। सङ्क्रमितमध्ये ८७ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ।
हालसम्म ३७ जिल्लाका ९० स्थानीय तहमा जेई सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। अधिकांश सङ्क्रमित धानखेत तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र कृषि पेसामा संलग्न रहेको पाइएको छ।
सरकारले प्रभावित जिल्लाहरूमा जेईविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ। झापाका सबै स्थानीय तह तथा कैलालीका घोडाघोडी, धनगढी र लम्कीचुहा क्षेत्रमा अभियान जारी रहेको छ।