आधुनिक नेपाली कवितामा स्वच्छन्दतावादी धाराबाट प्रभावित यथार्थवादी प्रगतिशील कवि हुन् – सिद्धिचरण श्रेष्ठ । वार्णिक छन्दमा सरल ढङ्गमा मान्छेका व्यथा फुकाल्न सिपालु कवि हुन् – सिद्धिचरण श्रेष्ठ । सिद्धिचरण श्रेष्ठले थुप्रै कविताहरुमा मान्छेका जीवन–उत्सर्गहरु, देशको दयनीय अवस्था र परिवेशका प्रसङ्गहरु र अन्याय, थिचोमिचो, असमानताका नराम्रा व्यवहारका रेखाङ्कनहरु सुन्दर शैलीमा कोरेका छन् र ओखलढुङ्गाजस्तो जीवन्त कविता लेखेर आफ्नो मातृभूमिको मुक्तकण्ठले गीत गाएर अरुलाई प्रभावित गरेका छन् । विश्वव्यथाका मर्मज्ञ कवि यिनले मानवीय संवेदनाहरुलाई आफ्ना कविताका हरफहरुमा जीवन्त बनाएका छन् । मेरो प्रतिबिम्बका सफल कवि यिनले जीवन र जगत्को सुन्दर तस्वीर खिचेर मान्छेलाई मन्त्रमुग्ध बनाएका छन् । मङ्गलमानमा चोखो भावना पोख्ने क्रान्तिकारी कवि यिनले स्वाभिमानी मान्छेहरुको गीत गाएर इन्कलाबको गीत गुन्जाएका छन् । चेतको कविता गुन्गुनाउने स्वतन्त्रताप्रेमी कवि, न्यायका पक्षपाती कविका रुपमा परिभाषित गर्न सकिने कवि सिद्धिचरणका लागि हुतिहारा, नामर्द, नकचरा मान्छेहरु मूर्दातुल्य हुन्छन् । त्यसैले कवितामा उनी मान्छेसँग प्रश्न राख्दै यसरी मान्छेलाई नियाल्छन् ः
केही हारेझैं, केही बिर्सेझैं
को त्यो पथमा आइरहेको !
कुकुरजस्तै लुरुलुरु हिंड्दै
दुर्बलताले पीर निखन्दै,
को त्यो पथमा आइरहेको !
यसरी मान्छेलाई हेर्न सफल कविका मनमा सधैं सिङ्गो नेपाली समाजको दुर्दशा र मानवीय सङ्कट, अप्ठ्यारा क्षणहरु प्रतिबिम्बित छन् भनेर उनका अधिकांश कविताहरुले बताइरहेका छन् । कविवर सिद्धिचरण श्रेष्ठले नेपाली र नेपालभाषामा थुप्रै कवितासङ्ग्रहहरु, खण्डकाव्यहरु र फुटकर कविताहरु लेखेर कवितामा निकै उच्चस्तरको सेवा र योगदान पु¥याएर गएका छन् । उनले आफ्नो जीवनको धेरै क्षण कविता लेख्न, कविता सोच्न र कविता खोज्न बिताएका छन् । त्यसैले उनको कविजीवन मुखरित भयो । देवकोटा र लेखनाथको पन र शैलीभन्दा अलग्ग रहेर, अलग्ग पहिचान र कविव्यक्तित्व देखाउन सफल सिद्धिचरण श्रेष्ठका कवितामा युगबोध, जीवनका उत्सर्ग, न्यायप्रतिको आग्रह, अन्याय र बेथितिप्रतिको अनास्था व्याप्त छ । उनका कवितामा समाजप्रतिको दायित्वबोध, देशप्रतिको इमानदारी र जनताप्रतिको आस्था र विश्वास व्याप्त छन् । देवकोटाका कवितामा देखापर्ने क्लिष्टता र लेखनाथका कवितामा पाइने प्राचीनताभन्दा अलग्ग रहेर उनले सरल शैलीमा कविताहरु कोरेका छन् ।
कवितामा जीवन– उत्सर्गहरु सम्प्रेषण गर्न सिपालु यी कविले देशमा व्याप्त बेथिति, असमानता, अँध्यारो परिवेशका विरुद्ध चेतनाका फाँकाहरु कवितामार्फत् अभिव्यक्त गरेको पाइन्छ । उनका कविता सरल छन् । कविताभित्र सिंचन भएको भावनामा कञ्चनताका बूँदहरु प्रवाहित छन् । त्यसैले त उनका कविताहरु पढिरहूँजस्ता, कण्ठ गरुँजस्ता छन् । सत्को पक्षमा आवाज उराल्न सिपालु उनी कविले क्रान्तिको पक्षमा मात्र कविता लेखेनन्, उनले कवितामा नै क्रान्ति नभई हुँदैन स्वच्छ शान्ति भनेर परिवर्तनका लागि दह्रो आवाज उठाएका छन् । राणाकालमा क्रान्तिको सङ्केत गर्नु भनेको चानचुने कुरा थिएन तर कविले क्रान्तिकै पक्षमा शङ्खघोष गरेका छन् । जेलजीवन बिताउनुपर्दा अप्ठ्यारो नमानी न्यायकै पक्षमा कवितामा आफ्नो विचार बोलेर कविले आफ्नो धर्म निर्वाह गरेको देखिन्छ । त्यसैले भन्न सकिन्छ, कवि सिद्धिचरणले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्नै ढङ्गको योगदान र समर्पण पु¥याएका छन् ।
‘सङ्कट पर्दछ मानिसलाई ढुङ्गालाई के पर्दछ ?’ भन्दै मान्छेहरुकै गीत गाउने, मान्छेहरुको मुक्ति खोजिरहने, आफ्नै देशको महत्व सबैलाई बुझाइरहने, चेतनालाई उघार्ने खालका सोचहरु कवितामा सम्प्रेषित गरिरहने कवि सिद्धिचरण श्रेष्ठको जन्म वि.सं. १९६९ जेठ ९ गते ओखलढुङ्गा, सगरमाथा अञ्चलमा पिता विष्णुचरण श्रेष्ठ र माता नीरकुमारी श्रेष्ठको कोखबाट भएको हो ।
समाजसेवी चेतनशील साहित्यकार विष्णुचरण श्रेष्ठका थुप्रै प्रकारका प्रभावहरु आफूमा सारेर, कविमनमा चेतना राखेर कवि सिद्धिचरणले राजनीतिमा पनि आफूसक्दो योगदान गरेका छन् । कवि सिद्धिचरण श्रेष्ठ १९९७ सालको राजनीतिक आन्दोलनमा अंश सर्वस्व भई १८ वर्ष कारावासको सजाय पाएका र पछि ५ वर्षको कारावासपछि मुक्त भएका हुन् । राजनीतिक सचेतताकै कारणले उनले आाफ्ना धेरैजसो कविताहरुमा मान्छेका मनभित्रका पीडाहरु, मान्छेले भोग्दै गरेका कष्टव्यवहारहरु, शोषण–दमनका मर्मपूर्ण सन्दर्भहरु पोखेका छन् । कवि सिद्धिचरण श्रेष्ठका कविताहरुमा प्रगतिवादी धारा प्रवाहित हुनाको कारण उनले भोगेका सामाजिक परिवेशले नै हो भन्नुपर्छ । संवेदनशीलहरु जोकोहीलाई पनि संवेदनाले छोइहाल्छ; यस्तै समाजमा व्याप्त संवेदनाकै प्रभावले कवि सिद्धिचरण श्रेष्ठलाई पनि संवेदनशील कवि बनाइदिएको स्पष्ट छ ।
नेपालभाषा र नेपालीभाषा दुवैमा त्यत्तिकै सशक्तढङ्गले कविता–काव्यमा आफ्नो ठाउँ बनाएका कवि सिद्धिचरणका कविताहरु सरल भईकन बोधगम्य छन्, छन्दमा लेखिएका भए तापनि स्वच्छन्द गद्यकविताजस्तै फुक्का छन् र दृष्टि–चेत भईकन पनि नाराजस्तै नभएर सुन्दर ढङ्गका छन् । कविताहरुमा कविता भर्न नसक्दा कविता जिउँदो तुल्याउन गाह्रो हुन्छ भनिन्छ । सिद्धिचरणका कविताहरुमा कविताका मर्म र धर्म सम्प्रेषित छन्, त्यसैले सिद्धिचरण श्रेष्ठका कविताहरु जीवन्त छन् । स्वच्छन्दतावादी धाराभित्रबाट हुर्केका प्रगतिवादी कवि भनिदिँदा अप्ठ्यारो नपर्ने कवि सिद्धिचरणका कविताहरुमा युगका मर्महरु, शोषित–पीडित जनमनका भावधाराहरु र देशकै माया पोखेका उद्गारहरु कविताका हरफहरु भएर पोखिएका छन् । कवि सिद्धिचरण मान्छेलाई हेरेर यसरी कवितामा लेख्छन् ः
मानिस तैंले उठ्नैपर्छ, दुःख–सङ्कट भोग्नैपर्छ,
युगको उर्दी माने पो ता मानिस यो मानिस बन्छ ।
सङ्घर्षमा खट्नेहरु, योजनामा लाग्नेहरु, सही बाटोमा हिँड्नेहरु र समुद्रमा कुद्नेहरुले मात्र छलाङ मार्न सक्छन् । जति बुझ्दै जान्छन् त्यति नै बुझ्नुपर्ने बाध्यताले सताउँछन् । जति राम्रो गर्छन् त्यति नै सङ्कट भोग्नुपर्ने हुन्छ । यस्तै खालको परिवेश नियालेर कविमनले कवितामा यसरी विचार पोखे ः
जसको छाती जति विशाल त्यति नै सङ्कट उसलाई
गोली लाग्दछ बापूमा नै केही हुँदैन अरुलाई ।
यस्तै बापूहरुको त्याग र कर्तव्य बुझेका कविले आफूलाई निर्धा र निमुखाजस्तै बोधो राख्न मन पराएनन् । त्यसैले उनले आफूले देखेका र भोगेका काला परिवेश र कालो सत्ताको विरुद्ध राणाकालीन अवस्थामा पनि कवितामा यसरी भावना उराले ः
आज नखाऔं नसुतौं आओ सब मिली हड्ताल मचाऔं
कसरी चल्ला विधिको सृष्टि लौ त्यसको पाइन हेरौं ।
नेपालभाषा र नेपालीमा थुप्रै काव्य–कृतिहरु छोडेर गएका कविकर सिद्धिचरण श्रेष्ठका जेल संस्मरणका पुस्तक ऐतिहासिक सामग्रीका रुपमा प्रख्यात छन् । यिनले शारदा साहित्यिक पत्रिकाको पनि केही क्षणसम्म सम्पादन कार्यमा सहयोग गरेको देखिन्छ ।
उनले लेखेका युगप्रतिको चेतनाले अति प्रभावित धेरैजसो कविताहरुलाई नियालेर भन्न सकिन्छ, उनी युगकवि हुन्, प्रगति खोज्ने प्रगतिशील कवि हुन्, समाजमा परिवर्तन चाहने परिवर्र्तनकामी कवि हुन्, अग्रज कविहरुको कोटीमा दह्रो ढङ्गले उभिएका महान् कवि हुन् । त्यसैले त उनी युगकविका रुपमा सधैं प्रतिष्ठापित रहिरहने छन् । यिनको अवसान २०४९ जेठ २२ मा भएको हो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |