logo
२०८३ कार्तिक १२, बुधबार |
☰
📰
🔍
✕

ब्लड बैंकमा रगतको मौज्दात सकियो, रक्तदान गर्न रेडक्रसको आग्रह

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | २०८३ कार्तिक १२, बुधबार
ब्लड बैंकमा रगतको मौज्दात सकियो, रक्तदान गर्न रेडक्रसको आग्रह

कठमाडौँ / ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले आम नागरिकलाई रक्तदान गर्न विशेष आग्रह गरेको छ।

बडादसैँको बिदाका कारण रक्तदान कार्यक्रमहरू कम हुनु र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै जानुले रगत व्यवस्थापनमा समस्या भएको रेडक्रसले जनाएको छ।

केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार हाल सबै रक्तसमूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (PRBC) र प्लेटलेट्स (PRP) को मौज्दात सकिएको छ। यसले बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन कठिनाइ भइरहेको छ।

नेपाल रेडक्रस सोसाइटीले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पुगेका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेको छ। रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारीले पनि स्वयंसेवी रक्तदाता तथा विभिन्न संघसंस्थालाई रक्तदान अभियानमा सहभागी हुन आह्वान गरेका छन्।

नेपाल रेडक्रसले ७३ जिल्लाका १२० स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गर्दै आएको छ। रगतको आवश्यकता परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन ०१-५३८८४८५, ०१-५३८८४८६ वा निःशुल्क हटलाइन ११३० मा सम्पर्क गर्न सकिने जनाइएको छ। साथै, मोबाइलको Play Store बाट NRCS BTS एप डाउनलोड गरी पनि जानकारी लिन सकिनेछ।