प्रभातफेरी अनलाइन४ पटक पढिएको | २६ मिनेट अघि
चितवन / चितवनमा चालु आर्थिक वर्षमा स्क्रब टाइफसबाट सङ्क्रमित हुनेको सङ्ख्या २३४ पुगेको छ। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमितमध्ये जिल्लाभित्रका १४२ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ९२ जना रहेका छन्। हालसम्म एक हजार ८१६ जनाको नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
स्थानीय तहमध्ये रत्ननगर नगरपालिकामा सबैभन्दा बढी ४६ जना र भरतपुर महानगरपालिकामा ३२ जनामा सङ्क्रमण देखिएको छ। त्यस्तै खैरहनीमा २२, राप्तीमा २०, कालिकामा १७, माडीमा तीन र इच्छाकामना गाउँपालिकामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी रहेको छ। हालसम्म यस रोगका कारण कसैको मृत्यु नभएको कार्यालयले जनाएको छ।
के हो स्क्रब टाइफस र कसरी बच्ने?
स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक जीवाणुबाट सङ्क्रमित सूक्ष्म किर्ना (माइट वा चिगर) को टोकाइबाट मानिसमा सर्ने रोग हो। यो किर्ना प्रायः घाँस तथा झाडीमा पाइन्छ र मुसासँग पनि सम्बन्धित हुन्छ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन।
यसका प्रमुख लक्षणमा उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, अत्यधिक कमजोरी महसुस हुने, वाकवाकी लाग्ने र शरीरमा बिमिरा देखिने रहेका छन्। किर्नाले टोकेको ठाउँमा कालो दाग वा घाउ देखिनु पनि यसको महत्त्वपूर्ण सङ्केत हो। समयमै उपचार नभएमा यसले फोक्सो, कलेजो, मिर्गौला तथा मस्तिष्कमा गम्भीर असर पुर्याउन सक्छ।
स्वास्थ्यकर्मीहरूले घरवरपरका झाडी सफा राख्न, खेतबारी वा घाँसपात गर्दा शरीर ढाक्ने लुगा लगाउन तथा स्क्रब टाइफसका लक्षण देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण र उपचार गराउन आग्रह गरेका छन्।