logo
२०८३ आश्विन ७, बुधबार |
📰
🔍

गरिबी न्यूनिकरणमा यस्ता तालिमहरु कोसेढुंगा सावित हुनेछन् ः प्रमुख भण्डारी

प्रभातफेरी अनलाइन९४० पटक पढिएको | २०७९ आश्विन ५, बुधबार
गरिबी न्यूनिकरणमा यस्ता तालिमहरु कोसेढुंगा सावित हुनेछन् ः प्रमुख भण्डारी

काभ्रे । पनौती प्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा हेल्भेटास र पनौती नगरपालिकाको संयुक्त आयोजनामा हुन गइरहेको दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तर्गत कार्यगत अभ्यास सहितको तालिम कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले स्वरोजगार बन्नका लागि यस किसिमका तालिमहरु कोसेढुंगा सावित हुने बताउनुभएको छ ।
इच्छाशक्ति हुनुपर्छ, असम्भव भन्ने कुराहरु शब्दकोशमा पनि छैनन् । आफ्नो समुदायका लागि, समृद्ध मुलुकका लागि र परिवारलाई समृद्ध बनाउनका लागि पनि सिक्नुको विकल्प छैन । तब विधिमा रहेर अगाडि बढियो भने आफैं रोजगारदाता बन्न सकिन्छ । सिकाइ बिनाको जीवन अर्थविहिन छ । तसर्थ, आजका युवाहरुका लागि नगर जुनसुकै कार्यमा पनि सहकार्य गर्न तयार छ । जसले समृद्ध नगर निर्माणका लागि आफूलाई समर्पित गर्न चाहन्छ । त्यसैको एउटा पाटोको रुपमा यो अभियानलाई अगाडि बढाएका छांै नगर प्रमुख भण्डारीले सम्बोधनका क्रममा प्रष्ट्याउनुभएको छ ।
professional Light Vehicle Mechanic नाम दिएको उक्त तालिमलाई सम्बोधन गर्दै प्राविधिक शिक्षालयका प्रमुख जेन्दी बादेले मनोवृत्ति, कौशल र ज्ञानलाई सँगसँगै जोडेर लैजाने लक्ष्यका साथ यो तालिम अगाडि बढाइएको छ । जसले प्रशिक्षार्थीहरुलाई सीप र श्रमसँग जोड्नेछ । तब मात्र राज्यले प्रतिपादन गरेको सुखी नेपाली समृद्ध नेपालको नाराले सार्थकता प्राप्त गर्नेछ भन्नुहुँदै यहाँहरुलाई जुन तालिम दिन गइरहेका छौं, त्यो तालिममा राज्यको ठूलो लगानी छ । तर तपाईंहरुलाई निःशुल्क त हो नि भन्ने लागेर हेल्चेक्र्याईं गर्नुभयो भने त्यो तालिमको सार्थकता रहनेछैन । एक जना प्रशिक्षार्थीका लागि झण्डै राज्यकोषको ७० हजारभन्दा बढी लगानी हुने यो तालिमले दक्ष जनशक्ति मात्र उत्पादन गर्दैन, एउटा रोजगारदाता समेत जन्माउनेछ । यो तालिमलाई लेभल २ को तालिम भनेर प्रमाणित गरिएको छ । भन्न खोजिएको यो तालिम प्राप्त गर्दा +२ बराबरको मान्यता प्राप्त गर्नुहुनेछ । जसले वैदेशिक रोजगारीका लागि समेत उपयुक्त मार्ग प्रशस्त गर्नेछ भन्दै सहभागी प्रशिक्षार्थीहरुलाई तालिमले भावी दिनमा छोड्ने सकारात्मक पक्षका बारेमा समेत शिक्षालय प्रमुख बादेले प्रष्ट्याउनुभएको छ ।
उक्त कार्यक्रममा सहायक शिक्षालय प्रमुख मृगेन्द्र प्रधानको कथन थियो– एक वर्ष अथवा १६ सय ९६ घण्टाको तालिम प्राप्त गर्नु भनेको एउटा काँचो माटोलाई सक्षम बनाउनु हो । जसले समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने कुशल प्राविधिक जन्माउनेछ भन्नुहुँदै तालिम, तालिमको लागि मात्र सीमित नबनोस्, यसले समाजमा रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलोस् भन्ने कामना समेत आफूले राखेको प्रधानको तर्क थियो ।
कार्यक्रममा सहायक प्रशिक्षक भुवन महर्जन, वडा अध्यक्ष भिम आचार्य, नगर शिक्षा इकाई महेश्वर जंगम, इन्स्योर हेल्भेटास नेपालका प्रतिनिधि गंगा विश्वकर्मा, रक्षा आचार्य लगायतले तालिमको महत्व र यसले छोड्ने दूरगामी प्रभावका बारेमा चर्चा गर्नुभएको थियो ।
सोहि अवसरमा २४ महिने प्रि–डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङ्ग Hire an Apprentice Day को समेत शुभारम्भ गरिएको छ । सो कार्यक्रमको आयोजना पनौती प्राविधिक शिक्षालयले गरेको छ भने प्राविधिक सहयोग हेल्भेटास नेपालले गरेको छ । यस कार्यक्रममा जिल्लामा रहेका विभिन्न अटोमोबाइलसँग सम्बन्धित प्राविधिकहरुको सहभागिता रहेको छ ।