प्रभातफेरी अनलाइन४ पटक पढिएको | २०८३ कार्तिक २४, मंगलबार
काभ्रे / काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुर श्रीरामपाटीस्थित सार्वजनिक प्रतीक्षालयमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
आइतबार राति जुवातास खेलिरहेको अवस्थामा स्थानीय ४७ वर्षीय सुवास दनुवारसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले उनीहरूलाई नगद ६१ हजार ५ सय ९० रुपैयाँ, १६ थान कौडा र एक बुक ताससहित नियन्त्रणमा लिएको जनाएको छ ।
यसैबीच, देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले एकैपटक १०७ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगरका चार छुट्टाछुट्टै स्थानबाट ४१ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट कुल १० लाख ८८ हजार ५२० रुपैयाँ बरामद गरिएको छ।
त्यस्तै, ललितपुरको गोदावरी नगरपालिकाका दुई स्थानबाट ११ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट १ लाख ९९ हजार २० रुपैयाँ र पाँच बुक तास बरामद भएको छ । धनुषाको जनकपुरधामस्थित रजौलको एक टेन्ट हाउसबाट १८ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख ६१ हजार ६४४ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी सर्लाहीको मलंगवा नगरपालिका–८ बाट नौ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ६ लाख ७८ हजार ५६० रुपैयाँ र चार बुक तास बरामद भएको छ। सर्लाहीकै ब्रह्मपुरी गाउँपालिका–१ बाट थप १७ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ३ लाख २० हजार १७५ रुपैयाँ र चार बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।
यसरी काभ्रेसहित देशका विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका १०७ जनाको साथबाट प्रहरीले कुल २४ लाख ४८ हजार ४८९ रुपैयाँ नगद, तासका बुक तथा कौडा बरामद गरेको छ। पक्राउ परेका सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।