पनौती । पनौती नगरपालिका कृषि तथा पशुपंक्षी शाखाको आयोजनामा पनौती नगरपालिका वडा नं १२ भुमिडाँडामा भैंसी संरक्षण तथा संवद्र्धन अभियान अन्तर्गत कृषकहरुलाई पाडी वितरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिकाका नगर प्रमुख भीम न्यौपानेद्वारा सो अभियानको औचित्यता प्रष्ट्याउँदै पनौती नगरपालिकाले कृषि तथा पशुपंछी विकासका लागि माग र आवश्यकताका आधारमा विभिन्न कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको बताउनुभएको छ । यसमध्ये भैंसी संरक्षण र संवद्र्धन कार्यक्रमलाई पशुपालनको क्षेत्रमा महत्वपूर्ण कार्यक्रमका रुपमा लिइएको छ ।
भैंसी संरक्षण र संवद्र्धन कार्यक्रम सञ्चालन गर्नुको औचित्यबारे प्रष्ट्याउँदै प्रमुख न्यौपानेले उत्पादनशील भैंसीको संख्यालाई संरक्षण गर्न र दुध उत्पादनमा निरन्तरता दिलाउन, भैंसीको आनुवांशिक गुणलाई संरक्षण गर्न र रोजगारी सिर्जनासहित पनौतीलाई दुधालु भैंसीको स्रोत केन्द्रका रूपमा विकास गर्न, आर्थिक वर्ष ०७५/७६ लाई भैंसी प्रवद्र्धन कार्यक्रमको आधार वर्ष मानेर अध्ययन हुँदा, लैनो भैंसी खरीदका लागि पनौती नगरपालिकाभित्रका किसानले वर्षेनी ३ करोड रूपैंयाभन्दा बढी रकम बाहिर पठाउने गरेको तथ्य सार्वजनिक गर्नुभएको थियो ।
नगर क्षेत्रमा रहेका भैंसीको गणना हुँदा ४ हजार ७ सय ४७ रहेको र सो संख्यामा वृद्धि नभएको अवस्थामा यो अभियान कोशेढुंगा सावित भएको समेत प्रमुख न्यौपानेले खुलासा गर्दै पशुपालन र दुध उत्पादनमा काभ्रे जिल्लाकै उत्कृष्ट पालिकाका रूपमा पनौती रहेको र आधार वर्षमा नगरक्षेत्रमा उपभोग भइ बाँकी रहेको दुध दैनिक ३५ हजार लिटर बाहिर जाने गरेको अवस्थामा छ । उत्पादनशील भैसीलाई पुनः ब्याउने बेलासम्म पाल्ने नगरेको अवस्थामा कृषि शाखाको प्रयासमा भैंसी पालेका किसानहरूले समेत जन्मेको पाडीलाई हुर्काइ भंैसी बनाएर पाल्नमा पछिल्लो समय इच्छुक हुँदै आएका छन् ।
लैना भैंसीलाई महँगो मूल्यमा खरिद गरी ल्याउने तर सामान्य परिमाणमा दुध घट्न थाल्ने बित्तिकै उत्पादनशिल भैंसीलाई विक्री गरि पुनः बढी मूल्य तिरेर लैनो भैसी खरिद गर्ने चलन रहेको हालको अवस्थामा भैंसी बहुउपयोगी र दुधको बजारीकरणमा समस्या नहुँदासमेत युवा जनशक्ति पशुपालन र कृषि व्यवसायमा आकर्षित हुन नसकेको तथ्य प्रस्तुत गर्दै प्रमुख न्यौपाने थप्नुहुन्छ– पनौती नमुनायोग्य भैसीको श्रोत केन्द्र बन्न सक्ने सम्भावना भएर पनि हुन नसकेको र किसानहरू व्यावसायिक बन्न, स्वरोजगार हुन र पशुपालनमा आधारित साना उद्योग सञ्चालन गर्नुभन्दा वैदेशिक रोजगारीमा जान लालायित हुने गरेको अवस्था छ ।
यो परिवेशमा यी कारणहरूले गर्दा ‘कालो सुन’ को रूपमा चिनिने र फाइदैफाइदा रहेको बहुउपयोगी भैंसीको संख्या नगरक्षेत्रबाट दिनानुदिन घट्दो क्रममा रहेको हुँदा सो क्रमलाई रोक्न जरूरी देखिएकाले पनौती नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ को नीति कार्यक्रम तथा बजेटमै समावेश गरेर भैंसी संरक्षण र संवद्र्धन कार्यक्रम सुरू गरेको बताउनुभएको थियो ।
भैंसी संरक्षण र संवद्र्धन कार्यक्रमको लक्ष पुरा गर्न नगरपालिकाले सञ्चालन गरेका प्रमुख कार्यहरू यसप्रकार रहेको जानकारी गराउनुभएको थियो । भैसीको तथ्याङ्क संकलन, भंैसीको पकेट क्षेत्र निर्धारण, भंैसी सुत्केरी भत्ता वितरण (पहिलो बेत ब्याएकोलाई ५०००।– र अन्य बेत ब्याएकोलाई २०००।–), पाडापाडीको जन्म दर्ता कार्यक्रम, गोठ÷खोर सुधारका लागि अनुदान, पशु विमाको प्रिमियम शुल्कमा ५० प्रतिशत अनुदान, पशु आहाराका लागी घाँसका विउ वितरण र प्रविधि हस्तान्तरण, पशु खोप तथा उपचार सेवा कार्यक्रम तथा अन्य आवश्यकीय भेटेरीनरी सेवाहरू प्रदान, आ.व. ०७६/७७ मा भंैसीका पाडी÷थोरे ३०० वटा वितरण, यसका लागि पशु चिकित्सक डा. दिलिप देउजाको संयोजकत्वको प्राविधिक समितिले गुणस्तरिय पाडीहरूको छनौट गरेर किसानलाई वितरण गर्ने व्यवस्थापन मिलाइएको छ ।
पाडी वितरण गर्नु अगावै छनौटमा परेका कृषकहरुलाई नीतिगत तथा प्राविधिक जानकारीसहितको एक दिने अभिमुखीकरणमा सहभागी गराउँदै आएको पनि प्रमुख न्यौपानेले कार्यक्रम बताउनुभएको थियो ।
पाडी वितरणमा लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिँदै कृषक छनौट गरिएको, पाडी प्राप्त गर्ने कृषकको २ लाख रुपैंयाबराबरको दुर्घटना बीमा र पाडीको पशु बीमा नगरपालिकाले नै गर्दै आएको, सघन रूपमा कार्यक्रमको अनुगमन र मुल्याङकनका लागि उपप्रमुखज्यूको संयोजकत्वमा प्रत्यक्ष अनुगमन हुने प्रणाली बनाएका छौं । सो विषयमा जिल्लाका सञ्चारकर्मी मित्रहरूबाट भैंसी संरक्षण र संवद्र्धन कार्यक्रमका बारेमा निरन्तर समाचार सम्प्रेषण र प्रकाशन÷प्रसारण हुँदा कार्यक्रमले स्थानीय, प्रदेशस्तर र राष्ट्रियस्तरमै चर्चा र महत्व पाएको छ । यसैका आधारमा अन्य स्थानीय तहहरूले पनौतीसँग सम्पर्क र समन्वयमा यस्तै कार्यक्रमलाई लागू गरेको दृष्टान्तहरू रहेको प्रमुख न्यौपानेको थप कथन थियो । उहाँका अनुसार आर्थिक वर्ष ०७७/७८ को मंसिर महिनासम्मको उपलब्धिहरूलाई लिपिबद्ध रुपमा प्रस्तुत गर्नुभएको थियो । जसअनुसार भैंसी संरक्षण र संवद्र्धन कार्यक्रममा किसानहरूको सहभागिता बढेका कारण हाल नगरक्षेत्रमा भंैसीको संख्या ७ हजार १ सय ७६ पुगेको छ । यो संख्या आधार वर्षको भन्दा २ हजार ४ सय २९ ले बढेको हो ।
आधार वर्षभन्दा अघिल्लो वर्षसम्म नयाँ भैसी खरिद गर्ने प्रचलन कायमै रहेकोमा कार्यक्रम लागू भएपछि यो क्रम क्रमशः घट्दै गइरहेको छ । आधार वर्ष भन्दा अघिल्लो वर्षमा ३ सय वटा भैंसी पनौती नगरक्षेत्रमा बाहिरबाट भित्रिने गरेकोमा सो वर्ष १ सय ५० वटामात्रै भित्रिएबाट कृषकको करीव २ करोड रकम वचत भएको अवस्था छ ।
गत आर्थिक वर्षको पहिलो चौमासिकमा किसानहरूले १ सय ५० वटा भंैसी बाहिरबाट खरिद गरी नगरक्षेत्रमा ल्याउनु भएकोमा यस वर्षको सोही अवधिमा जम्मा ५५ वटा मात्र भंैसी खरिद भै आएको देखिन्छ । नगरपालिका क्षेत्रमै भैंसीको संरक्षण हुन थालेपछि भैसीको संख्या २०७८ मंसिर मसान्त सम्म आइपुग्दा ७ हजार १ सय ७६ पुगि सकेको छ भने यस विचमा २० वटा फर्महरू व्यावसायिक भैंसी फार्मको रूपमा विकास भइसकेको र थप विकास हुने क्रममा रहेको अवस्था छ । आधार वर्षभन्दा अघिल्लो वर्षसम्म पनौती नगरक्षेत्रमा उपभोग पश्चात दैनिक ३५ हजार लिटर दुध र बाहिर जाने गरेको अवस्था रहेकोमा कार्यक्रमको प्रभावकारिताले १० हजार लिटर थप भई दैनिक ४५ हजार लिटर दुध बाहिर जान थालेको अवस्था छ । ैदेशिक रोजगारीबाट फर्किएका र कोभिड–१९ का कारणले विस्थापित भई रोजगारी गुमाएका युवा युवती समेत भैंसीपालनमा आकर्षित भई नयाँ व्यवसायका रूपमा गर्न काम शुरू गर्न थालेको अवस्था छ । एकातिर भैंसीपालनमा कृषकहरूको व्यापक आकर्षण बढेको छ भने अर्कातिर गत साल वितरण भएका पाडीहरूमध्ये हाल १ सय ७१ वटा पाडीहरू ब्याउने अवस्थामा रहेका छन् ।
यस नगरपालिकाले अभियानकै रूपमा सुरू गरेको भैंसी संरक्षण र संवद्र्धन कार्यक्रमको विभिन्न सञ्चारमाध्यमहरूमा व्यापक प्रचार प्रसार भएको हुँदा सोको अनुसरण गर्दै अन्यत्रका गाउँ÷नगरपालिकाले पनि यस्तो कार्यक्रमको शुरूवात गरेको जानकारीहरू प्राप्त हुन थालेको छ । पनौती नगरपालिकाले अभियानकै रूपमा थालनी गरेको भैंसी संरक्षण र संवद्र्धन कार्यक्रमको प्रभावकारितालाई मूल्याङ्कन गर्दै संघीय र प्रदेश सरकारबाट समेत भैंसी प्रवद्र्धन कार्यक्रम प्राप्त भई थप २ सय वटा पाडी÷थोरे वितरणको प्रक्रिया अघि बढेको अवस्था छ । भैंसी संरक्षण, संवद्र्धन तथा पशु विकास कार्यक्रममा पनौती नगरपालिकाले गर्दै आएका कार्यहरूलाई उत्कृष्ट मुल्याङ्कन गर्दै बागमती प्रदेश सरकार तथा संघीय सरकारबाट सम्मानका लागी छनौट प्रक्रिया अघि बढेको जानकारी प्राप्त भएकोले पनि यसको महत्व र सान्दर्भिकता प्रष्ट हुन आउँछ ।
विगतमा मागका आधारमा कृषि तथा पशुपालन कार्यक्रमहरू लागू गर्दै आएकोमा भौगोलिक अवस्था, विद्यमान खेती किसानी प्रणाली र सम्भाव्यतालाई आधार मानेर नगर कार्यपालिकाको निर्णयअनुसार देहायअनुसार पशुपालन र कृषिका लागि पकेट क्षेत्र निर्धारण गरिएको छ । यसबाट कार्यक्रम सञ्चालन गर्न र कार्यक्रममा प्रभावकारिता ल्याउनमा मद्दत गर्ने नै छ । साथै कार्यक्रमको अनुगमन तथा मुल्याङ्कनलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभएको थियो । उक्त कार्यक्रममा पूर्व सांसद गोकुल बाँस्कोटा प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्रदेश सांसदहरु चन्द्र लामा, बसुन्धरा हुमागाईं, रामहरि सुवेदी, पशुपंक्षी प्रवद्र्धन तथा आनुवांशिक स्रोत संरक्षण निर्देशनालयका डा. लोकनाथ पौडेल, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका डा. रामप्रकाश प्रधान, वडा नं. १२ का वडा अध्यक्ष ईश्वर जंगम, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले अभियानका बारेमा चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रमलाई वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने शाखाका प्रमुख एवं पशु विज्ञ मणिप्रसाद सापकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने धन्यवाद ज्ञापन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले गर्नुभएको थियो ।
सोही दिन नगरपालिका वडा नं. १२ भूमिडाँडाका किसानहरुलाई २८ वटा पाडी वितरण गरिएको थियो भने बाँकी पाडी वितरण क्रमशः गर्दै जाने योजना रहेको शाखा प्रमुख एवं पशु विज्ञ मणिप्रसाद सापकोटाले बताउनुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |