प्रभातफेरी अनलाइन४ पटक पढिएको | २०८३ कार्तिक १३, शुक्रबार
विराटनगर / रोजगारी, घुमफिर तथा विभिन्न प्रलोभनमा पारेर नेपालबाट भारतमा महिला तथा बालबालिकाको बेचबिखन र तस्करी हुने क्रम रोकिएको छैन । यसैबीच भारतका विभिन्न स्थानबाट बेचबिखन तथा तस्करीमा परेका सात जनाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको छ ।

किन इन्डियाको पहल तथा विभिन्न निकायको समन्वयमा तीन बालिका, २ बालक र एक महिलाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये २ बालिकालाई सर्लाही, १ बालक र १ महिलालाई धनुषाका जिल्ला प्रहरी कार्यालयमार्फत तथा २ बालबालिकालाई विराटनगरस्थित कोशी प्रदेश बालबालिका खोजतलास समन्वय केन्द्र (१०४ं) मार्फत परिवारको जिम्मा लगाइएको छ ।
यसैक्रममा दुई महिनाअघि विराटनगरबाट हराएका एक बालक र एक बालिकालाई भारतको मुम्बईबाट उद्धार गरी परिवारसँग पुनर्मिलन गराइएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए ।
बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र, कोशी प्रदेश (१०४) को पहलमा गत कात्तिक ९ गते उनीहरूको पुनर्मिलन गरिएको हो। मुम्बई पुर्याइएका दुवै बालबालिकालाई किन इन्डिया र शुभअवसर ग्रामको समन्वयमा उद्धार गरी नेपाल ल्याइएको थियो ।
सम्बन्धित निकाय तथा संस्थाहरूको सहकार्यमा नेपाल ल्याइएका उनीहरूलाई परिवारको जिम्मा लगाइएको हो । लामो समयदेखि सन्तानको खोजीमा रहेका परिवारका सदस्यले बालबालिका सुरक्षित रूपमा घर फर्किएपछि राहत महसुस गरेका छन् ।
किन इन्डियाका ग्लोबल संयोजक इन्द्रराज भट्टराईका अनुसार विभिन्न बहानामा महिला तथा बालबालिकालाई भारत पु¥याएर बेचबिखन तथा तस्करी गर्ने घटना अझै चुनौतीका रूपमा रहेको छ । यस्ता घटनामा परेकाहरूको उद्धार र पारिवारिक पुनर्मिलनका लागि विभिन्न निकाय तथा संस्थाबीच समन्वय आवश्यक रहेको उनको भनाइ छ ।
बालबालिका हराएमा परिवारले ढिलाइ नगरी सम्बन्धित निकायमा खबर गर्नुपर्ने हुन्छ । हराएका बालबालिकाको खोजतलास, सुरक्षा, संरक्षण तथा पारिवारिक पुनर्मिलनका लागि बाल हेल्पलाइन १०९८ र बालबालिका खोजतलास सेवा १०४ मा सम्पर्क गर्न सकिन्छ ।
समयमै गरिएको एउटा खबरले हराएको सन्तान घर फर्किन सक्छ। बालबालिका हराएको अवस्थामा आफैँ खोज्दै समय बिताउनुभन्दा तत्काल प्रहरी तथा सम्बन्धित निकायलाई जानकारी गराउनु आवश्यक छ ।
सन् २०१८ देखि मानव बेचबिखन र हालसम्म किन इन्डियाको पहलमा करीब १५०० नेपाली महिला तथा बालबालिकाको उद्धार गरिएको किन इन्डियाका ग्लोबल संयोजक भट्टराईले जानकारी दिए ।