कार्वाही गर्न ३ दिनको अल्टिमेटम
आक्रमणको सर्वत्र निन्दा
घाइते पत्रकारलाई युनियनको सहयोग
बनेपा ÷ एकिकृत नेकपा माओवादीको पुर्वयोजना अनुसार नै काभ्रेमा पत्रकार माथि आक्रमण भएको छ । पार्टीको दोस्रो जिल्ला सम्मेलनको रिपोर्टिङको लागि गएका जिल्लाका कृयाशिल पत्रकारलाई एमाओवादी भातृ संगठन वाइसियलले निर्घात कुटपिट गरेको हो । केही पत्रकारहरुलाई अझै एनेकपा माओवादी र उसका कार्यकर्ताले ज्यान मार्ने सम्मका धम्की दिइरहेका छन् । एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री एवं उपाध्यक्ष डा. बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी कार्यक्रममा नै पत्रकार कुटिएपछि पत्रकारहरुले कार्यक्रम बहिष्कार गरेका थिए । समाचार संकलन गर्न गएका पत्रकारलाई ज्यान मार्ने धम्की सहित खोजी खोजी आक्रमण भएपछि पत्रकार महासंघ काभ्रे शाखाले घटनाको भत्र्सना गर्दै समाचार बहिष्कार गर्ने निर्णय गरेको हो । महासंघले दोषीलाई कार्वाही नभएसम्म र पार्टीले सार्वजनिक रुपमा माफि नमागेसम्म एमाओवादीको कार्यक्रम बहिष्कार गर्ने निर्णय समेत गरेको अध्यक्ष महेश पौडेलले जानकारी दिए ।
जिल्ला सम्मेलनको समाचार संकलनका लागि कार्यक्रम स्थल पुगेका कान्तिपुर सम्वाददाता मनोज बस्नेत लाई वाइसियल कार्यकर्ताले ज्यान मार्ने धम्की दिएका थिए । समाचार संकलनकै लागि गएका ग्रेस एफएमका कृष्ण न्यौपाने, नेपाल समाचारपत्रका रामकृष्ण चापागाई, अभियान दैनिकका काभ्रे सम्वाददाता तथा काभ्रे हटलाइनका कार्यकारी सम्पादक कृष्णचन्द्र बञ्जारा र रेडियो नमोबुद्धका प्रकाश सुन्दासलाई कुटपिट गरेका थिए । एमाओवादीका कार्यकर्ताले उनीहरुलाई मुक्का प्रहार गरी कपडा च्यातिदिएका थिए । पत्रकार बञ्जारा र सुन्दास कार्यक्रम स्थलमा कुँटिदा जिल्ला प्रहरी प्रमुख एसपी गिता उप्रेती नजिकै फोनमा कुरा गर्दै थिइन् । कार्यक्रम स्थलमा रहेका प्रहरी रमिते बनेका थिए । माओवादी कार्यकर्ताले न्यौपानेको कपडा र कार्ड च्यात्दै अण्डकोषमा समेत प्रहार गरेका थिए । गम्भीर घाइते उनी धुलिखेल अस्पतालमा उपचाररत छन् । राजधानी दैनिकमा कार्यरत पत्रकार केशवराज पौडेल र माउण्टेन टिभी, उज्यालो एफएममा कार्यरत हाम्रो इन्दावती साप्ताहिकका कार्यकारी सम्पादक कपिल कोइरालालाई माओवादी कार्यकर्ताले खिचेको फोटो डिलेट गर्न धम्की दिएका थिए । फोटो डिलिट नगरे ज्यान लिने धम्की समेत उनीहरुले दिएका थिए ।
शाखाका पुर्वअध्यक्ष एवं नेपाल टेलिभिजनका भोला थापा, काभ्रे टाइम्सका सम्पादक आर एल श्रमजीवी र शाखा सचिव एवं सौर्य दैनिकका मोतिराम तिमल्सिनालाई पनि एमाओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । तिमिल्सना इलाका प्रहरी कार्यलय बनेपा भित्र आश्रय लिएर जोगिएको बताए । माओवादी कार्यकर्ताले इलाका प्रहरी कार्यलयमा समेत आक्रमण गरेका छन् । चौकीको झ्यालको शिसा फुटेको छ । एमाओवादी कार्यक्रमको सुरक्षामा खटिएको प्रहरी आफ्नै कार्यलय आक्रमण हुँदा पनि मुकदर्शक बने । उनीहरु विपक्षीलाई धरपकड गर्नमा नै तल्लिन थिए । उनीहरुले रड, भाटा प्रयोग गरेका थिए । वाइसिएल कार्यकर्ताले तिमल्सिनालाई ज्यान मार्ने धम्की छन् ।
दोहोरो झडपमा दर्जनौँ घाइते
प्रधानमन्त्रीलाई बहिष्कार गर्दै आएका विपक्षी दलहरुले काभ्रेमा पनि विरोध प्रदर्शन गर्दा दोहोरो झडप भएको थियो । उनीहरुले प्रधानमन्त्री भट्टराईलाई यसअघि नै काभ्रेमा निषेध गर्ने निर्णय गरेका थिए । विपक्षीले कालो झण्डा देखाउँदा वाईसीएल र कांग्रेस र एमालेका कार्यकर्तावीचत दोहोरो झडप भएको थियो । वाईसीएलले हानेका ढुंगा लागेर कांग्रेसका महाधिवेशन प्रतिनिधी कुन्साङ लामा, जिल्ला सदस्य मधुकर खनाल, नेकपा एमालेका सचिवालय सदस्य इन्द्र तामाङ, नेपाल शिक्षक संघ काभ्रेका अध्यक्ष आश्विनी चौलागाई, केन्द्रिय प्रतिनिधी किशोर अधिकारी, नेविसंघका जिल्ला सदस्य रुपक महत लगायत २ दर्जन विपक्षी दलका कार्यकर्ताहरु घाइते भएका थिए । एनेकपा माओवादीका नारायण फुँयाल पनि दोहोरो झडपमा घाइते भएका थिए । कुन्साङ लामाको ३ वटा दाँत झरेको छ । दोहोरो हानाहानमा केही घरका सिसा फुटेका थिए ।
वाईसियल र प्रहरीको कडा सुरक्षासहित प्रधानमन्त्री भट्टराई सहित नेताहरु कार्यक्रम स्थल पुगेका थिए । प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन बसेका बिपक्षी दलका र्कायर्कतालाई एमाओवादीको भातृ संगठन वाईसीएलले ढुंगा प्रहार गरेपछि केहीबेर दुवै पक्षबीच झडप भएको थियो वाइसियल कार्यकर्ताले आक्रमण थालेपछि प्रहरी निरिक्षक चन्द्र केसी नेतृत्वको जिल्ला प्रहरी कार्यलय काभ्रेको टोली र शसस्त्र प्रहरीको टोली छेउ लागेको थियो । प्रतिकारको लागि नै भनेर एमाओवादीले छिमेकी जिल्ला र काठमाण्डौँबाट समेत ५ सय वाइसियल काभ्रे उतारेको थियो ।
विपक्षी दलको कार्यकर्तालाई मात्रै प्रहरीले धरपकड गरेको थियो । झडप पछि सडकमा नै कोणसभा गरेर कांग्रेस एमालेले एमाओवादी रवैयाको विरोध गरेको छ । नेपाली कांग्रेस काभ्रेले प्रेस विज्ञप्ती जारी गरी लोकतन्त्रमा विपक्षीले विरोध गर्न पाउनु सामान्य सिद्धान्त रहेपनि एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए । उसले प्रहरीकै सहयोगमा आन्दोलनकारी माथि दमन भएकोमा खेद प्रकट गरेको छ । विपक्षी दलहरुले काभ्रेमा मंगलवार भएको घटनाको विरोध स्वरुप माघ २१ (आज) मा काभ्रे जिल्ला बन्दको घोषणा गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमाले काभ्रेले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी दिएका हुन् । आफ्नो शान्तीपुर्ण विरोध प्रदर्शनमा एमाओवादीले आक्रमण गरेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको कांग्रेस जिल्ला सभापति शिवप्रसाद हुँमागाईले जानकारी दिए । विपक्षी दलहरुले जिल्लामा एमाओवादीलाई बहिष्कार गर्ने निर्णय समेत गरेका छन् ।
प्रशासनलाई पत्रकारको तीन दिने अल्टिमेटम
प्रहरी र प्रशासनकै अगाडी पत्रकार कुटिँदा पनि प्रशासनले छानविनमा कुनै चासो नदिएको र दोषीलाई कार्वाही नभएको भन्दै नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जिल्ला प्रशासन कार्यलय काभ्रेलाई ३ दिने अल्टिमेटम दिएको छ । घटना भए लगतै माघ १७ गते पत्रकार महासघं नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाललाई ध्यानाकर्षण गराएपनि दोषी पहिचान समेत नभएको भन्दै काभ्रे शाखाले प्रशासनलाई ३ दिन भित्र दोषी पहिचान गरी कार्वाही गर्न प्रशासनलाई अल्टिमेटम दिएको हो । शाखा अध्यक्ष महेश पौडेल नेतृत्वमा गएको जिल्लामा कृयाशिल पत्रकारहरुको टोलीले आधिकारी निम्तो दिएर पत्रकार कुट्ने माओवादी कार्यकर्तालाई ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाउन माग गरेको छ । शाखा अध्यक्ष पौडेलले ३ दिनसम्म पनि कुनै प्रकृया अघि नवढेकाले ३ दिनभित्र पनि कुनै प्रगति नदेखिए महासंघले देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिए । “पत्रकारहरु प्रहरी र प्रशासनकै अगाडी कुटिएका छन्, प्रशासनकै अगाडी कुटिँदा पनि कुनै छानविन भएको छैन, अध्यक्ष पौडेलले भने, “अझै पनि कानुनी प्रकृयामा विश्वास भएकाले प्रशासन सम्म आएका छौँ । ”
सहभागी पत्रकारहरुले प्रहरीले अनुसन्धान अघि नवढाएकोमा आश्चर्य व्यक्त गरे । प्रहरीहरुले प्रशासनलाई असहयोग गरेको आशंका समेत पत्रकारहरुको छ । उनीहरुले पत्रकारहरुलाई निरन्तर धम्की आएकोले शान्ती सुरक्षा कायम गरी सुरक्षाको प्रत्याभुति दिलाउन प्रजिअ ढकालसँग आग्रह गरे । उनीहरुले प्रशासनको तर्फबाट छानविन समिति बनाउन समेत माग गरेका छन् ।
प्रजिअ ढकालले प्रहरीलाई सकृय बनाएर घटनाको सत्यतथ्य वाहिर ल्याउने र दोषीलाई अविलम्व कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले घाइते पत्रकारको उपचार खर्च विल भर्पाई आएपछि प्रकृया अघि बढाउने पनि बताए । पत्रकारहरु असुरक्षित हुनु गम्भीर विषय भएको भन्दै उनले जिल्लामा कृयाशिल सबै पत्रकारको सुरक्षाको जिम्मा प्रशासनले लिने समेत बताए ।
माघ १६ गते एकिकृत नेकपा माओवादीको भातृ संगठन वाइसिएलका कार्यकर्ताले पत्रकारलाई छानी छानी कुटेर केहीलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । उनीहरुले केही सञ्चारमाध्यममा समेत तोडफोड गर्ने धम्की समेत दिएका छन् । धम्कीकै कारण जिल्लाका पत्रकार त्रासका विच काम गर्न बाध्य छन् । विभिन्न पेशागत संगठनले समेत पत्रकार माथि भएको ज्यादतीको विरोध गरेका छन् । काभ्रेपलाञ्चोक बार इकाइ, इन्सेक, गैसस महासंघ काभ्रे, हुरेक, नेपाल शिक्षक युनियन, शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतका संस्थाले पनि विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेका हुन् ।
पत्रकार महासंघ काभ्रेले भने घटनाको छानविन गर्न पूर्वअध्यक्ष भोजराज तिमल्सिनाको संयोजकत्वमा ३ सदस्य समिति गठन गरेको छ । समितिमा सल्लाहकारहरु ईश्वरी ओझा र भीम गौतम सदस्य छन् । समितिले एक हप्ता भित्रमा घटनाको विस्तृत जानकारी सहितको प्रतिवेदन बुझाउनेछ ।
पत्रकार महासंघको टोली काभ्रेमा
जिल्लामा कार्यरत पत्रकारलाई ज्यान मार्ने धम्की आइरहेको अवश्थामा जिल्ला स्थित पत्रकारहरुको अवश्था बुझ्न नेपाल पत्रकार महासंघको टोली काभ्रे आयो । अध्यक्ष शिव गाउँले नेतृत्वको टोलीले जिल्लाका कृयाशिल पत्रकारहरुसँग भेटेर उनीहरुको अवश्था बुझेको थियो ।
केन्द्रिय सदस्य दिलिप थापा मगर, बालकृष्ण बस्नेत सहभागी महासंघ टोलीले जिल्ला स्थित पत्रकारहरुसँग अन्तरक्रिया समेत गर्यो । पत्रकारहरुले एनेकपा माओवादीका कार्यकर्ताले अझै पत्रकारहरुलाई ज्यान मार्ने धम्की दिइरहेको जानकारी गराउँदै त्रासकै अवश्थामा पत्रकारहरुले काम गर्नुपरेको बताए । माओवादीका कार्यकर्ताले पुर्व योजना अनुसार नै पत्रकार छानी छानी कुटेको जानकारी गराउँदै पत्रकारले अझै एमाओवादीको निशानामा आफुहरु रहेको बताए । “माओवादीकै कार्यकर्ताले तपाई निशाना हुनुहुन्छ भनेर कार्यक्रम अगावै भनेका थिए, विश्वास थिएन तर घटनाले त्यो देखायो । ” कान्तिपुर काभ्रे सम्वाददाता मनोज बस्नेतले भने । सौर्य दैनिकमा कार्यरत महासंघका शाखा सचिव मोतिराम तिमल्सिनाले अझै आफुलाई ज्यान मार्ने धम्की आइरहेको बताए । “एमाओवादीको जिम्मेवार नेतृत्वले हाम्रो विरुद्धमा किन समाचार लेखिस्, स्रोत नदेखाए ठिक पार्छौ भनेका छन् । ” तिमल्सिनाले भने ।
महासंघ अध्यक्ष शिव गाउँलेले पत्रकार कुटेर लोकतन्त्र संस्थागत नहुने भन्दै सत्तापक्षबाटै पत्रकार कुटिने स्थिती भए यो मुद्धा अन्तराष्ट्रिय अदालतमा उठाउने बताए । “जिम्मेवार राजनैतिक दल, त्यसमा पनि सत्ता पक्ष जसवाट पत्रकार सुरक्षित महशुस हुनुपर्ने हो, उनै बाट प्रेस जगत असुरक्षित हुन्छ भने हामी अन्तराष्ट्रिय समुदाय गुहार्न बाध्य हुन्छौ । ” अध्यक्ष गाउँलेले भने । उनले पत्रकारीता जगत माथि भएको ज्यादतीको एमाओवादीले सार्वजनिक माफि माग्नुपर्ने र घाइते पत्रकारको उपचार र लुटिएको संचार सामाग्रीको राज्यले क्षतिपुर्ति दिनुपर्ने माग गरे । संक्रमणकालको नाम दिएर देशमा वेथिती ल्याउने षड्यन्त्र भएको भन्दै उनले विचार र अभिव्यक्ति स्वतन्तत्रा संकटमा पर्दै गएको बताए ।
टोलीले वाइसिएलको कुटपिटबाट गम्भीर घाइते भएर धुलिखेल अस्पतालमा उपचाररत ग्रेस एफएमका कृष्ण न्यौपानेलाई भेटेर उनको अवश्थाबारे जानकारी लिएको थियो । अध्यक्ष गाउँलेले उनको उपचारमा हुने सम्पुर्ण खर्च सरकारले बेहोर्नुपर्ने माग गर्दै यसको लागि महासंघले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । टोलीले स्थानीय ग्रेस एफएम, रेडियो नमोवुद्ध गएर त्यहाँ कार्यरत पत्रकारको अवश्थाबारे पनि जानकारी लिएको थियो ।
घाइते पत्रकारलाई सहयोग
नेपाल प्रेस युनियनको पहलमा वाइसियएलको कुटाइबाट घाइते भई उपचार गराइरहेका पत्रकार कृष्ण न्यौपानेलाई सहयोग उपलव्ध गराइएको छ । गैर आवासीय नेपाली सघ (एनआरएन) मकाउका अध्यक्ष सुदर्शन थापामगरले युनियन मार्फत उपचारको लागि १० हजार एक रुपैया सहयोग गरेका हुन् । फ्रिडम फोरमले पनि उनको उपचारको लागि ५ हजार १ रुपैँया सहयोग गरेको छ । न्यौपानेका दाजु अर्जुनलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
तारानाथ दाहाल, धर्मेन्द्र झा, हेमन्त काफ्ले, इश्वरी ओझा सहितको टोलीले उनलाई भेटेर सहयोग हस्तान्तरण गरेको हो ।
महासंघका पुर्व अध्यक्ष एवं फ्रिडम फोरमका अध्यक्ष दाहालले कुनै पनि राजनीतिक आक्रमणमको विरुद्धमा लाग्ने बताउँदै निर्भिकताका साथ आफ्नो कार्यमा लाग्न काभ्रेका सञ्चारकर्मीलाई आग्रह गरे । महासंघका पुर्वअध्यक्ष झाले कार्यक्रमा पत्रकारलाई निम्तो गरेर कुट्नु अत्यन्तै निन्दनीय कार्य भएको भन्दै आक्रोश पोखे । युनियका उपाध्यक्ष काफ्लेले पत्रकार कुट्ने व्यक्तिहरुको पहिचान भईसक्दा पनि यथाशिघ्र प्रशासन र सरकारले कारवाहीको प्रक्रिया सुरु नगरे युनियनले सडक आन्दोलन गर्ने चेतावनी दिए । कांग्रेस केन्द्रिय सदस्य गोपाल पहाडीले पनि अस्पताल गएर उनको स्वास्थ्य स्थिती बुझेका थिए । उनले पार्टीले यस अघि नै विज्ञप्ती मार्फत विरोध जनाएको बताउँदै पार्टीले गर्नुपर्ने सहयोगको लागि सदा तत्पर रहेको बताए । पार्टी प्रतिनिधीको रुपमा केन्द्रिय सदस्य पहाडी उनलाई भेट्न काभ्रे आएका हुन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |