प्रभातफेरी अनलाइन१४ पटक पढिएको | कार्तिक २९, २०८३ | आईतबार
काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार चौधरीको बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको अवस्थामा आज बिहान ६ बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार राजपुर गाउँपालिका–२ खालगैरास्थित मटेरियाका चौधरीमाथि सोही ठाउँका ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाएका थिए । घटनापछि कार्की फरार भएका थिए ।
प्रारम्भिक प्रहरी अनुसन्धानअनुसार दुवै जना साथी रहेको र शनिबार सँगै बसेर मदिरा सेवन गरेको खुलेको छ । मदिरा सेवनपछि उनीहरूबीच भनाभन भएको थियो । सोही क्रममा कार्कीले आफ्नो मोटरसाइकलमा प्रयोग गर्न बोतलमा ल्याएको पेट्रोल चौधरीमाथि खन्याएर आगो लगाएको प्रहरीको भनाइ छ ।
घटनापछि फरार भएका कार्कीलाई प्रहरीले हिजो दाङको लमही नगरपालिका–५ रातोडाँडाबाट नियन्त्रणमा लिएको थियो ।
हाल पक्राउ परेका कार्कीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।