logo
२०८३ मंसिर ७, सोमबार |
☰
📰
🔍
✕

भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन शाह आज साँझ स्वदेश फर्कंदै

प्रभातफेरी अनलाइन११ पटक पढिएको | मंसिर ७, २०८३ | सोमबार
भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन शाह आज साँझ स्वदेश फर्कंदै

काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कनुहुने भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री मोदीसँग स्थानीय समयअनुसार बिहान ११ बजे द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो। भेटवार्ताका क्रममा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

उच्चस्तरीय द्विपक्षीय वार्तापछि नेपाल र भारतबीच विभिन्न सहयोग तथा विकास परियोजनासम्बन्धी सम्झौता र शिलान्याससमेत भएका थिए।

आजै दुवै देशका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो।

त्यसअघि प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। उहाँले आजै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

यसैगरी, आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।

नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री शाह आज साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ।