logo
२०८३ आश्विन २३, शुक्रबार |
☰
📰
🔍
✕

बूढानीलकण्ठबाट २१ किलोभन्दा बढी सुन बरामद, तीन चिनियाँ नागरिक पक्राउ

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ आश्विन २३, शुक्रबार
बूढानीलकण्ठबाट २१ किलोभन्दा बढी सुन बरामद, तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं / काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट प्रहरीले २१ किलो ७५० दशमलव ६८ ग्राम सुन बरामद गरेको छ। बरामद सुनको हालको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरी टोलीले बिहीबार मध्याह्न चिनियाँ नागरिकले भाडामा लिएको माथिल्लो भङ्गालस्थित एक घरबाट उक्त सुन बरामद गरेको हो। घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय हान फेइ, झोउ लङछिन्ङ र छु क्यान गरी तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार सुन तस्करीमा संलग्न समूहले उक्त घर गत साउनदेखि मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। समूहले घरधनीलाई चार महिनाको भाडा अग्रिम भुक्तानी गरेकोसमेत प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तस्कर समूहले अर्धठोस अवस्थामा सुन ल्याएर उक्त घरमा प्रशोधन गरी बिस्कुट आकारका ढिका बनाउने गरेको पाइएको छ। घटनास्थलबाट सुन प्रशोधन गर्न प्रयोग गरिने उच्च तापक्रमयुक्त भट्टी, डिजिटल तराजु, विभिन्न मेसिन तथा उपकरण बरामद गरिएको छ।

यसैगरी, सुन तस्करीमा प्रयोग गरिएको बिवाइडी गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रशोधन गरिएको सुन लिएर गाडीमा बाहिर निस्कँदै गर्दा चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। उक्त गाडी तस्कर समूहले भाडामा लिएर प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बरामद सुन, गाडी तथा अन्य सामग्रीसहित पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।