प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ कार्तिक १४, शनिबार
काठमाडौं / अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्ग, बीपी राजमार्गसहित देशभरका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ।
त्यस्तै, काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेँसीमा खहरे खोलाबाट ढुङ्गा, माटोसहितको लेदो आएपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा सुक्खा पहिरो खस्दा आवागमन ठप्प भएको छ। मध्यपहाडी राजमार्गको खोटाङ खण्ड, ललितपुरको बागमती खोला करिडोर तथा कान्ति लोकपथका विभिन्न स्थानमा समेत सडक अवरुद्ध भएका छन्।
यसैगरी, ललितपुरको बल्खुस्थित सुन्दरीघाट करिडोरमा पानीको बहाव बढ्दा आवागमन रोकिएको छ। कालीगण्डकी करिडोरअन्तर्गत गुल्मीको राक्से र पाल्पाको रामपुर नगरपालिका–१ कासिबनमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका–७ ताल्चास्थित नाग्म–गमगढी सडकखण्डमा समेत यातायात अवरुद्ध भएको छ।
लगातारको वर्षाका कारण विभिन्न सडकखण्डमा पहिरो तथा लेदो खस्ने क्रम जारी रहेकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ।