logo
२०८३ मंसिर ३, बिहिबार |
☰
📰
🔍
✕

ऊर्जा क्षेत्रमा विश्व बैंकसँग सहकार्य प्रभावकारी बनाउन मन्त्री श्रेष्ठको जोड

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | मंसिर ३, २०८३ | बिहिबार
ऊर्जा क्षेत्रमा विश्व बैंकसँग सहकार्य प्रभावकारी बनाउन मन्त्री श्रेष्ठको जोड

काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रमा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभएको हो ।

भेटमा उहाँले जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीलाई सम्भावित विपद्बाट सुरक्षित राख्न जोखिममा आधारित पूर्वाधार योजना, प्रभावकारी पूर्वतयारी र संस्थागत समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यस्तै, बढ्दो विद्युत् माग र औद्योगिक आवश्यकतालाई सम्बोधन गर्न दीर्घकालीन विद्युत् उत्पादन योजना, प्रसारण तथा वितरण पूर्वाधारमा लगानी विस्तार र विद्युत् निकासी क्षमता वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री श्रेष्ठले ऊर्जा सुरक्षाका लागि जलविद्युत्सँगै सौर्यलगायत अन्य नवीकरणीय ऊर्जा स्रोतको सन्तुलित विकास, ऊर्जा भण्डारण र भरपर्दो विद्युत् आपूर्तिमा ध्यान दिनुपर्ने बताउनुभयो ।

भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको सहकार्यलाई समयसीमा तथा मापनयोग्य उपलब्धिमा आधारित कार्ययोजनामार्फत अघि बढाउने विषयमा समेत छलफल भएको छ । विपद् उत्थानशील ऊर्जा पूर्वाधार, जलविद्युत् क्षेत्रको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको विस्तारलाई आगामी सहकार्यका प्राथमिकताका रूपमा अघि बढाउने समझदारी भएको छ ।