प्रभातफेरी अनलाइन८ पटक पढिएको | मंसिर १, २०८३ | मंगलबार
काभ्रे / काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टमा प्रहरीले छापा मारेर ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त टोलीले चिनियाँ नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको गुनासोपछि रिसोर्टमा छापा मारेको हो। सो क्रममा केही थान ल्यापटप र मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार नियन्त्रणमा लिइएकामध्ये ३१ जना पुरुष र ५ जना महिला रहेका छन्।
छापा मार्ने क्रममा दुईवटा कोठा शंकास्पद देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीसमेत बोलाइएको उहाँले बताउनुभयो।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पाँचखालबाहेक धुलिखेलको देवीथानस्थित गन्तव्य रिसोर्ट, पनौतीको थुम्की रिसोर्ट र बल्थली माउन्टेन रिसोर्टमा पनि चिनियाँ नागरिकहरू मासिक रूपमा ठूलो रकम भाडा तिरेर बस्दै आएको पाइएको छ।