logo
२०८३ मंसिर ११, शुक्रबार |
☰
📰
🔍
✕

विनाधितो २० लाखसम्म कर्जा, पाँचखालका कृषकलाई नयाँ अवसर

प्रभातफेरी अनलाइन२३ पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
विनाधितो २० लाखसम्म कर्जा, पाँचखालका कृषकलाई नयाँ अवसर

आइ.आर.के.मैनाली,

पाँचखाल । कृषि व्यवसायमा लगानी विस्तार गर्न पाँचखालका कृषकले तीन करोड रुपैयाँसम्म कृषि कर्जा पाउने भएका छन्। पाँचखाल नगरपालिकाले निक्षेप तथा कर्जा सुरक्षण कोषमा ५० लाख रुपैयाँ योगदान गरेपछि युएनडिपी, नगरपालिका र कोषको त्रिपक्षीय साझेदारीमा कृषि कर्जा सुरक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

कार्यक्रमअन्तर्गत महिलाले विनाधितो २० लाख र पुरुषले १५ लाख रुपैयाँसम्म कर्जा लिन सक्नेछन् भने धितोमा अधिकतम तीन करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ। न्यूनतम दुई लाख ५० हजार रुपैयाँदेखि अधिकतम तीन करोडसम्मको कर्जा सात वर्षसम्मका लागि लिन सकिने व्यवस्था छ।

आलु तथा तरकारी खेती, फलफूल उत्पादन, पशुपालन, दुग्ध व्यवसाय, कुखुरा तथा बाख्रापालन, कृषि यन्त्र खरिद, भण्डारण, प्रशोधन र बजारीकरणलगायत कृषि उद्यममा कर्जाको उपयोग गर्न सकिनेछ। कर्जामा ७० देखि ८० प्रतिशतसम्म सुरक्षण व्यवस्था रहने जनाइएको छ।

कृषकलाई कृषि कर्जामा सहज पहुँच पुर्‍याउने विषयमा शुक्रबार पाँचखाल नगरपालिकाको सभाहलमा नगर उपप्रमुख सूर्यमाया दनुवार, नगर प्रवक्ता सञ्जय तामाङ, वडाध्यक्ष, कार्यपालिका सदस्य, कृषि विकास शाखा प्रमुख हेमन्त पौडेल तथा बैंक प्रतिनिधिबीच छलफल भएको थियो। छलफलपछि उद्यमशील कृषकहरूसँग समेत कृषि कर्जा र व्यवसाय विस्तारका सम्भावनाबारे अन्तरक्रिया गरिएको थियो।

कृषिमा लगानी बढाउँदै उत्पादन, रोजगारी र कृषकको आयस्तर सुधार गर्ने लक्ष्यसहित अघि सारिएको कार्यक्रमले पाँचखालका व्यावसायिक कृषकलाई उद्यम विस्तारमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।