काभ्रे (पनौती) । स्वच्छिक अवकाश योजनामा सहभागी शिक्षकहरुको सम्मान तथा बिदाइ कार्यक्रमलाई आइतबार सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले अबको शिक्षाको भविष्य सामुदायिक विद्यालयमा मात्र सीमित रहेको खुलासा गर्नुभएको छ ।
जति पनि राष्ट्र निर्माणमा लागिपरेका जनशक्तिहरु छन्, ति सबै सामुदायिक विद्यालयकै उत्पादन भएको तर्फ इंकित गर्दै कुनै कालखण्डमा केही प्राविधिक तलमाथि भएर सामुदायिक विद्यालयको पढाइमा केही गुणस्तरता खस्किएको यथार्थ हो तर अब ति दिनहरु स्मरण गर्न लायक हुने छैनन् । जति पनि उत्पादन सामुदायिक विद्यालयले गरेको छ, त्यसले नै यो राष्ट्र निर्माणमा आफूलाई समर्पित गरेको तथ्य हाम्रा सामु छ । आज यस नगरमा दरबन्दी मिलानका लागि जुन शिक्षकहरुबाट अनुकरणीय योगदान पु¥याउनुभएको छ, त्यो नगरपालिकाले कहिल्यै बिर्सनेछैन ।
आफ्नो पेशागत अवधि बाँकी हुँदाहुँदै नगरको आग्रहमा नगरलाई सहजीकरण गरेर गुण लगाउनुभएको छ । त्यो गुण ऋणमा परिणत भएको छ । नगर ऋणी भएको छ । तपाईंहरुले लगाएको ऋण अवश्य पनि तिर्नेछौं । त्यसैले यहाँहरुप्रति उच्च सम्मान व्यक्त गर्दै यहाँहरुको त्यो उर्जाशील समय जसरी विद्यालय व्यतित गर्नुभएको थियो, त्यसैगरी बाँकी जीवन सामाजिक उत्तरदायित्वमा समर्पित गर्नुहुनेछ भन्ने अपेक्षा नगरले लिएको छ भन्नुहुँदै प्रमुख अतिथि नगर प्रमुख न्यौपानेको कथन थियो– अझै पनि केही शिक्षकहरुले नगरले दिएको अवसरलाई लत्याउनुभएको छ, त्यो उहाँहरुका लागि महँगो पनि पर्नसक्ने दुखेसो पोख्नुहुँदै सामुदायिक विद्यालयको स्तरोन्नतीका लागि स्थानीय सरकारले भूगोल अनुसारको आवश्यक पर्ने नीति, विधि जुनसुकै कुराहरु पनि तय गर्नेछ । अब प्रधानाध्यापक हिजोको अवस्थामा काम चलाउ बन्न सक्दैनन् । आफ्नो विद्यालयको शैक्षिक गुणस्तरमा खेल्नुपर्ने भूमिकाको लागि समर्पित हुनुहुनेछ । राष्ट्रले तय गरेको सूचांकहरु पूरा भएनन् भने त्यसको जिम्मेवार सोही विद्यालयको प्रधानाध्यापक हुनेछ । त्यतिबेला प्रअले कुनै किसिमको आत्म आलोचना गरेर उम्किन सक्नेछैन । तसर्थ, यो अवस्थामा आफ्नो विद्यालयको शैक्षिक अवस्थालाई गुणस्तरयुक्त, प्रविधियुक्त र व्यवहारयुक्त बनाउनको लागि के–कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो त्यसका लागि नगरले आवश्यक सहयोग गर्न कञ्जुस्याईं गर्ने छैन ।
शिक्षालाई गुणस्तरयुक्त बनाउनका लागि क्षमतावान् शिक्षकहरु प्रावि दरबन्दीमा रहेता पनि उहाँहरुको श्रमको आधारमा नगरले विशेष टोकनको व्यवस्था गरी माथिल्लो कक्षाको पढाइमा गुणस्तरता प्रदान गर्नका लागि यो तदारुकता नगरस्तरमै अगाडि बढाउने लक्ष्य रहेको प्रमुख अतिथि नगर प्रमुख न्यौपानेको धारणा थियो ।
शिक्षकहरुलाई सम्मान गर्न पाउनु मात्र उपलब्धी नभएर उहाँहरुले समाजमा पु¥याएको योगदानको उच्च सम्मान पनि गर्नु हो । जुन शिक्षकहरुले आज नगरपालिकाको दरबन्दी मिलानमा अनुकरणीय भूमिका निर्वाह गर्दै समाज रुपान्तरणका बाहकको ओजश्वी प्राप्त गरेको पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले व्यक्त गर्नुभएको छ ।
जसका कारण नगरपालिका गतिशील बन्नका लागि एउटा ईट्टा थप्ने काम भएको छ । आज जुन किसिमको योगदान गरिरहँदा यो योगदानलाई इतिहासमा स्वर्ण अक्षरले अंकित गर्नेछ । तसर्थ नगरले यहाँहरुलाई जुन अवसर प्रदान गर्याे, त्यो अवसरलाई यहाँहरुले उपयोग गरेर जिउँदो सहिदका रुपमा आफूहरुलाई स्थापित गर्नु मात्र भएन कि शैक्षिक इतिहास रच्नमा अमूल्य योगदान समेत पु¥याउनुभएको अधिकृत अधिकारीको धारणा छ । यसबाट नयाँ पिढिँहरुका लागि प्रेरणा मिल्नेछ । जसको अनुशरण अन्य स्थानीय सरकारले मनन गर्ने विश्वास अधिकारीले लिनुभएको थियो ।
एउटै पेशाभित्र पनि विविध किसिमका विभेदहरुले शिक्षक पेशामाथि नै प्रश्न चिन्ह खडा गरेको अहिलेको अवस्थामा पनौती नगरपालिकाले यस किसिमका विभेदहरुको अन्त्य गर्नेछ भन्ने विश्वास स्वच्छिक अवकाश प्राप्त शिक्षक एवं शिक्षक नेता दुर्गासिं लामाले व्यक्त गर्नुभएको छ ।
सम्मानित शिक्षकहरुको तर्फबाट सम्बोधन गर्दै दूरदराजमा रहेका शिक्षकहरुका लागि आफूहरुले समय अगावै अवकाश लिएर दरबन्दी मिलानमा सहजीकरण गरेको बताउनुहुँदै नगरले जुन नीति अख्तियार गरेको छ, त्यसलाई सफल पार्नु पनि हामी शिक्षकको दायित्वभित्र पर्दछ । पदमै रहेर मात्र सेवा गर्नुपर्छ भन्ने छैन, पदभन्दा बाहिर रहेर पनि अभियानलाई सार्थक बनाउन सकिन्छ । जसका लागि आज हामी शिक्षकहरुले त्याग गरेका छौं । जुन त्यागले पनौती नगरपालिकाभित्रको दरबन्दी मिलानमा सहजता मिल्नेछ । पेशागत हिसाबबाट हेर्ने हो भने सम्मान रकम केही होइन तर केही हो । फूलको थुँगा पनि सागरभन्दा ओजिलो हुन्छ उपहार, यो उपहार मात्र केही होइन । इतिहास रच्ने अवसर दिनुभएको छ स्थानीय सरकारले, जो कोहिका लागि यो अवसर मिल्दैन ।
शिक्षकहरुमाथि राज्यद्वारा गरिएको विभेदलाई पनौती सप्ताहले अन्त्य गर्ने विश्वास राख्नुहुँदै शिक्षक लामा थप्नुहुन्छ– श्रम ऐनमा व्यवस्था भए बमोजिम आयाका रुपमा नियुक्ति लिएका शिक्षकहरुलाई सम्बोधन पनौती नगरले गर्नेछ । जुन किसिमको विभेदको अन्त्य गरेर हामी शिक्षकहरुको तर्फबाट स्थानीय सरकारहरुलाई पनि यसैगरी सम्मान गर्ने अवसर पनौती नगरबाट सुरु हुने विश्वास शिक्षक लामाले व्यक्त गर्नुभयो ।
कार्यक्रममा न्युनतम २ लाख देखि ३ लाख सम्म प्राप्त गर्नुहुने १५ जना शिक्षकहरुले स्वच्छिक अवकाश लिनुभएको छ । जसबाट नगरपालिकाले झण्डै ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनौती नगर शिक्षा शाखाले कार्यक्रममा बताइएको थियो । सम्मानित हुने शिक्षकहरुका लागि चेक, दोसल्ला र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |