प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ आश्विन २३, शुक्रबार
काठमाडौँ / महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसङ्ख्यक समुदायका माग तथा मुद्दाहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
लैङ्गिक पहिचान, स्वास्थ्य तथा मानवअधिकारलगायत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकारका क्षेत्रमा क्रियाशील संस्था नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) को २५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले समुदायका मुद्दा सम्बोधन गर्न प्रभावकारी काम योजनाबद्ध रूपमा अघि बढाएको जानकारी दिइन्।
मन्त्री बादीले नेपालको संविधानले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान र अधिकारलाई सम्बोधन गर्दै सम्मान गरेको बताइन्।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालले कानुनी रूपमा समुदायले ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले समुदायको हकअधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था निर्माणका लागि व्यवस्थापिका र कार्यपालिकाको ध्यानाकर्षण गराइएको बताए।
त्यस्तै, नेता गणेश साहले पहिलो संविधानसभामा समुदायका अधिकारका विषय संसद्मा उठाएको अनुभव सुनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू अधिकार प्राप्ति र सफलतातर्फ अघि बढिरहेको बताए।