बनेपा । परिकल्पना साकोसको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा बागमती प्रदेश समितिका सदस्य सहकारी अभियान्ता कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद तिमल्सिनाले सहकारीकर्मीहरुले प्राप्त गरेको उपलब्ध जोगाइराख्नु नै आजको चुनौती भएको बताउनुभएको छ ।
सहकारीले जुन किसिमको उपलब्धी हासिल गरेको छ, त्यसलाई जोगाएर राख्न नसक्लान् कि भन्ने डर आफूलाई लागेको बताउनुहुँदै बाँस पनि अग्लो भएपछि नुहिन्छ । कतै परिकल्पनाले आज जुन फड्को पार गरिरहेको छ, त्यसमा घुनपुतली लाग्ला कि भन्ने चिन्ता रहेको बताउनुभएको छ । यो समस्या नेपालका अधिकांश सहकारीहरुमा भुसको आगोझैं मौलाइरहेको आफूले पाएको बताउनुहुँदै नीति, विधि र प्रविधिमा टेकेर अगाडि बढ्नुपर्ने छ । राज्यले स्वीकारेको तीन खम्बामध्येको एक खम्बा सहकारीलाई मजबुत बनाउन सक्यौं भने मात्र सम्वृद्ध राष्ट्र निर्माणमा सहकारीहरुको महत्वपूर्ण उपस्थिति सावित हुनेछ । परिकल्पनाले आज जुन सामाजिक प्रतिष्ठा प्राप्त गरेको छ, त्यसलाई निरन्तरता दिनु चुनौती बनेर आएको छ । त्यसैले संरक्षण र संवद्र्धनका लागि सबै जिम्मेवार सहकारीकर्मीहरु कटिबद्ध भई लाग्नुपर्ने देखेको छु भन्नुहुँदै कुनै पनि सहकारीहरुले प्रवाह गर्ने ऋणको अनुगमन गर्न जरुरी छ । ऋणीले आफ्नो सहकारीबाट लगेको ऋण त्यही शीर्षकमा खर्च गरेको छ कि छैन भनेर खोजी गर्नु अति आवश्यक भएको छ । त्यसो नगर्दा कति सहकारीहरुको लगानी डुबेको चर्चा गर्नुहुँदै परिकल्पनाले अनुगमन समिति बनाएरै यो अभियानलाई अगाडि बढाओस् भन्ने चाहना आफ्नो रहेको पनि प्रमुख अतिथि तिमल्सिनाको तर्क थियो ।
राज्यले सहकारीसम्बन्धी जुन नीतिहरु प्रतिपादन गरेको छ, त्यसलाई अक्षरस्तः सहकारीहरुले व्यवहारमा उतार्न आवश्यक छ । तब मात्र सहकारीहरु फैलिनसक्ने छन् र आफ्नो उद्देश्य प्राप्त गर्न सफल हुनेछन् भन्नुहुँदै सहकारी ऐन, कानूनले सहकारीकर्मीलाई व्यवसायिकतातर्फ आकर्षित गरेको छ । त्यसलाई परिकल्पना साकोसले पछ्याउने दाबी पनि प्रमुख अतिथि तिमल्सिनाले राख्नुभएको थियो ।
सम्बोधनकै क्रममा प्रमुख अतिथि तिमल्सिनाको थप कथन थियो– विधि र नीतिभित्र बाँधिएर खर्च व्यवस्थापन गर्न आवश्यक छ । श्रमिकहरुको श्रमलाई पनि सहकारीहरुले सम्बोधन गरिरहेका छैनन्, त्यसका बारेमा पनि सञ्चालकहरुले गम्भीर ध्यान दिन आवश्यक छ । सबै सहकारी अभियान्ताहरु सहकारी ऐन २०७४ भित्र बाँधिएका छौं । त्यसलाई लत्याउने हैसियत कसैको छैन । तसर्थ, आफ्नो संस्थाको विनियम बनाउँदा उपल्लो तहमा होइन, तल्लो तहमा रहेको शेयर सदस्य, कर्मचारीको अवस्था हेरेर बनाउन सकेमात्रै उपलब्धता हासिल गर्न सकिने खुलासा समेत प्रमुख अतिथि तिमल्सिनाको थियो । यदि हामी कानूनभन्दा बाहिर जान खोज्यौं भने हामीलाई कानूनले छोड्ने छैन । त्यसैले नीतिगत रुपमा कानूनको ख्याल राख्न पनि प्रमुख अतिथि तिमल्सिनाले सम्बोधनका क्रममा आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा सहकारी अभियान्ता एवं व्यवसायी उद्धवप्रसाद तिमल्सिनाको तर्क थियो– पछिल्लो समय सहकारीहरुको लगानी डुब्दै गएका घटनाहरुप्रति लक्षित गर्दै परिकल्पनाले के गर्दा आफ्नो लगानी सुरक्षित गर्न सकिन्छ, त्यही किसिमले विनियमहरु बनाउन आवश्यक रहेको धारणा राख्नुभएको थियो । यो नै आजको चुनौती बनेर आएको अतिथि तिमल्सिनाको कथन थियो । उक्त वार्षिक साधारण सभामा कार्यक्रमका अध्यक्ष एवं संस्थाका अध्यक्ष राधाकृष्ण श्रेष्ठको कथन थियो– परिकल्पना साकोसलाई १०औं वार्षिकोत्सवसम्म ल्याउन सम्पूर्ण शुभचिन्तक, शेयर सदस्यहरुले जुन भूमिका खेल्नुभएको छ, त्यसका बारेमा जति नै चर्चा गरेपनि अपुग रहने धारणा राख्नुहुँदै आज भन्दा झण्डै एक दशक अगाडी बनेपा बजारभित्र छरिएर रहेको सानो–सानो पूँजी संकलन गर्दै ऋण आवश्यक पर्ने सदस्यको खाँचो टार्दै र सामाजिक अभियानका साथै अन्य गतिविधिका साथ निरन्तर अगाडी बढ्ने क्रममा आज हामी एक दशक पार गर्न लागेका छौं । हाम्रो समाजमा पूँजी अथाह छ । त्यो व्यत्ति व्यत्ति विचमा छरिएर रहेको छ । त्यही छुट्टा छुट्टै रहेको सानो सानो रकम धेरै सदस्यबाट संकलन हुँदा ठूलो श्रोत बन्छ, त्यही श्रोतलाइ सही ढंगबाट परिचालन गर्न सकियो भने आफ्ना सदस्यहरुको आर्थिक उन्नति मात्र होईन, देश समृद्ध बनाउन मद्दत पुग्दछ । हामी यही दृढ विश्वासका साथ संस्था सञ्चालन गरीरहेका छौं । संस्थाको आफ्नो क्षेत्राधिकार निश्चित घेराभित्रको बाध्यता तथा विविध कारणले पनि सबै जनसमुदायसंग हातेमालो गर्न सकेका छैनौं । आशा छ हामी आउँदो वर्षहरुमा अझ संस्थागत कार्यक्षेत्र फराकीलो बनाई सबै नागरिकको समस्याका विचमा पुग्न सक्ने छौं भन्ने पनि विश्वास लिएको बताउनुभएको थियो ।
हामी हाम्रो सदस्यलाई खुशी पार्नु भन्दा पनि व्यवसायीक र राम्रा सदस्यलाई खुशी पार्न चाहन्छौं । जसले जे जस्तो आकारको व्यवसाय गरेको होस, अझ भनौं आर्थिक प्रगति गरीरहेको होस । “बचत र सीप पेशामा हुन्छ” भन्ने कुरामा हामीलाई विश्वास छ र त हामी त्यस्ता सदस्यलाई विशेष अवसर प्रदान गर्दै संस्थागत गतिविधिमा सक्रिय सहभागी गराउँन चाहन्छौं । सकृयता पूर्वक लाग्ने सदस्यहरुको लगनशीलताले संस्थाको प्रगतिमा सहयोग पुग्छ । सदस्यहरुलाई सेवामा ढिला नहोस भनेर संस्थाको काम गर्ने र गराउने शैलीमा समय सापेक्ष परिवर्तन गर्दै प्रविधिमैत्री बनाइएको छ । यो सफलता प्राप्त गर्नुमा सम्पूर्ण शेयर सदस्य तथा कर्मठ कर्मचारीको सहयोगले नै उपलब्धी हासिल भएको छ भन्ने विश्वास लागेको बताउनुभएको छ । परिकल्पनाको सेवा नाङ्लो पसलदेखि सपिङ कम्लेक्ससम्म फैलिएको यथार्थ यहाँहरुसामु अवगत नै छ । यो सेवालाई अझ बढी विस्तार गर्नु पर्ने दायित्व हाम्रो काँधमा आएको छ ।
धेरै भन्दा धेरै सहकारीहरुको बिचमा आफूलाई कसरी अम्बल बनाउने भन्ने कुरामा सरोकारवालाहरुसँग छलफल र समन्वय गरि राखिएकोे छ । देशमा हुने राजनैतिक उताव चढाब एवं आर्थिक मन्दीको समयमा जे जसरी र जुन रफ्तारले सहकरारी चल्नु पर्ने हो सोही अनुसार डो¥याउन हामी सफल भएका छौं भन्ने विश्वास यहाँहरुसामु राख्दछु । आर्थिक कारोबार गर्नु त्यति सहज भने छैन । सानो तिनो आर्थिक अभावले छटपटाइरहेका आफ्ना सदस्यहरुलाई कारोबार व्यवस्थीत ढंगबाट गर्नु र गराउनु आजको अपरिहार्यता पनि हो । सहकारीको कारोवारमा कहिलेकाहीँ “नदिए मुख बाङ्गो, दिए आफू नाङ्गो” भन्ने उखानलाई स्मरण गर्न बाध्य छौं । सदस्यले लेनदेन दुबै प्रकारको कारोबार गर्न पाउँछ तर कहिलेकाँही लिएकोलाई समयमै फिर्ता नहुँदा संस्थागत, व्यत्तिगत र सामाजिक प्रतिष्ठामा समेत सवाल उठ्ने गर्दछ । यो स्वभावलाई प्रत्येक सदस्यले निरुत्साहित बनाउदै जानु आजको आवश्यकता भएको छ ।
सहकारीको माध्यमबाट सामाजीक सेवाका कामहरु पनि हामीले गर्दै आएका छौं । आगामी दिनमा पनि सामाजिक दायित्वलाई अझ बढी व्यवहारिक रुपमा उठाउनेछौं । विपन्न, असहाय, बृद्धबृद्धा लगायतका सेवा देखी सामाजिक उत्तरदायित्व बहन पनि हामीले पूरा गरेका छौं भन्ने विश्वास लिएका छौं । हाम्रो संस्थाले कमाएको नाफाबाट देशलाई करको माध्यमबाट देश निर्माणको प्रकृयामा सहयोग पु¥याउन बल पुग्नेछ । राष्ट्र निर्माणमा सहकारीहरुको भूमिका निक्कै ठूलो छ तर राज्यले सहकारीलाई हेर्ने दृष्टिकोणमा केही संकुचन छ । राज्यले सहकारीलाई सहयोगी संस्थाको रुपमा लिनु आजको अपरिहार्यता हो । प्रत्येक सहकारीले राज्यलाई कर बुझाउँछन् तर पनि ति सहकारीहरुप्रति सरकार अभिभावक बन्न नसक्नु नै आजको प्रमुख चुनौती भएको छ । यो बौद्धिक उपस्थितिले यो विषयलाई सशक्त ढंगबाट उठाउने जमर्काे गरेको छु ।
अन्त्यमा साधारणसभा विगतको सवल पक्ष र दुर्वल पक्षको समिक्षा गर्दै अगाडी बढ्ने आधार पनि हो । हिजोको कामको समिक्षा गर्दै आगामी दिनमा नयाँ योजनाका साथ अगाडी बढ्नुपर्ने हुन्छ, यसका लागि विगत दिनहरुमा जस्तै सुझाव र सहयोगको अपेक्षा गरेको बताउनुभएको थियो ।
कार्यक्रममा उक्त साकोसका सचिव पूर्णचन्द्र सिग्देलको कथन थियो– केही सिर्जनशिल युवाहरुको सामुहिक प्रयासबाट “उज्ज्वल भविष्यको लागि आजैदेखि नियमित बचत गर्ने बानी बसालौं ।” भन्ने नारालाई मूल मन्त्र बनाई स्थापित यस परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाल्यकाल हुदै युवावस्थामा प्रवेश गरिरहेको छ । जव उमेर बढ्दै जान्छ दायित्व, कर्तव्य र भूमिका पनि त्यतिकै बढ्दै जान्छ । हो, संस्था पनि अहिले त्यही रफ्तारमा अगाडी बढिरहेको छ । यो संस्थाले विभिन्न आरोह अवरोह पार गरिसकेको छ । यस विचमा साह्रो गाह्रो देखि अप्ठ्यारो परिस्थिति समेत व्यहोरीसकेको छ । संस्था संचालनको एघारौं वर्ष पूरा हुन लाग्दा यसले थुप्रै अनुभव पनि सँगालेको छ । यो संस्था यति परिपक्वता तिर जान सक्नुमा हाम्रा अग्रज तथा पाहुनाहरुको अमूल्य सुझाव एवं शेयर सदस्यहरुको मुख्य रुपमा योगदान रहेको छ ।
सबै सदस्यहरुको सहकार्य हुन सकेन भने त्यो सहकारी हुन सक्दैैन । आर्थिक, सामाजिक, धार्मिक र साँस्कृतिक सहकार्य नै सहकारी हो । यसै विचारलाई सबै सदस्यहरुले मनन् गर्ने मात्र होईन बेलाबेलामा सुझाव सहितको निगरानी आवश्यक छ । यदि हामी सबै शेयर सदस्यहरु संस्था प्रति जवाफदेही र निगरानी गर्न सक्षम भयौं भने सहकारीहरुको भिडमा परिकल्पना साकोस अझ अब्बल सावित हुनेछ भन्ने कुरामा तपाईं हामी पूर्ण रुपमा विश्वस्त हुन सक्छौं भन्नुहुँदै सबल र सक्षम नेतृत्व दिनका लागि सबल र सक्षम सदस्यकै अहम भूमिका हुन्छ भन्ने कुरामा हामी कसैको पनि दुईमत छैन । राज्यले अगाडी सारेको तीन खम्बे अर्थनीति अनुसार एक खम्बा वित्तिय कारोवार गर्ने जनताको साथीको रुपमा सहकारीलाई लिइएको छ । पर्याप्त पूँजी वा जेथा नहुने आफ्ना असल र ईमान्दार सदस्यहरुलाई सरल र सहज ढंगबाट कारोवार गर्न सक्षम भएकै कारण आज देशमा सहकारी प्रति विश्वास दिन प्रतिदिन बढ्दो छ । सदस्यहरुको अपार मायाकै कारण हाम्रो सेवा दोबाटोको नाङ्लो पसलदेखि शपिङ्ग कम्प्लेक्स सम्म पुग्न सफल भएको छ । आर्थिक परिवर्तन मात्र होइन धार्मिक, साँस्कृतिक, सामाजिक, उत्पादन, वितरण र रोजगारी सिर्जनामा समेत सहकारीको सिद्धान्तलाई व्यवहारमा परिणत गर्दै अगाडी बढीरहेको छ । हामीले हाम्रा सदस्यहरुलाई कारोवार र लगनशिलताको आधारमा, कारोबारमा उत्कृष्ट हुने ज्येष्ठ सदस्य, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट वालबचत आदीलाई वार्षिक रुपमा सम्मान, सेयर सदस्यको छोरा छोरी मध्येबाट एसईईमा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई सम्मान गर्दै आईरहेका छौं । केही मापदण्डका अधारमा वालबचतमा वालवालिकालाई जन्म दिनमा केक वितरण गर्नु, क्षमता अभिवृद्धिका लागि तालिम, भ्रमण एवं संस्था स्थापना दिवस तथा चाडपर्व अनुसार सदस्य सेवाका केही सामाजिक कार्यक्रमहरु विगत वर्षदेखि नै निरन्तर गर्दै आइरहेको व्यहोरा सवैमा अवगत नै छ ।
विश्वव्यापी रुपमा फैलिईरहेको कोभिड १९ (कोरोना) का कारण नेपालमा पनि गत चैत ११ गते देखि भएको बन्दाबन्दी (लकडाउन) ले एकाध बाहेक सबैजसो उद्योग, व्यापार र व्यवसाय धारासायी हुँदा त्यसको प्रत्यक्ष असर आर्थिक कारोबार गर्ने वित्तिय संस्थाहरुलाई पनि पर्यो । समान्यतया असोज महिनाबाट मात्र वित्तिय संस्थाहरु तथा केही उद्योगले गति लिन थाले पनि अझै केही रुग्ण अवस्थामा छन । ति रुग्ण अवस्थामा पुगेका उद्योग तथा व्यवसायलाई राज्यले सहयोग गरेर चल्न दिने हो भने आर्थिक क्षेत्र उकासिन सहयोग पुग्छ र अर्थतन्त्र बलियो बन्छ । जव देशको अर्थतन्त्र मजबुत हुन्छ त्यहाँ भएका वित्तिय संस्था पनि बलिया हुन्छन् । यस तर्फ राज्यले ध्यान दिनु जरुरी छ ।
सहकारीलाई संख्यात्मक भन्दा गुणस्तरमा लैजाने र एउटै ढाँचामा संचालन गर्ने गरी राज्यले बेलाबेलामा ऐन कानून बनाउदै नियन्त्रण गर्न खोज्नु राम्रो कुरा हो तर सोही अनुसारको स्थानीय तहमा सहकारी हेर्ने एउटा डेस्क सम्म राख्न नसक्नुले सहकारी प्रति राज्य कति उदासिन छ भन्ने प्रस्ट हुन्छ । सदस्य बन्न कार्यक्षेत्र बाहिरकाले नपाउनु, संस्थाले लाभ गरेको रकममा धेरै प्रतिशतमा कर लगाउनु, नीतिगत व्यवस्थालाई फराकिलो बनाउनुको सट्टा खुम्च्याउंदै लैजाने वातावरणले पनि सहकारी प्रति राज्य उदासिन बन्दै गएको कुराको पुष्टि हुन्छ । जनताले आफूले संकलन गरेको रकम जनतामै सेवा विस्तार गर्ने भएकोले राज्य जवाफदेही बन्नुपर्नेमा उल्टै अंकुश लगाउने काम अन्त्य हुन जरुरी छ । सरकारले नयाँ ऐन र नियमावली जारी गरेको यति धेरै समय बिति सक्दा पनि पालिकास्तरमा सहकारी सम्बन्धि दक्ष कर्मचारी उपलब्ध नहुनुले पनि सहकारी प्रति राज्य संवेदनशिल छैन भन्ने संकेत हो । यतिमात्र होईन एकाध सहकारीले बदमासी गरे भन्दैमा सबै सहकारीलाई खराब देख्नु पनि राज्यको कमजोरी हो । त्यसैले राज्यले पनि सहकारीलाई राज्यको एक महत्वपूर्ण सहयोगी अंगको रुपमा व्यवहार गर्नु अपरिहार्य छ भन्नुहुँदै शेयर सदस्यहरुलाई आ.व. ०७७÷०७८ का लागि प्रस्ताव गरिएका नीति तथा कार्यक्रमका बारेमा गहन अध्ययन गर्नका लागि समेत सचिव सिग्देलले आग्रह गर्नुहुँदै थप कथन थियो– संस्थाको विभिन्न पदीय हैसियतमा रही सामुहिक सोच र सामुहिक हितको धारणाबाट संस्थाको उन्नति र प्रगतिमा महत्वपूर्ण योगदान गर्नुहुने सहकारीकर्मीहरु, बेलाबेलामा अनुगमन गरी रायसुझाव पेश गर्ने सरोकारवाला कार्यालयहरु, सम्पूर्ण सेयर सदस्यहरु, सदस्यको सेवाका लागि कर्मशिल भई काम गर्ने कर्मचारी साथीहरु एवं सञ्चारकर्मी मित्रहरुमा हृदय देखि नै ‘परिकल्पनाको चाहना सम्बृद्व सहकारी र सम्मुनत समाज हाम्रो चाहना’ भन्ने भावना प्रति सदैव प्रतिवद्ध हुने प्रेरणा यो गरिमामय साधारण सभाले दिने सुझाव र सल्लाहलाई शिरोपर गर्ने धारणा राख्नुभएको थियो ।
उक्त वार्षिक साधारण सभामा परिकल्पना साकोसका कोषाध्यक्ष एवं सहकारी अभियान्ता शम्भु पौडेलले आ.व. ०७७÷०७८ को वार्षिक आयव्ययका बारेमा धारणा राख्नुहुँदै हामीले व्यक्ति व्यक्ति विचमा रहेको स–सानो पूँजीलाई संकलन गर्दै कारोवार शुरु गरेको एघारौ वर्ष प्रवेश गर्ने अवसर जुरेको छ । जुन संभावना र उद्देश्यका साथ यो कामको आरम्भ गरियो, सबैको सद्भाव र सहयोगले लक्ष्य प्राप्ती तर्फ पनि उन्मुख भईसकेका छौं । सामाजिक सेवा र योगदानमा आधारित भएर शेयर सदस्यको सेवा गर्ने भन्दा पनि लाभ एवं नाफामा आधारित भएर चल्ने संस्थाहरु थुप्रै छन् । शेयर रकमको स्वार्थ भन्दा पनि सामाजिक स्वार्थ राखेका कारण छोटो समयमा नै हामी हाम्रा शेयर सदस्यहरुका बिचमा लोकप्रिय संस्थाको रुपमा स्थापित हुन पाउँदा खुशी लागेको छ । यो एक व्यक्तिको सहयोगले मात्र नभएर तपाई हामी सबैको संयुत्त प्रयासले मात्र सम्भव भएको कोषाध्यष पौडेलको तर्क थियो ।
जुन काम जहाँ र जसरी शुरु गरे पनि संभावना र चुनौती सँगसँगै आउने गर्छन् । असफलतालाई चिरेर सफलता प्राप्ती गर्न गरिने संघर्षले परिपक्व बनाउँछ । हामी विचमा असंकलित पूँजीलाई संकलन गर्दै खाँचो परेको शेयर सदस्यलाई परिचालन गरी व्यवसाय बृद्धिमा टेवा पु¥याउन सकियो भने नागरिक सम्पन्न बन्छ, नागरिक सम्पन्न बन्न सक्दछन् । भनेको देश सम्पन्न हुनु हो, यदि यसो हुन सक्यो भने हामीले परिकल्पना गरेको सम्बृद्ध नेपाल र सुखि नेपालीको लक्ष्य पूरा हुनेछ भन्ने विश्वास आफू लगायत संस्थाले लिएको कोषाध्यष पौडेलको धारणा थियो ।
सम्बोधनकै क्रममा कोषाध्यक्ष पौडेल थप्नुहुन्छ– सहकारीको अर्थ सहकार्य हो । समूहमा मिलेर काम गर्नुलाई सहकार्य भनिन्छ । परिकल्पना मार्फत तपाई हाम्रो सहकार्य शुरु भएको दशौ वर्ष पुरा हुन लागे देखि पनि धेरैसँग कारोवार सहकार्य भएको भने धेरै भएको छैन, तथापी सहकार्यको मित्रता दिन प्रतिदिन अझ फराकिलो, कसिलो र दर्विले बन्दै गएको छ र आशापनि छ यो सहकार्यले दिगो निरन्तरता पाउने छ । यदि हामीबाट मानवता हरायो भने यसको असर आर्थिक पक्षमा त ठूलो पर्छ–पर्छ तथापी कुनै पक्ष अछुतो रहन सक्दैन । हो हामी यसैमा बढी सचेत हुनु जरुरी छ । चुनौती विनाको काम केही पनि हुँदैन तर कारोवारको काम बढी चुनौतीपूर्ण छ । त्यसैले हामी सबैले हाम्रो समस्या जस्तै अरुको पनि हुन्छ, मेरो खाँचो टरेपछि अरुको पनि टारीदिनु पर्छ, भन्ने चिन्तन हामीमा भयो भने त्यहि नै सहकारीको सहि अर्थ सहकार्य हो ।
हामीले हाम्रा सदस्यहरुलाई सेवा थप गर्दै जाने लक्ष्य अनुसार कार्यालयको थप सुविधा सहितको वैज्ञानिकीकरण गर्दै लगिरेका छौं । हामी धेरै सहकारीहरुको भीडमा अब्बल सावित हुने गरी जुटीरहेका छौं । सोही अनुसार हामी अझ राम्रो र प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्दछौं भन्दै भावनाहरु कार्यक्रममा पोख्नुभएको थियो ।
त्यसैगरी लेखा तथा सुपरीवेक्षण समितिका संयोजक इन्द्रमणि न्यौपानेको तर्क थियो– निम्न वर्गिय जनताको जीवनस्तर उकास्न उ आफैले सक्दैन, उसलाई आर्थिक सहयोगको खाँचो पर्दछ । जतिखेर पनि उसलाई (सदस्य) खाँचो पर्छ । त्यतिखेर थाहा हुन्छ निरन्तर बचत र यसको महत्व, त्यसैले सहकार्य गर्न शेयर खरिद गरेरमात्र हुँदैन निरन्तर र नियमित बचत गर्न सक्नु पर्छ । आजको बचत भोलीको उज्वल भविष्यको आधार हो भने आजको लगानी भोलीको प्रतिफल पनि हो । त्यसैले स–सानो नै भए पनि निरन्तर बचत गर्न सक्यौं भने यसले भविष्यमा निकै ठूलो आवश्यकता पुरा गर्न सकिन्छ । हामी सबैले यस्तो सानो कुरा भनेर वेवास्ता गरिरहेका छौं । शेयर सदस्यले नियमित बचत गर्न सक्दैन भने उ सदस्य हैन लगानीकर्ता मात्र हो । सहकारीमा लगानीकर्ता हुँदैन शेयर धनी सदस्य चै हुन्छन् । त्यसैले निरन्तर बचत गर्नु अनिवार्य छ । नियमित बचत संस्थाको दोश्रो मूल सम्पति हो । शेयर सदस्यले आफ्नो खातामा नियमित बचत गर्नु अनिवार्य हुन्छ । यसरी नियमित बचत गर्न सकियो भने संस्थागत पूँजी वृद्धि हुन्छ । संस्थामा पूँजी वृद्धि हुनु भनेको संस्था सक्षम हुनु हो । संस्था सक्षम हुनु भनेको सदस्यहरु सक्षम एवं सवल हुनु हो भन्दै संयोजक न्यौपाने थप्नुहुन्छ– संस्थाले बेला बेलामा गरेका निर्णयहरु सबै पूरा हुन सकेका छैनन् । महत्वपूर्ण र जरुरी एवं असाध्यै सकारात्मक कामहरु पनि भएका छन् । तिनको प्रचार गर्न सकिएको छैन ।
त्यसले संस्थालाई अझ फाइदा पु¥याउन सक्ने थियो भन्ने विश्वास लिन सकिन्छ । सिमित सिमामा रहेरै भए पनि यसले सहकारीको मूल्य मान्यता र सिद्धान्तलाई पछ्याउँदै गएको छ । संस्थाको निर्णय र काम गर्ने शैली सामुहिक हुन जरुरी छ । वैठक भेला वा हरेक कार्यक्रममा हामी सबैको उपस्थीति र सहयोग अनिवार्य हुने गर्दछ । शेयर सदस्यहरुले वेला–वेलामा हाम्रो आफ्नो सहकारीले के कसो गर्दैछ हेर्ने, बुझ्ने र जान्ने गर्नु जरुरी छ । शेयर सदस्यले आफ्नो संस्था प्रति असाध्यै जवाफदेही हुनु पर्दछ । यदि सबै शेयर सदस्य सहकारी प्रति जवाफदेही हुने हो भने अन्य संस्थाहरुको तुलनामा हामी अब्बल सावित हुनेछौं भन्ने कुरामा कसैको पनि दुइमत नहोला । संस्था यो ठाउँमा आइपुग्न सम्पूर्ण शेयर सदस्य संचालक समिति र कर्मचारीहरुको भूमिका महत्वपूर्ण छ, र त यि उपलब्धीहरु हासिल भएका छन् भन्नुभएको छ ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |