प्रभातफेरी अनलाइन१३ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
पोखरा / पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा ग्याङफाइट तथा कुटपिटमा संलग्न पाँच जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
मंसिर २ गते राति करिब १२:३० बजे लेकसाइडको स्ट्रिट नम्बर १६ मा झैझगडा तथा कुटपिट भइरहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार प्रहरी टोलीले सम्झाइबुझाइ गर्ने क्रममा उल्टै प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा पोखरा–१४ चाउथेका ३० वर्षीय नीरज शर्मा, २८ वर्षीय विराज अधिकारी, २५ वर्षीय टुकबहादुर गुरुङ, २२ वर्षीय मनोज पुन र स्याङ्जाको हरिनास गाउँपालिका–४ का २३ वर्षीय सन्दीप थापा रहेका छन् ।
उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।