शिवजी साह
संक्षिप्त अवधारणा
चेतनाको विकास हुनु जरुरी छ । मानिसहरु जन्म लिदैं, जीवन जिउँदै, मृत्युवरण गर्दै २१ औं शताब्दीलाई पच्छयाई रहेका छन् । आज पनि जो कोहीले भलादमीको खोजी गर्दै छन् । समाजवाद नआउनजेल भलादमीको खोजी भई रहनेछ । त्यसो भए राजनीति भन्दा पर कोही रहन सक्दैन, कोही रहनु पनि हुँदैन । इतिहास साक्षी छ, समय सापेक्ष भूगोल अनुसार विचारमा आधारित वर्गीय र सांस्कृतिक क्रान्तिको माध्यमले आर्थिक सामाजिक परिवर्तन हुँदै आएको छ र समाज विकासको लागि यो परिवर्तन मात्र स्थायी स्रोत तथा माध्यम हो ।
केही विवरण
सूचना र संचार क्रान्ति संगै मनोविज्ञान, समाज (शास्त्र) विज्ञान तथा राजनैतिक (शास्त्र) विज्ञानले विश्वलाई स–सानो समयावधिमा जनताको आधारभूत आवश्यकता अनुसार सत्ता शक्ति, र सत्ता प्रणालीमा मौलिक तरिकाले आमूल परिवर्तन गर्नलाई क्रान्ति सम्पन्न गर्ने अभिभारा एवं उत्प्रेरणा प्रदान गरिरहेको छ । दक्षिणपन्थी वा मध्यपन्थी वा वामपन्थी होस, सबैले जनता माझ अमूल परिवर्तन र मौलिक क्रान्तिको कुरा गरे पनि क्रान्ति पश्चात जन मनोभावना अनुकूल देशको आधारभूत संरचना तथा सत्ता प्रणालीको शासन शैलीमा परिवर्तन गर्दैन, सुधारवादी चरित्र प्रदर्शन गरेको मात्र देखिछ । सुधारवादी चरित्र प्रदर्शन गर्नु मात्र आमूल परिवर्तन होईन । संविधानको संशोधन तुलनात्मक रुपमा मात्र गरिएको हुन्छ र समावेशी रुपमा यसले भावना समेटेको हुँदैन । देशको राष्ट्रिय एकताको लागि भावनात्मक एकता अपरिहार्य हुन्छ र यसकोलागि संविधान सभाको दोस्रो निर्वाचन गर्नु गराउनु तथा भावनात्मक एकता सहितको संविधान बन्नु र बनाउनु जरुरी छ । सबैलाई थाहा छ, व्यक्ति वा समाजले आवश्यकताको सिद्धान्तमा वशीभूत भई नियम कानून र विधि विधानको परिधी नाघेर अखण्ड देशमा वर्ग संघर्ष, जनयुद्ध, आन्दोलन तथा विविध क्रान्तिको बाटो अवलम्बन गर्न वाध्य हुन्छ । क्रान्ति कुनै एक बिन्दुमा सम्पन्न भएपछि, आन्दोलनकारीलाई सत्ता प्राप्ति हुन्छ, सत्ताले शक्ति, शक्तिले स्वार्थ पूर्ति, स्वार्थले पुनः सत्ता सञ्चालन गर्छन् तर जनताले तात्विक भिन्नता पाउदैनन् र त्यस पश्चात जनताले फेरी संघर्षको थालनी गर्छन् । यो अनवरत भई राख्ने धुर्व सत्य प्रक्रिया हो ।
नेपाली कांग्रेसको राजनीति
२५ जनवरी १९४७ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेस र ४ अगस्त १९४८ मा स्थापित नेपाल प्रजातान्त्रिक कांग्रेस एक अर्कामा विलय भई ९ अप्रैल १९५० मा नेपाली कांग्रेसको स्थापना भएको हो । देशै भरि राणा विरोधी प्रदर्शनलाई तीव्र पार्दै श्रमिक आन्दोलन र बन्द हड़तालको शुरुवात गरियो । लगतै राणा शासन अन्त्य गर्ने उद्धेश्य राखी २६ –२७ सितम्बर १९५० मा भारतको बैरगनिया (गौर बोर्डर पारी ) मा सम्मेलन गरि शसस्त्र क्रान्तिको लागि रणनीति बनाउने कार्य भयो । तत्कालीन राजा त्रिभुवन समर्थित राणा विरोधी शसस्त्र संघर्ष ११ नोभेम्वर १९५० मा वीरगंजबाट थलानी भएको इतिहास रहेको छ भने उक्त अभीष्टको लागि भारतीय र बर्मेली समाजवादीहरु नैतिक, आथिर्क, हात हतियार र गोला बारुद्ध ६ नोभेम्वर १९५० देखि सहयोग गरेको स्मरणीय छ ।
सबैलाई थाहा छ, १८ फेब्रुअरी १९५१ मा राणा शासन ढलेपछि राणा – नेपाली कांग्रेस गठबन्धन, कोइराला बन्धुहरुको सत्तारुढ हुने प्रतिस्पर्धा, महेन्द्र – कोइरालाको असमझदारी, पञ्चायती व्यवस्था, बिपीको जेल – निर्वासन – राष्ट्रिय समन्वय नीति, राष्ट्रिय जनमत संग्रह, राष्ट्र व्यापी सत्याग्रह (सविनय अवज्ञा आन्दोलन) र लौह पुरुष गणेश मान सिंहले पहिलो जन आन्दोलनमा अधिकांश शक्तिसंग मिलेर संयुक्त रुपमा खेलेको अग्रणी भूमिका पश्चात् प्राप्त संवैधानिक राजतन्त्र पनि ढलिसकेको अवस्था विद्यमान रही दास्रो जन आन्दोलन (माओवादी र मधेश आन्दोलन समेत) पछि अन्तरिम संविधान निर्माण र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित भई सकेर पनि पहिलो संविधान सभाले जनताको संविधान बनाउन नसक्दा पुनः दोस्रो पटक संविधान सभाको निर्वाचन हुन गईरहेको छ । पहिलो जन आन्दोलन पछि भएको निर्वाचनमा बहुमत ल्याएर पनि जन भावना नबुझेको, पार्टी पंक्तिलाई साथ नलिई मध्यावधी चुनाव गरेको, मध्यावधी चुनावको शासनादेश बमोजिम प्रजान्तान्त्रिक व्यवहार दर्शाउन नसकेको र हालसम्म जनतामा उत्साह थप्न नसकेको मात्र होईन, बिपीको आदर्श सोच बुझ्न नसकेको, व्यावहारिक चिन्तन हराएको र वर्चस्ववादी अनुराग त्याग्न नसकेको जनमत तयार हुँदै गइरहेको छ । उपर्युक्त घटना क्रममा सहभागी नेपाली कांग्रेस जस र अपजस दुबैको भागीदार रहेको मूल्याङकन गर्नु कुनै किसिमको अतियोक्ति नहोला । सबैलाई जस्तो नेपाली कांग्रेसको लागि पनि राजनीतिक भविष्यत मार्ग खुलस्त छ ।
नेपालको राजनीतिक अवस्था
नेपालको राजनीतिक परिदृश्य खुला आकाश जस्तै छरलंग छ भने आन्तरिक राजनीति व्यक्तिगत स्वार्थ, सत्तामोह र अधैर्य वाणीले अन्योल ग्रस्त, क्रमश ः जटिलत र कुटिलताले भरिपूर्ण बनिरहेको छ । जनता देखि नागरिक समाज, किसान देखि कर्मचारी, व्यापारी देखि अधिकारी, न्यायालय देखि अडा कचहरी, विद्यालयदेखि देवालय र कार्यकर्ता देखि नेतासम्मले कुनियतको नीति तथा कपटपूर्ण कुटनीतिको रणनीति बनाउन तल्लीन छन् । सबैलाई आ – आफ्नै चिन्ता छ तर देश र समाजको परिणाम बारे झ्यामै आँखा चिम्लेको जस्तो अनुभूति भईरहेको छ ।
जहाँसम्म नेपाली कांग्रेसको भित्रि कुरा हो, नेपालको राष्ट्रिय राजनीति बारे एकजुटता छैन, एकमत छैन । एक थरिको बुझाई छ, सबै क्षेत्र समेट्ने कार्यक्रम तथा वैचारिक उर्जा नभएकोले पार्टी भित्र जागरण अभियान नचलाई र नयाँलाई जिम्मेवारी नदिई जनताको चाहना बमोजिम अभिष्ट पूरा हुने देखिदैन, अहिले चुनाव हुने छाँट पनि छैन । अर्को थरिको बुझाई छ, अस्पष्टता नै समस्या रहेकोले विगतको भूमिका समिक्षा गर्दै राष्ट्रिय परीक्षाको यस घडीमा गुटबन्दी त्यागी स्वच्छ छविलाई टिकट दिई जनताको पार्टी बनाएर माओवादी षड्यन्त्र चिर्नु पर्छ, भातृ संगठन परिचालन गर्न तयार रहनुपर्छ । यसै बीच तेस्रो थरिको बुझाई छ, पार्टीलाई विधान अनुसार चलाएर पहिचान सहितको संघियातामा प्रष्ट धारणा राख्दै लोकतान्त्रिक संविधान बनाउन चुनावका लागि तयार हुनु पर्छ, राष्ट्रिय राजनीतिको अगुवाई गर्नु पर्छ र बहुमत ल्याउने रणनीति बनाउनु आवश्यक छ ।
नेपाली कांग्रेसको सबल पक्ष
१। राणा शाही (तत्कालीन ३ सरकार) उन्नमूलनमा विशेष योगदान रहेको ।
२। विर्ता खारेजीमा मुख्य भूमिका खेलेको ।
३। शाही (तत्कालीन राजा महेन्द्र) कू विरुद्ध प्रजातन्त्र पुर्नबहालीका लागि अनवरत संघर्ष गरेको ।
३। राष्ट्रियमेलमिलाप (समन्वय) नीति बमोजिम जनमत संग्रहको अन्तिम परिणाम स्वीकार गरेको ।
४। पहिलो जन आन्दोलनबाट देशलाई संवैधानिक राजतन्त्रसम्म ल्याउन महत्वपूर्ण नेतृत्त्वदायी शक्ति प्रदर्शन गरेको ।
५। दोस्रो जन आन्दोलनबाट निरंकुश संवैधानिक राजतन्त्र समेतलाई फाल्न विद्यमान शक्तिहरुसँग सहकार्य गरि लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न गराउन सफल रहेको ।
नेपाली कांग्रेसको कमजोर पक्ष
१। राणा – कांग्रेस गठबन्धन उचितपूर्ण भए पनि हालसम्म पार्टी भित्र कुपोषित कलह र अनावश्यक विवादको श्रृंखला तथा प्रतिस्पर्धामा माथि देखि तलसम्मको नेता कार्यकर्ता विरुद्ध प्रजातान्त्रिक र विभेदरहित तवरले अनुशासनात्मक कार्यवाही नभएको ।
२। पार्टी गठन विघठनको अवस्था समय सापेक्ष भए पनि मूढे बल र गैर – विचारको आधारमा चोइटिएर, फुटेर र टुक्रिएर गएकाहरुसँग पुनः निशर्त विलय हुनुको साट्टो एकल पद, प्रतिष्ठा र प्रपंचलाई महत्व दिनु ।
३। बि. सं. २०४८ को प्रतिनिधि सभा निर्वाचनमा समान्य तर समानजनक बहुमत
प्राप्त सरकारलाई विभिन्न वाह्य र आन्तरिक विकल्प हुंदाहुँदै पनि मध्यावदी
निर्वाचनमा धकेलेको ।
४। बि.सं २०५१ को मध्यावदी निर्वाचनमा साख बचाउन नसकेपछि जनमतको प्रतिकूल गएर गैर – जिम्मेवार र नाम मात्रको राष्ट्रवादी तथा प्रजातान्त्रिक शक्तिसित सत्ता गठबन्धन गरि नेपाली कांग्रेसलाई अस्त व्यस्त र देशलाई संक्रमणमा धकेलेको ।
५। बि. सं. २०५६ को निर्वाचनमा पुनः सत्तारुढ भएपछि पनि सत्ता सञ्चालनमा तात्विक अन्तर देखाउन नसकेको र पार्टी अन्तर्घातबाट मुक्त हुन नसकी पार्टी विभक्त गरिकन प्रजातान्त्रिक प्रणालीलाई कमजोर पार्दै जनताको सम्प्रभुतालाई दरवारमा बन्धक राखेको ।
६। बि. सं २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा आशातित परिणाम पाउन नसकेपछि अन्तरिम संविधान बमोजिमको सहमतिय व्यवस्था संशोधन गरी गराईकन संघियता (अखण्ड देशको संरचनात्मक पुनर्गठन) र सत्ता सञ्चालन प्रणाली सम्बन्धी आवश्यक निर्णय लिन संविधान सभा भित्र सकारात्मक पहल नगरी सत्तासीन हुन सत्र पटकसम्म असफल प्रयास गरेको ।
नेपाली कांग्रेसको लागि अवसर
१। वर्तमानमा भूतकालको समूचित मूल्याङकन गर्ने अधिकार आम नागरिकसँग रहेको छ । त्यसैले भविष्यको इमानदार योजना वर्तमानमा प्रकट गर्ने एतिहासिक मौका ।
२। दोस्रो संविधानसभाको निर्वाचन पूर्व संघियता र शासन प्रणाली सम्बन्धी स्पष्ट धारणा सार्वजनिक गर्ने ।
३। दोेस्रो संविधानसभाको निर्वाचनमा सम्पूर्ण गणताँित्रक शक्तिहरुलाई एक मञ्चमा ल्याई भयरहित, शान्तिपूर्ण र निर्विवाद निर्वाचन सम्पन्न गर्न गराउन पहलकदमी लिने ।
४। सूचना (ज्ञान) तथा संचार (सम्प्रेषण) क्रान्तिलाई समाज र विकाससँग जोड़दै एवं वीपी लाई सम्झिदै समाजवाद (विभेदरहित समाज) स्थापना गर्न सहकार्य वा नेतृत्वदायी भूमिका निर्वाह गर्ने मौका ।
५। दोस्रो संविधान सभाको निर्वाचनमा पाउने जनमत वा शासनादेश अनुसार अविचलित भई जनताको संविधान बनाउन सार्थक प्रयास गर्ने र व्यवस्थापिका संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने वेला अवांक्षित तत्वलाई पाखा लगाउने तथा जनताको अभिमतलाई आत्मसात गर्ने ।
नेपाली कांग्रेसको लागि चुनौती
१। पार्टी भित्र कठोर अनुशासन कायम गरि गराई आन्तरिक कलह साम्य पार्ने, उन्नमूलन गर्ने र दायित्व बोध गर्ने गराउने पूँजी एकीकृत नगरे मजबूत संगठन तथा समर्पित कार्यकर्ताको फÞौज तयार गरेर पनि जनतासंग जोड्ने प्रायिकता कम भएर जाने खतरा ।
२। महान भविष्य द्रष्टा भए पनि वर्तमानमा जनहित संरक्षणको लागि आवश्यक र उचित कदम सफलतापूर्वक नचालिए जनता माझ लोकप्रियता हासिल नहुने खतरा ।
३। इतिहासको सफलतालाई मात्र उजागर गर्ने र विफलतालाई अरुको टाउकोमा हाल्ने प्रवृति नत्यागे, जति पनि नयाँ र राम्रो कार्यक्रम ल्याए पनि, युवा र भावी पुस्तालाई आकर्षित गर्न नसकने भई समयको वेगसँग तालमेल गर्न नसकेको ठहरिने खतरा ।
४। सूचना (ज्ञान) तथा संचार (सम्प्रेषण) क्रान्तिलाई विश्लेषण गरि २१ औं शताब्दीको मापदण्ड बमोजिम ठोस निर्णय गरेर निमुखा समेतलाई समाजमा पुनस्थार्पित गर्ने कार्य स्वस्फूर्त नगरिए जनता र कार्यकत्र्ताबाट टाढीने खतरा ।
५। समाज भित्र अशिक्षा र डिजिटल डिवाइड भए पनि, जे जति जानकारी प्राप्त सूचना क्रान्तिको माध्यमबाट जनताले सारा विश्वलाई एकल भूमण्ड़ल वा एक गाउँको रुपमा पाएपछि पलपलको विश्वव्यापी गतिविधि, घटना परिघटना र वस्तुनिष्ठ अवस्था बुझ्न सकने हैसियतमा रहेकोले, यथार्थको राजनीति सुझ बुझले नगरिए, सोझा साझा जनता समेतले साथ नदिने खतरा ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |