प्रभातफेरी अनलाइन९ पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
काठमाडौं / काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेका अर्याललाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालतमा पेस गरेको थियो।
सीआईबीका अनुसार ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न उहाँलाई पक्राउ गरिएको हो। नेपाल सरकार र मलेसिया सरकारबीच भएको सम्झौताविपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप अर्यालमाथि छ।
प्रहरीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ।
उक्त रकम पठाउने निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न रही आर्थिक लाभ लिने तथा दिलाउने कार्यमा समेत अर्यालको संलग्नता रहेको प्रहरीको आरोप छ।