प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन २४, शनिबार
काठमाडौं / नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर, २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले नयाँ इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल डाटा, भ्वाइस र सन्देश प्याकेज ल्याएको हो।
टेलिकमका अनुसार नयाँ फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्कमा छुट पाउनेछन्। असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले यो सुविधा लिन सक्नेछन्।
त्यस्तै, १००, १५० र २०० एमबीपीएस क्षमताका वार्षिक इन्टरनेट प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म सेवा उपयोग गर्न पाउनेछन्। प्याकेजमा बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। भर्चुअल सेटअप बक्ससहितको प्याकेज लिने ग्राहकलाई एक हजार रुपैयाँ छुटसमेत उपलब्ध हुनेछ।
मोबाइल सेवाअन्तर्गत टेलिकमले ४९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज ल्याएको छ। ४९९ रुपैयाँको प्याकेजमा प्रतिदिन पाँच जीबी र ६९९ रुपैयाँको प्याकेजमा प्रतिदिन १० जीबी उच्च गतिको डाटा उपलब्ध हुनेछ। दैनिक डाटा सीमा सकिएपछि क्रमशः दुई र तीन एमबीपीएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था छ।
त्यसैगरी, २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ र ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज उपलब्ध हुनेछ। यी मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ।
मोबाइल प्याकेजका सुविधा असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकले ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत प्याकेज खरिद गर्न सक्नेछन्।
पर्वलक्षित यस योजनाबाट इन्टरनेट तथा मोबाइल सेवा प्रयोग गर्ने ग्राहकलाई सहुलियत पुग्ने अपेक्षा कम्पनीले गरेको छ।