प्रभातफेरी अनलाइन३ पटक पढिएको | २०८३ आश्विन २९, बिहिबार
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ–चोभार खण्डको निर्माण सम्पन्न भई एउटा सर्किट चार्ज भएकोमा खुसी लागेको छ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको रिङ संरचना निर्माण गर्ने उद्देश्यले करिब २७ वर्षअघि सुरु गरिएको यो आयोजना जग्गा विवाद, स्थानीय अवरोधलगायत विभिन्न चुनौतीका कारण लामो समयदेखि पूर्ण हुन सकेको थिएन।
म नेपाल विद्युत् प्राधिकरण (ने.वि.प्रा.) को कार्यकारी निर्देशकका रूपमा जिम्मेवारीमा रहँदा ललितपुर क्षेत्रको बढ्दो विद्युत् माग र आपूर्ति प्रणालीको आवश्यकतालाई सम्बोधन गर्न वैकल्पिक उपायका रूपमा चोभारमा १३२ केभी सबस्टेसन निर्माण गर्ने तथा त्यहाँबाट लगनखेल (पाटन) सम्म भूमिगत १३२ केभी प्रसारण लाइन र सबस्टेसन निर्माण गर्ने योजना अघि बढाइएको थियो। यसका लागि आवश्यक लगानी जुटाई निर्माण प्रक्रिया अगाडि बढाइएको थियो।
यस क्रममा हिमाल सिमेन्टको १२ रोपनी १२ आना जग्गा भाडामा लिने प्रक्रियागत जटिलता, सबस्टेसन निर्माणमा देखिएको स्थानीय अवरोध तथा त्यसको समाधानका लागि कीर्तिपुर नगरपालिकासँग गरिएका पटक–पटकका छलफल र सहमतिहरूको अनुभव अझै स्मरणमा छ। यी प्रयासमा प्राधिकरणका कर्मचारी, स्थानीय जनप्रतिनिधि, सरकारी निकाय र अन्य सरोकारवालाहरूको महत्वपूर्ण भूमिका रहेको थियो।
चोभार सबस्टेसन सञ्चालनमा आएपछि तथा चोभार–लगनखेल भूमिगत प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न भएपछि ललितपुर क्षेत्रको विद्युत् आपूर्ति थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्नेछ। यसले काठमाडौं उपत्यकाको समग्र प्रसारण प्रणालीलाई थप भरपर्दो बनाउन पनि सहयोग गर्नेछ।
काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग सन् २०३० सम्म ९२५ मेगावाट, सन् २०४० सम्म १,८२५ मेगावाट र सन् २०५० सम्म ३,१६९ मेगावाट पुग्ने प्रक्षेपण छ। बढ्दो मागलाई विश्वसनीय रूपमा सम्बोधन गर्न प्रसारण तथा वितरण पूर्वाधारको विकास योजनाबद्ध रूपमा अघि बढाउनु अपरिहार्य छ।
तर, यस योजनाअन्तर्गत अघि बढाउनुपर्ने कतिपय काम अहिले ठप्पप्रायः रहेको देखिनु चिन्ताको विषय हो। विद्युत्को माग निरन्तर बढिरहेको अवस्थामा पूर्वयोजनाअनुसारका प्रसारण लाइन, सबस्टेसन तथा अन्य आवश्यक पूर्वाधार निर्माणलाई अनावश्यक ढिलाइ नगरी पुनः गति दिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।
विद्युत् पूर्वाधारको विकास कुनै एक व्यक्ति वा संस्थाको मात्र प्रयासबाट सम्भव हुँदैन। स्पष्ट योजना, संस्थागत प्रतिबद्धता, प्राविधिक दक्षता, प्रभावकारी कार्यान्वयन र सबै सरोकारवालाबीचको सहकार्यबाट मात्रै यस्ता महत्वपूर्ण आयोजना सम्पन्न गर्न सकिन्छ।
अहिलेसम्म भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी काम समयमै सम्पन्न गरौँ। आजको आवश्यकता केवल विद्युत् मागको प्रक्षेपण गर्नु होइन, त्यसलाई सम्बोधन गर्ने पूर्वाधार निर्माणलाई योजनाअनुसार अघि बढाउनु पनि हो।