Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जीवन मृत्युको अनुभूति भएको मैनापोखरी मोर्चा

प्रभातफेरी अनलाइन ७७९ पटक पढिएको प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (३ साल अघि)
जीवन मृत्युको अनुभूति भएको मैनापोखरी मोर्चा

डम्बर थामी “अनुपम”
हिजो कर्णाली र नाईल जस्तै लामो यात्रा तय गरेको । याङ त्से नदी जस्तै गडगडाएको । तर आज खहरे जस्तै बीचैमा सुकेर एकाएक निरस–निर्जन बगरमा परिणत भएको । त्यो अकलुषित–अदम्य क्रान्तियात्राको अनुभूतिको दैलो उघार्दैछु । म त्यो अदम्य जनक्रान्तिको एक फकिर–मुसाफिर । क्रान्तिनायकको आदेश आउने बित्तिकै हूरी झैं हुत्तिने एक संवेद्य बरकरार–छापामार । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पाठ घोकेको नूतन–नविनतम विद्यार्थी । द्वन्द्वात्मक भौतिकवादी दर्शनले लठ्याएको एक बहुलट्ठी । व्यक्तिगत स्वार्थको परिहार गरी सामूहिक स्वार्थको लागि पूरानो राज्यसत्ताको मुटुमै प्रहार गर्न हिंडेको एक लडाकु । कम्युनिस्ट आचरण र सिद्धान्त दिल दिमागमा अटाएको एक जोदाहा योद्धा । नयाँ नेपाल निर्माण गर्न चाहने आन्दोलनको एक नामी–ज्यामी । मुटुमा देश र जनताको माया सजाएर हिंड्ने अथक क्रान्तियात्री । ती महासमरको दौरानमा दौडिएका असीमित आनन्दानुभूति । खोकिलामा मृत्युको गोटी बोकेर हिंड्ने पूर्खाको विरासत बोकेको एक महामूर्ख । टाउकोमा सहिदको रगतले लतपतिएको झन्डाको कफन बाँधेर हिंड्ने लाल दस्ताको एक सिपाही । सफरका अनगिन्ती यादहरू । यही शिलशिलामा एक आल्हादित मृत्युको अनुभूति भएको मोर्चाको बेलीबिस्तार लगाउन गईरहेको छु ।
सय थुम्काको पहिचान बोकेको शैलुङ्को काखमा अवस्थित । सुन्दर प्रकृतिको गादोमा लुकेको घ्याङसुकाठोकरको कुने गाउँ । तामाङ समुदायको बाहुल्यता । अनि हाम्रो आधार ईलाका । ठूलो हृदय भएका जनताको बस्ती । क. परवानाको कमान्डमा भर्खर निर्माण भएको अस्थायी कम्पनीको फर्मेशन । (जुन कम्पनी पूर्वी कमान्डकै सबै जिल्लाहरूको स्क्वायडबाट साथीहरू छनौट गरी बनाईएको थियो । नियमित फर्मेशन चाहिँ छ जिल्लाको तीन प्लाटुन थियो ।) सो कम्पनीलाई क. कन्चनले दिएको भावोत्तेजक प्रशिक्षण । नयाँ फौजी योजनाको महत्त्व । भर्खरै पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले विचार संश्लेषण गरेको अजनवी पथ ‘प्रचण्डपथ’ । फौजी रणनीति ‘दुश्मन जहाँ टेक्छ, त्यहीँ पड्कने’ यी मुख्य दुई रणनीतिक मक्सद । कार्यनीतिक ट्याक्टिस भूगोल, परिवेश र समयानुकूल । “महान् अग्रगामी छलाङ, इतिहासको अपरिहार्य आवस्यकता” शिर्षकको उथलपुथलकारी दस्तावेज । धक्का, क्रमभङ्ग, छलाङ्ग र महाविपत्तिबाट गुज्रिदै जाने मार्गतय । जताततै माक्र्सवाद– लेनिनवाद– माओवाद र प्रचण्डपथको ब्याख्या, विश्लेषण र महिमामण्डन । आकाश धर्तीमा खस्ला जस्तो । धर्ती आकाशमा उड्ला जस्तो । अब त छिट्टै जनवादी घाम उदाउला जस्तो स्थिति । प्रचण्डपथ बारे लेखिएका हाम्रा नेताहरूका लेखहरू डायरीमा सारेर राख्दाको हैरानी आफ्नै ठाउँमा छ । तत्कालीन अबस्थामा सेक्सन कमान्डरको जिम्मेवारी । (त्यतिबेला सेक्सन कमान्डरको काम टार्गेटको रेक्की गर्ने र एसाल्ट कमान्ड गर्ने हुन्थ्यो । प्रायः सेक्सन सह–कमान्डरले सेक्सन चलाउँथ्यो । लडाइँमा एसाल्ट कमान्ड गर्ने हुन्थ्यो । लडाइँ जित्नु र हार्नु एसाल्ट कमान्डरहरूकै साहसमा भर पथ्र्यो ।) फौजी योजनाको पहिलो धक्का सफल पार्न दोलखा–सिन्धुपाल्चोकको थुप्रै चौकीहरूको रेक्की सक्ने काम गरियो । जिल्ला पार्टीसँग सहकार्य गरेर युद्ध सामाग्री र खाद्यान्नको जोहो पनि भईरहेको थियो । एक चरणको रेक्कीको काम सकेपछि क. परवानाको उपस्थितिमा रेक्की समीक्षा सकियो । र टार्गेटको छनौट भयो । टार्गेट दोलखा जिल्लाको मैनापोखरी स्थित ईलाका प्रहरी कार्यालय थियो । अत्यन्त बलियो फोर्टीफिकेशन । दंगा नियन्त्रण गणबाट ल्याईएको फोर्स । तत्कालीन शाही सेनाले तालिम दिएको फोर्स । र लडाइँको थप जटिलता के थियो भने चौकी वरिपरि माइन पनि विछ्याइएको थियो । तर रेक्कीको निष्कर्ष के थियो भने उसको फोर्टीफिकेशन एउटा सुन्दरीले झरिझुट्ट गहना लगाए जस्तो मात्र भएको । हाम्रो तागतले फोर्टीफिकेशन सजिलै तोड्न सकिन्छ भन्ने थियो ।
टार्गेट छनौट भएपछि विभिन्न चरणमा सबै एसाल्ट कमान्डरहरूले रेक्की गर्ने काम सम्पन्न ग¥यौं । तीव्र गतिमा युद्ध सामग्रीहरू जुटायौं । र हाम्रो फोर्स घ्याङसुकाठोकर, शैलुङेश्वर, फस्कु, काटाकुटी हुँदै मागादेउराली आईपुग्यो । मागादेउरालीमा पनि केही युद्ध सामग्रीहरू निर्माण गरियो । त्यसपछि रातारात चरंगे खोला तरेर चरिकोट सदरमुकाम नजिकैबाट मकैबारी–सुस्पा देउराली हुँदै कालिन्चोकको काखमा लुट्पुटिंदै लापिलाङको गुजर्पा हुँदै जार्नापाले पुगियो । जार्नापाले पुगेपछि सुईरेको चौरमा म्याप बिफ्रीङ, एसाल्ट ग्रुपहरू निर्माण गरियो । र डमी क्याम्प बनाएर ब्याटल रिहर्सल पनि गरियो । आफू जन्मेको भूमिमा लालसेनाले परेड खेल्दा छुट्टै उमंग थपिएको थियो । जनवादी व्यवस्था आएपछि जनमुक्ति सेनाको एउटा ब्यारेक यहीँ बनाउनुपर्छ भन्ने पनि लागिरहेको थियो । एसाल्ट ग्रुप बनाउने क्रममा क. शिशिर र मेरो बीचमा हानाथाप प¥यो । मैले एक नं एसाल्टको जिम्मेवारी लिन खोज्दा क. शिशिरले एक नं एसाल्ट नपाएमा लडाइँ नै लड्दिन भनेर जिद्दी गरेपछि मैले दुई नं एसाल्टको जिम्मेवारी लिएँ । मर्नको लागि पनि तँछाडमछाड हुने के जादु थियो होला त्यतिबेला ? स्थानीयताको हिसाबले मुख्यतः हाम्रो प्लाटुनले नै मोर्चाको मुख्य पहलकदमी लिनुपर्ने थियो । अरु फोर्स त तराईबाट र सकेसम्म पूर्वी कमान्डका सबै जिल्लाहरूका स्क्वायडका साथीहरू पनि छनौट गरेर ल्याईएको थियो । सात वटा एसाल्ट ग्रुपहरू, स्टप ग्रुपहरू, माईनिङ ग्रुपहरू, भि. जि. पी. ग्रुपहरू, माइनको तार काट्ने ग्रुपहरू बनाईयो । र आर्कहरू पनि विभाजन गरियो । पर्याप्त मात्रामा डमी क्याम्प बनाएर रिहर्सल गरियो । हतियार विन्यास गरियो । यति गरेपछि हामीहरूमा छुट्टै खालको रक्तसञ्चार भईरहेको थियो । सबै एसाल्टहरू जुर्मुराईरहेका थिए । सही विचार र वस्तुवादी योजना भएपछि मान्छे मर्न पनि पछि नपर्दोरहेछ । त्यसपछि लामिडाँडाको बिसमूरे पुगेर सेल्टर लिईयो । त्यहाँ पनि केही टि.एन.टि. माइनहरू, माना पाथी माईनहरू, कचौरा माइनहरू, ईलेक्ट्रीक ग्रिनेडहरू बनाईयो । र थप म्याप ब्रीफिङ पनि गरियो । (त्यो बेलामा दोलखा सिन्धुको पूरै जिल्ला पार्टी पनि जुटेको थियो । संयोगवश चर्चित नेता क. रित बहादुर खड्का पनि जिल्लामै थिए ।) त्यसपछि २०५७ साल चैत्र १८ गते बेलैमा खाना खाएर साँझ पर्दा नपर्दै हाम्रो टोली मुभ भयो । तामाकोसीको झोलुङ्गे पूल तर्दै गर्दा मन एकतमासको भईरहेको थियो । हाम्रो लक्ष्य पनि पूलमुनी बगिरहेको नदीको पानीको जस्तै थियो । पूल तरेर जुँगुमा मा पुगेपछि अन्तिम सेल्टर लिईयो । र योजना बचाउनको लागि अति गोप्य तरीकाले बसियो । योजना खुल्छ कि भन्ने ठूलो चिन्ता थियो । किनकि रेक्की गर्दागर्दै एक जना प्लाटुन कमान्डर डराएर भागेका थिए । त्यसले गर्दा पनि सा¥है चिन्ता थपिएको थियो । क्रान्तिमा विभिन्न खालका मान्छेहरू भेटिँदारहेछन । (तिनै मान्छेहरू अहिले बहादुर र अब्बल क्रान्तिकारी देखिएकाछन । नवधनाढ्य भएका छन् ।) सम्झँदा हाँस उठ्छ कि रिस उठ्छ ! छुट्याउन पनि गा¥हो । क्रान्तिको भोगाइ यस्तै हुने !
२०५७ साल चैत्र १९ गते । हाम्रो जिन्दगीमा छुट्टै खालको आनन्द आएको क्षण । माथि चेर्दुङ र हनुमन्ते डाँडा । हामीमा पनि हनुमानकै जस्तो बल भरिएको आभाष । साँझ पर्दा नपर्दै हाम्रो फोर्स जुगुबाट हिंड्छ । यबोमा पुगेपछि रोकिन्छ । र अन्तिम रेक्कीको लागि साथीहरू जान्छन् । तर आधा रात बितिसक्दा पनि अन्तिम रेक्कीको केही खबर आउँदैन । (खबर नआएको कारण चौकी सुनसान रहेछ । पुलिसहरू कतै अलआउट भए कि भन्ने शंका गर्दागर्दै समय बितेछ । आखिर उनीहरू जाँड खाएर सुतेका रहेछन् । पछि मात्र थाहा भयो ।) हामी जबर्जस्त ब्याटल फर्मेशनमा अगाडि बढ्छौं । बाटामा फेरी लगाउने जोगी भेटिन्छ । र हल्ला नगर भन्छौं । रातको एघार बजे फायर खोल्ने योजना थियो । तर हामी धेरै ढिला भईसकेका हुन्छौं । सबै एसाल्टहरूले चौकीलाई चारैतिरबाट घेरेपछि सवा तीन बजे क. शिशिरको एसाल्टले पहिलो फायर खोल्छ । र हाम्रो दुई नं एसाल्टले हावाको गतिमा गएर अगाडिको मुख्य बंकरमा माइन विस्फोट गर्छ । (यो बंकरमा माइन बिस्फोट गर्ने हाम्रै गाउँको एउटा काजी पाण्डे भन्ने भाइ थियो । त्यो बंकर कस्तो थियो भने दुई ईन्च बाक्लो फलामको पाता राखेको । गाडीको टायर राखेको । र बाक्लो स्यान्डबोरीको मजबुत बंकर थियो । यसलाई एकै झड्कामा तोड्नु थियो ।) मुख्य अनि मजबुत बंकर तोडेपछि दुश्मनहरू हायलकायल हुन्छन । चिच्याउँछन, कराउँछन । अन्धाधुन्ध फायर गर्छन् । हामीले पनि तीव्र रुपमा हमला गरिरहन्छौं । हाम्रो एसाल्टले चौकीको अगाडिको भागलाई छिट्टै नियन्त्रणमा लिन्छ । केही राईफलहरू टिपेपछि म एउटा हातमा टर्च र एउटा हातमा राईफल लिएर सर्च गर्दै अगाडि जान्छु । लडाइँ भीषण रुपमा चलिरहेकै छ । बाहिरपट्टिको किचन भित्रबाट छिचोलिएको टनेल हुँदै अगाडि बढ्दै जाँदा एउटा पुलिस ढलेको देख्छु र उसको राइफल टिप्न खोज्छु । त्यहाँ एउटा टि.एफ.जी. पनि बलिरहेको छ । जब राईफल हातले उठाउन खोज्छु तब ठूलो आवाजमा राइफल पड्किन्छ । र मलाई कमिलाले चिले जस्तो हुन्छ र एक्कासि रगतको धारा बग्न थाल्छ । रिंगटा लाग्छ । चारैतिर रातो, कालो, नीलो, पँहेलो देख्छु । खलखल पसिना आउँछ । के भयो ? के भयो ? जस्तो हुन्छ । उभिन सक्दिन र त्यही ढलेको पुलिसको लासमाथि पल्टिन पुग्छु । खप्टिन पुग्छु । यसो पछाडि छाम्दा देब्रे हिपमा आफ्नो हातै छिर्ने प्वाल भेट्टाउँछु । कम्ब्याट पाईन्ट पनि गोलीले ठूलो भ्वाङ पारेको हुन्छ । बल्ल पो मलाई गोली लागेछ भन्ने थाहा हुन्छ । पेटबाट गोलीले छिचोलेर देब्रे हिपबाट निस्केछ । त्यो चौकीको भित्ताको बंकरबाट हानेको गोली रहेछ । त्यो गोप्य भूमिगत बंकर रेक्कीमा आउन सकेको थिएन । दुश्मनले अझै पनि म ढलेको ठाउँमा एकोहोरो फायरिङ गरिरहेकै छ । आफ्नै एसाल्टको साथीलाई मलाई गोली लाग्यो भनेपछि कभर फायर दिएर बल्लतल्ल सुरक्षित स्थानमा घिसार्दै ल्याउँछन । त्यसपछि पो म निस्लाम निदाउन पुगेछु । र आल्हादित मृत्युको डुंगामा सैर गरेछु । कहिले ब्युँझंदा रहेछु । कहिले मर्दो रहेछु । यस्तै प्रक्रियालाई स्वर्गमा पुगेको भन्छन् होला सायद ! यस्तै क्रम–उपक्रम चलिरहँदो छ । अझै पनि गोलीहरू जोड–जोडले पड्किरहेका थिए । हाम्रो एसाल्टहरूले फायर गरिरहेकै थिए । उज्यालो हुनै लागेको थियो । समय प्रतिकूल हुँदै थियो । हृदयमा लडाइँ हारिन्छ कि भन्ने चिन्ता लागिरहेको थियो । उज्यालो हुन लागेपछि पुलिसहरू छतमा बसेर पशुपतिनाथको जय ! भनेर नारा लगाउन शुरु गरिसकेका थिए । किनकि उज्यालो हुन लागेपछि उनीहरूको मनोबल बढ्दै गईरहेको थियो । क. क्षीतिजको टोलीले सामान्य ब्याण्डेज गरेपछि साथीहरूले मलाई बोकेर हिंडाए । एकछिन पछाडि छ्याङ्गै उज्यालो भयो । घाम उदायो । आकाशमा चील उडे झैं हेलिकप्टरले फन्का मार्न थाल्यो ।
साथीहरू पनि रिट्रीट हुन लागे । लडाइँ पूरै फाइनल हुन सकेन । अर्को घरको छानामा चढेर बाँसको टाँगोबाट चौकीको छतमा पाथी माइन हान्ने क. लालबीर तामाङ (सज्जन) को अर्को घरभित्रै शहादत भयो। क. धर्मेन्द्र र एसाल्ट कमान्डर क. जितेन्द्रको पनि शहादत भयो । प्लाटुन सह कमान्डर क.पहल गम्भीर घाइते भए । त्यतिबेला हाम्रो प्लाटुन कमान्डर चाहिँ क. मुक्ति थिए । जिल्ला सचिवालय सदस्य क. दिनेश र क.विक्रम पनि घाइते भए । (यो मोर्चामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने क. रित बहादुर खड्का र क. दिनेशको पनि शहादत भईसकेको छ ।) मोर्चामा आठ जना पुलिसको मृत्यु भयो । आठ थान ३०३ राइफल कब्जा भयो । दुश्मनलाई नियन्त्रण गर्न नसक्दा आत्मसमर्पण गरेको पुलिसले पनि भागेर माथि छतमा गएर ग्रिनेड हान्यो । लडाइँ नापे तौले जस्तो अवस्य नहुने रहेछ । मैले के संकल्प गरेको थिएँ भने कि सहिद हुन्छु ! कि कुशल कमान्डर बन्छु । तर त्यो दुई मध्य केही पनि हुन सकिँन । अधमरो मात्र भएँ । मेरो सपना अधूरै भयो । जिन्दगी मधुरै भयो । उज्यालो भएपछि यस्तै अधमरो जिन्दगीहरूलाई बोकेर हाम्रो टोली माथि डाँडामा उक्लेर क्षेत्रपाको ओरालो झर्दै जुगुतिर लाग्यो ….।
पछि एउटा रोचक पक्ष के सुनियो भने घाइते साथीहरूलाई उपचार गर्नको लागि गएको एक जना स्वास्थ्यकर्मीलाई उल्टै बोकेर ल्याउनु परेको । र पूर्वबाट लडाइँ लड्न आएकी एक जना महिला कमरेड फायर खुलेपछि बेहोस भएर ढलेको र घाम उदाएपछि मात्र ब्युँझेर घटनास्थलबाट हिंडेको । तर पछि तिनै कमरेड जनमुक्ति सेनाको अब्बल कमान्डर बनेको । लडाइँका यी रोचक पक्ष हुन । झट्ट सुन्दा चाहिँ हाँसो पनि उठ्छ । लडाइँका तीतो यथार्थ हुन यी ।
पुनश्च ः अन्तिम रेक्की स्पष्ट र एकिन गर्न नसक्नु । ढिला आक्रमण हुनु । पूरै चौकी कब्जा गर्न नसक्नु । लडाईंको मुख्य कमजोरी रह्यो । तर बलियो फोर्टिफिकेशन तोडेर जनमुक्ति सेनाको मनोबल उच्च हुनु । फौजी श्रेष्ठता हाँसिल गर्नु । अरु ठूल्ठूला फौजी आक्रमणको ढोका खुल्नु । फौजी आक्रमणमा नयाँ साथीहरू सहभागी गराएर फौजी आक्रमणको अनुभव गर्नु । यही मोर्चापछि जनमुक्ति सेनाको स्थायी कम्पनीको संरचना बन्नु । मोर्चाको मुख्य र दूरगामी उपलब्धिहरू थिए । क्रमशः

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
लेख सम्बन्धि थप
  • Post Thumbnail

    अहिलेको बहस नाराको शासण कि नीतिको शासन

  • तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

    तत्कालीन अवस्थामा जनबिद्रोह किन भयो ? बहस गरौं !

  • Post Thumbnail

    देश विदेशमा आफूलाई चिनाउन सफल मोहन दुवाल

  • मार्साबको आधा घण्टा

    मार्साबको आधा घण्टा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0