पाँचखाल-पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको पलाञ्चोक भगवतिमा शुक्रबारबाट सुरुभएको मेला भव्य ढंगबाट संञ्चालन भई आईतबार सम्पन्न भएको छ । उक्त मेलालाई व्यवस्थित गर्नको लागि वडा नं ९ का वडा अध्यक्ष किरण श्रेष्ठको अगुवाईमा वडा नं ८ का वडा अध्यक्ष संजय तमाङ, वडा नं ११ का वडा अध्यक्ष शिव सरण लामा र वडा नं १३ का वडा अधयक्ष सुकुविर तमाङ निरन्तर रुपमा लागि रहनु भएको थियो ।
भूकम्पले क्षति पु¥याएको मन्दिर पुनरनिर्माण कार्य सम्पन्न पश्चात पहिलो मेलालाई व्यवस्थित गर्न पाँचखाल नगरले आर्थीक सहयोगका साथ एक दिन सार्वजनिक बिदा समेत दिएको थियो । भगवतिको दर्शन गर्दा मनोकांक्षा पुर्ण हुने जनविश्वासका साथ काभे्र आसपासका जिल्लाहरुका साथै काठमाडौ उपत्यका आसपासका जिल्लाहरुबाट भक्तजनहरुको अत्यन्त ठुलो उपस्थित रहेको थियो ।
मेलालाई व्यवस्थित गर्नको लागि मन्दिर रहेको वडा पाँचखाल वडा नं ९ का अध्यक्ष किरण श्रेष्ठको ठुलो भूमिका निर्वाह गर्नु भएको थियो ।
त्यसैगरी वडा नंं ८, ११ र १३ का वडा अध्यक्षहरुले साथ दिनुभएको थियो । भक्तजनहरुको सुरक्षा र सुविधालाई मध्यनज राख्दै निःशुल्क सवारी साधन पार्कीङ्ग, पानीको व्यवस्था, सतलमा सहज ढंगबाट सुरक्षीत तरिकाबाट बस्ने व्यवस्था मिलाईएको छ । त्यसैगरी खाजा नास्तामा सहज र सरलता साथै सुपथ मुल्यमा उपलब्ध गराउने बिषयमा चनाखो हुदै मेलामा निः शुल्क रुपमा स्टल उपलब्ध गराएको छ । सुरक्षालाई मध्यनजर राख्दै घरेलु मदिरा पुर्ण रुपमा प्रतिबन्ध लगाई सशस्त्र प्रहरी साथै प्र.ना.नि यमबहादुर वुडाथोकिको नेतृत्वको प्रहरी टोलिका साथमा स्थानिय ४० जना स्वयंसेवक समेतले सुरक्षा दिएका थिए ।
बुद्ध जयन्तिको दिन लाग्ने उक्त मेलामा बुद्धको मुर्तिको अभाव महसुस गर्दै मन्दिरको पुर्वपट्टि रहेको गणेश मंदिरको छेउमा वडा अध्यक्षको अगुवाईमा बुद्धको मुर्तिको स्थापना गरेको छ । ऐतिहासिक एवं पुरातात्वीक भगवतिको महिमाको बिषयमा जानकारी गराउने साथै संस्कृतिको जगेर्ना गर्ने बिषयमा साठिघर टोलका नेवारि समुदाय (गुठी) को ठुलो योगदान रहेको छ । मेला सुरु हुने तीन दिन सम्म मन्दिर आसपासका स्थानहरुमा खनजोत नगर्ने साथै चोखो खाएर परंम्पराबाटै भक्ति भाव गर्दै आउना कार्यलाई निरन्तरता दिदै आएका छन् । पाँचखाल नगरले उपलब्ध गराएको आर्थीक सहयोगबाट गुठियार तथा स्वयंसेवकलाई युनिफर्मको व्यवस्था मिलाएको थियो ।
मन्दिरको पुजामा सहभागि पुजारीले भने संकृतिको संरक्षण गर्ने कार्यको लागि खासै योगदान नदिदा स्थानियहरु रुस्ट भएका छन् । भक्तजनहरुले मन्दिरमा चडाएको सम्पुर्ण भेटि तथा सुन चाँदि, सौभाग्यको सामाग्रीहरु संकलन गर्ने कार्यमा मात्र ध्यान दिने गर्दा पुजारीहरु प्रति स्थानिय गुठियारहरु रुस्ट भएका छन् । मन्दिर तथा मंन्दिरका अन्य महत्वपुर्ण सामाग्रीहरुको सुरक्षा साथै मंन्दिर हातामा हुनुपर्ने अन्य बिबिध बिषयमा चासो नदिदा समस्या उत्पन्न भएको छ ।
पाँचखाल नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरु , कालिका युवा क्लव र एकता युथ क्लवले स्वयंसेवक व्यवस्था गरी अगाडी बढ्दा विगत बर्षहरुको तुलनामा अत्यन्त सभ्य ढंगबाट मेला चलेको स्थानिय समाजसेवि गोपाल बहादुर पौडेलले बताउनु भयो । समाजसेवी पौडेलका अनुसार पानीको समस्या भएको ठाउमा भक्तजनहरुलाई सुबिधा दिने उद्देश्यले पलाञ्चोक तामाङ समाजले पिउने पानीको व्यवस्था मिलाएको साथै पलाञ्चोक खानेपानीले ७ वटा धारा संञ्चालन गरी २४ सै घण्टा पानीको व्यवस्था मिलाएको बताउनु भयो ।
यस्तो छ पलाञ्चोक भगवतिको महिमा
काभ्रेपलाञ्चोक जिल्लाको हाल पाँचखाल नगर वडा नं ९ मा अवस्थित पलान्चोक भगवतीको महिमा नेपाल लगायत विश्वभर रहेको छ । अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलाञ्चोक भगवतीलाई मान्ने गरिन्छ ।
भगवती हिन्दूहरूकी आराध्यदेवी भए पनि यस मन्दिरमा वैदिक विधिअनुसार मन्त्रोच्चारण गरी पूजाआजा नभई बौद्ध तान्त्रिक विधिअनुसार पूजा अर्चना गर्ने प्रचलन छ । भगवतीलाई बौद्धमार्गीहरूले पनि हिन्दूहरूले जस्तै श्रद्धाभक्तिले पूजा, अर्चना गर्दछन् । मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन् ।
पलाञ्चोक भगवतीकोे इतिहास उतिकै रोचक छ । भगवतीको मुर्ति र स्थापना संग अनेकौ भनाइ एवं किंवदन्ती रहेको पाईन्छ ।
राजधानी शहर काठमाडौंबाट करिब ५४ कि.मि. पूर्वमा पर्ने मन्दिरहरूमा सबैभन्दा ठूलो मन्दिर पलाञ्चोक भगवतीको रहेको पाईन्छ । मन्दिरमा रहेको मूर्ति करिब एक मिटर अग्लो र कालो चिल्लो ढुंगामा कँुदिएको छ । भगवतीको मूर्ति हेर्दा अलिकति बाङ्गिएको आकृतिमा देखिन्छ । अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी यी भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख रहेको छ । भगवतीको पाउले दायाँ र बायाँ चण्ड एवं मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको देखिन्छ । एक हातको तीरले दैत्यलाई रोपेको छ । ढोकाको दायाँ–बायाँ पथ्थर र धातुका सिंहहरू छन् । सुनको जलप लगाइएको पित्तलको गजुर प्यागोडा शैलीको तीनतले मन्दिरका दुवै छाना तामाका छन् भने टँुडाल र झ्यालहरू भने कलात्मक काठका रहेका छन् ।
धातुले नै मोडिएका ढोकाहरू, मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण रहेको छ । मन्दिरमा दर्शनार्थ काठमाडौंलगायत नेपालका विभिन्न स्थानबाट प्रत्येक शनिबार र मंगलबार श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ । पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती तीन दिदी–बहिनीहरूमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठूली दिदी हुन् भन्ने किंवदन्तीमा उल्लेख भएको पाइन्छ ।
मन्दिरको स्थापना लिच्छवि राजा मानदेवले विक्रम संवत् ४२५ मा गरेको कुरा लिच्छविकालीन अभिलेखहरूबाट थाहा पाउन सकिन्छ । नेपालका अभिलेखहरूमध्ये यहाँको अभिलेखलाई पुरानो मानिएको छ । यो मन्दिर अनुपम् कलाकौशलले चमकदारपूर्ण तथा आकर्षित रहेको छ । मध्यकालको प्रारम्भमा काभे्र जिल्लाका सात वटा स्थानहरू– चण्डेश्वरीनजिको बनेपुर बनेपा, प्रयाग तीर्थनेर पानवती (पनौती), नाला भगवतीनेर (नाला), नारायण तीर्थनेर धौखेल (धुलिखेल), धनेश्वरनजिकै श्रीखण्डपुर (खड्पु), चकोट ऋषिको आश्रमनेर (चौकोट) र नासिकास्थान पीठनेर (साँगा)ले विशेष महत्व पाई विकसित हुने अवसर पाएका थिए ।
मानदेव प्रथमको शासनकालमा स्थापित पलाञ्चोक भगवती मन्दिर मध्यकालमा एउटा प्रमुख गढको रूपमा परिचित थियो । जयसिंह राय वर्धनलाई जयस्थिति मल्लले सामन्त अर्थात् शासक बनाएपछि उनको परिवारको प्रभुत्व कायम भयो । उनको भतिजा शक्तिराम वर्धन त्यहाँको सामन्त रहेका बेला चीनका बादशाहले निजलाई वांग पदवी दिएर दौत्यसम्बन्ध कायम गरे । यक्ष मल्ल परलोक भएपछि उनका छोराहरूले राज्य टुक्र्याउन थाले । त्यसैले रण मल्लद्धारा बनेपामा एउटा स्वतन्त्र राज्य खडा गरियो । मन्दिर जिर्ण हुंदै जाँदा वि.सं. २०३२ मा तत्कालीन सरकारले मन्दिरको जीर्णोद्धार गरेको थियो। वि.सं. १९९० आएको भुकम्पले केही भाग भत्केकोमा स्थानीय बासिन्दाबाट मर्मत भएको थियो ।
कसरी भयो त मन्दिरको स्थापना
हाल पलाञ्चोकमा रहेको मन्दिर सो ठाउमा स्थापना हुनु अगाडी काभ्रे जिल्लाको बुचाकोटका बासिन्दालाई सपनामा भगवती स्वयं उपस्थित भई मलाई यहाँबाट उत्तरतिर लैजाऊ भनिछन् । स्थानीयले सोही बमोजिम भगवतीको शिलालाई बोकेर ल्याउँदा हालको भगवती स्थानमा बास पर्यो। भोलिपल्ट बिहानै पलाञ्चोक भगवतीलाई बोकेर लान खोज्दा उठाउनै नसकेर सोही ठाउंमा स्थापना गरेको भन्ने छ । त्यसपछि त्यहाँ नै भगवतीको मन्दिर बनाएर राखियो ।
त्यस्तै अर्को रोचक पक्ष एक स्थानीय अज्ञात पहरी थरका व्यक्तिले भोटबाट नेपालमा नून व्यापार गर्ने गर्दथे । उनले एक दिनको व्यापारबराबर नाफा भएको खण्डमा भगवतीलाई केही चढाउने बाचा गरेका थिए रे । सोही बाचाअनुरूप उनले भोलिपल्ट आफ्नो नूनको बोरामा हेर्दा पाथीभरि चाँदीको मोहोर भएको पाए । आफ्नो मनोकामना पूरा भएको हुँदा पलाञ्चोक भगवती मन्दिरभन्दा पूर्वपट्टि छेउमा ठूलो घन्टा स्थापना गरेका थिए । सो घन्टामा लेखिएको कुरा आजसम्म पनि सजिलैसँग पढ्न सकिन्छ । भगवतीको दिदी कालिकाको स्थान त्यहाँबाट केही पर छ । उनको पहिले दर्शन गरेर मात्र भगवतीको दर्शन गर्नुपर्ने जनधारणा आजसम्म पनि यथावत् कायम छ ।
मन्दिरदेखि पूर्वपट्टि डाँडागाउँमा पहरी थरका जनजातिहरू बसोबास गर्छन्। यिनीहरू नेवार जातिबाट अपभ्रंश भई पहरी जातमा आएको भन्ने भनाइ छ । सो डाँडालाई भगवतीको फूलबारी भनिन्छ । यहाँका प्रत्येक पहरीले दैनिक आलोपालो मिलाई भगवतीलाई फूलको गुच्छा प्रत्येक बिहानीमा चढाउनुपर्ने प्रचलन छ । मन्दिरमा सबैभन्दा ठूलो मेला बडादशैं र चण्डीपूर्णिमा (बुद्ध जयन्ती)का दिन लाग्छ । बुद्ध जयन्ती मेला लाग्नुभन्दा एक दिनअगावै देउता बैराउने भनिन्छ । त्यस दिन त्यहाँका पहरीहरूबाट नै भगवतीको रथ चलाउने परम्परा छ । यसरी यहाँ वर्षको दुई पटक रथ घुमाइन्छ ।
मन्दिरभित्र झन्डै एक मिटर कालो ढुंगामा कँुंदिएको भगवतीको सुन्दर मूर्ति छ। भनिन्छ, पलाञ्चोक भगवती दाहिने हातबाट, नक्साल भगवती देब्रे हातबाट र शोभा भगवती खुट्टाबाट कुँदिएको र तीनै मूर्ति बनाउने कलाकार एउटै थिए । यस्तो बहुचर्चित मूर्ति बनाउने कलाकारले तत्कालीन अवस्थामा सजायँबापत आफ्नो हात गुमाउनुपरेको कुरा निकै चर्चा हुने गर्छ ।
काठमाडौं मखनटोलवासी वज्राचार्यहरूलाई परापूर्वकालदेखि नै यस मन्दिरको पूजाआजाको लागि पुजारीको रूपमा राख्ने परम्परा आजसम्प पनि जस्ताको तस्तै रहेको छ । मुलुकमा कुनै अनिष्ट हुने भएमा पलाञ्चोक भगवतीको मुहारमा पसिना आउने गर्छ । वि.सं. २०४५ भाद्र ५ गते भूकम्प जानुअघि भगवतीको अनुहारबाट पसिना आएको थियो । वि.सं. २०२९ मा एउटा सैनिक विमान धुलिखेल डाँडाको खोल्सामा दुर्घटनाग्रस्त हुनुभन्दा अगाडि पनि देवीको अनुहारबाट पसिना आएको थियो भनिन्छ । २०७२ बैशाखको पहिलो हप्ता पनि पसिना आएको पुजारीले बताएका थिए त्यसको केही दिनमै १२ गते भुकम्प गयो । यसले गर्दा परापूर्वकालदेखि नै भगवतीप्रति जनआस्था र विश्वास बढ्दै आएको छ ।
त्यसैगरी शत्यमोहन जोसिले लेखेको कितावमा काभे्रको वुचाकोटबाट भगवतिले पाईलो टेकोको हालको भगवति मन्दिरमा, जुन नेवारी भाषामा (पलाचोक) भन्नेगरेको सोही नेवारी भाषाको पलाचोकलाईनै आधार मानेर पलाञ्चोक नाम रहेको उल्लेख गरेको छ । नेवारीमा भनिएको (पलाचोक) अर्थ पाईला टेकोको हो । २०७२ आएको भुकम्पले क्षति पु¥याएको मन्दिरको पुनर निर्माणको लागि २०७४ जगमा खन्दा भेटीएको पुरानो पैसाले गर्दा पनि मन्दिर वि.सं ४२५ मै बनेको पुष्टि मिलेको छ ।
मन्दिर व्यवस्थापनको कमजोरी पक्ष
संविधानसभाबाट नेपालको मुल कानुन संविधान जारी भयो । सोही आधारमा सिंहदरवारको अधिकार स्थानिय तहलाई दिने गरी अगाडी बढ्यो तर कतिपय अधिकार हस्तान्तरण गर्ने बिषयमा आलटाल गर्दा समस्या आउने गरेको छ । सोहि खालको समस्या पलाञ्चोक भगवति मन्दिर व्यवस्थापनमा समेत भएको छ । २०४५ सालमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पलाञ्चोक भगवती विकास तथा सेवा समितिको गठन भयो । सो समितिले खासै उल्लेख्य कुनै कार्य नगदै २०७१ सालमा २०४५ सालमा गठित समितिलाई भंङ्ग गरी प्रमख जिल्ला अधिकारीकै नेतृत्वमा पुरानो समितिमा रहेकामा केहि थप गरी तदर्थ समिति गठन भयो तर सो तदर्थ समितिले पनि खासै उल्लेख्य कार्य गर्न सो समितिले सकेको छैन । मन्दिरको आम्दानि खर्चकोको बारेमा लेखा प्रतिवेदन हुने तथा सार्वजनिक गर्ने कार्य हाल सम्म भएको छैन । नत साधारण सभा नै भएको छ, जिल्लाको सदरमुकाम धुलिखेलबाटै समितिको नामावलि तयार गरियो । मन्दिरको सुधारको बिषयमा खासै पहल हुन नसकेको सम्बन्धित वडाका वडा अध्यक्ष किरण श्रेष्ठले बताउनु भयो ।
समिति जिम्मेवारी बिहिन भएपछि पुजारीहरुले समेत मन्दिरको संरक्षणमा खासै चासो नदेखाएको स्थानियले गुनासो गरीरहेका छन् । पुजारीले आम्दानिको लागि मात्र कार्य गर्ने धेरै भेटि चडाउनेलाई पुजामा समेत पृथक व्यवहार गर्ने गरेको जनप्रतीनिधिहरुको भनाई रहेको छ । स्थानियहरुको बृहत भेलाले नगरका प्रमुख महेश खरेलको संयोजकत्वमा समिति गठन हुनुपर्ने र सम्बन्धित वडाका वडा अध्यक्ष उप—शंयोजक हुनुपर्ने निर्णय गरी जिल्ला प्रसाशन कार्यालय काभे्रमा निर्णय बुझाउंदा समेत कुनै सुनुवाई हुन सकेको छैन ।
विगतमा गठित समितिले गणेश मंन्दिर र कालिका मन्दिरको बिषयमा समेत कुनै चासो नदिनु र समितिले चासो नदिएपछि पुजारीले पनि उक्त बिषयमा चासो नदिदा भगवतिको दर्शन गर्नु भन्दा पहिला पुजा गर्नुपर्ने गशेस र कालिकाको पुजाको बारेमा भक्तजनहरुलाई जानकारी नहुंदा मनोकामना पुर्ण हुने विस्वासका साथ पुगेका भक्तजनहरुको पुजा अधुरै रहने गरेको छ । वास्तवमा भक्तजनहरुले चिताएको पुर्ण हुनको लागि पहिला गणेशको दोस्रोमा कालिकाको तेस्रोमा भगवतिको पुजा गर्नु पर्ने किम्बदन्तिमा उल्लेख छ । स्थानियहरुले ऐतिहासिक धरोहरको रुपमा रहेको पुरातात्वीक महत्वको भगवति मंदिरको संरक्षण साथै व्यवस्थापनको लागि समिति पुनर गठन गर्नु पर्ने मंदिरमा चडाएको भेटी समितिको मातहतमा हुनुपर्ने र पुजारिलाई उचित तलवको व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन् ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |