logo
२०८३ कार्तिक २४, मंगलबार |
☰
📰
🔍
✕

तिहारमा २४सै घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयद्वारा देशभरका प्रशासनलाई निर्देशन जारी

प्रभातफेरी अनलाइन३ पटक पढिएको | २०८३ कार्तिक २४, मंगलबार
तिहारमा २४सै घण्टा देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयद्वारा देशभरका प्रशासनलाई निर्देशन जारी

काठमाडौं / सरकारले नेपालीहरूको मौलिक सांस्कृतिक तथा परम्परागत पर्व तिहारमा देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिने भएको छ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण हुने गरी देउसी–भैलो कार्यक्रम सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको हो । मन्त्रालयले कात्तिक २३ गतेको सचिवस्तरीय निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयहरूलाई विभिन्न सातबुँदे निर्देशन पठाएको छ ।

निर्देशनमा देउसी–भैलो कार्यक्रम सञ्चालन गर्दा मन्त्रालयले यसअघि जारी गरेको कात्तिक २४ गतेको सूचनाको पूर्ण पालना गर्न भनिएको छ। साथै नेपाली मौलिक कला र संस्कृतिलाई प्रोत्साहन गर्दै अनुशासित तथा मर्यादित रूपमा चौबीसै घण्टा देउसी–भैलो खेल्ने वातावरण बनाउन आग्रह गरिएको छ।

देउसी–भैलो कार्यक्रम स्वेच्छिक हुनुपर्ने उल्लेख गर्दै कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने मन्त्रालयले स्पष्ट पारेको छ। त्यस्तै, जातजाति, धर्म, भाषा, लिङ्ग तथा समुदायबीच घृणा र द्वेष फैलाउने खालका अश्लील गीत, सङ्गीत, नृत्य तथा नाराको प्रयोगमा रोक लगाउन निर्देशन दिइएको छ। चाडपर्वका नाममा जुवातास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक वा लागू पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्न पनि मन्त्रालयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी अत्यधिक ठूलो आवाजमा साउण्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमलगायत संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन भनिएको छ। सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र फोहोरमैला व्यवस्थापनमा समेत ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि, दुर्घटना वा समस्या देखिएमा तत्काल प्रहरी नियन्त्रण कक्षको नम्बर १०० वा आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) को नम्बर १२३४ मा सम्पर्क गर्न सर्वसाधारणलाई जानकारी गराउनसमेत जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरिएको छ ।

सरकारको यो निर्देशनले तिहारको सांस्कृतिक मौलिकता जोगाउँदै नागरिकको स्वतन्त्रता, सामाजिक सद्भाव र सार्वजनिक सुरक्षालाई सँगसँगै अघि बढाउने अपेक्षा गरिएको छ ।