प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ कार्तिक १४, शनिबार
काठमाडौँ / नेपालको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड रुपैयाँ नयाँ ऋण लिएसँगै असोज मसान्तसम्म सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.५९ प्रतिशत पुगेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार कुल ऋणमध्ये १५ खर्ब ९८ अर्ब रुपैयाँ बाह्य र १४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको छ।
यस अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा मात्रै ९८ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ। जसमध्ये ७७ अर्ब ७४ करोड रुपैयाँ साँवा र २१ अर्ब १२ करोड रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
चालु आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
सार्वजनिक ऋणको बढ्दो आकार र साँवा–ब्याज भुक्तानीमा भइरहेको ठूलो खर्चले सरकारी वित्त व्यवस्थापनमा चुनौती थपिएको छ।