मोहन दुवाल, वरिष्ठ साहित्यकार
भन्दा अप्ठ्यारो लाग्ने र सुन्नेहरुले सुन्दा आश्चर्यलाग्दो हुने एउटा कुरा सार्वजनिक गर्न मन लाग्यो । जीवनमा घटेका थुप्रै घटनाहरु छन् ती घटनाहरु सकेसम्म नलुकाइकन्, संशोधन नगरिकन फ्याट भन्न मन लाग्छ । तर कोही–कोही आफ्नो इज्जत ठूलो कल्पेर ढाँट्न, छल्न र आफूलाई लुकाउन मन गर्छन् । म सकेसम्म कुराहरु, घटनाहरु लुकाउँन जान्दिनँ । यसै क्रममा आज एउटा कुरा नलुकाइकन भन्न खोजें । जीवनमा सङ्घर्ष बोकेर आएकै कारणले म सङ्घर्षसँग थाकेर भागेको छैन । सङ्घर्ष नै जीवन सम्झेर जीवनलाई सङ्घर्षमय बनाउँदै आउन पाएकै कारणले मेरा सङ्घर्षका कुराहरु मेरा आपत्विपत्का सन्दर्भहरु र मेरा जीवनका दुःखहरु पटाक्षेप गर्न मलाई मन लाग्छ ।
२९ वर्षको छँदा विवाह गरें । मैले मनमा राखेजस्तै खालकी सरल, सोझी, निष्कलङ्क देखिंदो एकजना महिला जो ठैबमा बस्छिन् सँग मेरो परिचय भयो । मित्र निनु चापागाईं र इन्दिरा दली कै सक्रियतामा भारतीसँग मेरो चिनाजानी भएको हो । देखादेखमा नै मन प¥यो र त भारतीसँग मेरो विवाह भयो । २०३४ असारमा हाम्रो विवाहवारी भयो । जीवन–क्रमहरु गुजार्दै गयौं । ‘सिर्जना’, ‘संरचना’ र ‘सचेत’ लाई हामी दुई मिलेर पटाक्षेप ग¥यौं । घरमा अभाव छ, दुःख छ तर हामी दुवैजना कहिल्यै थाकेनौं । घरमा वृद्ध बुबा र वृद्धा आमा हुनुहुन्छ । उहाँहरुको सेवा गर्न पनि भारतीले कहिल्यै गा¥हो मानेनन् । सेवामा जुटेको छ; नढाँटीकन भन्नुपर्दा उनी सेवामा जुट्न पाउँदा गौरवै गरेको देखिन्छ ।
यस्तै अभावमा पनि हामीहरु खटिरह्यौं । जे छ त्यसैमा सन्तोष मानेर घर–व्यवहार चलाइरह्यौं । २०४६ सालताकाको कुरा, विवाह गरेको १२ वर्ष नाघिसकेको छ । भारतीले मलाई र मैले भारतीलाई भित्र–बाहिर जताततै छामिसकेकै कारणले एक–अर्कामा नजिकले चिनिसकेका थियौं । शिक्षण सेवा गर्छौं हामीहरु दुवैले । आय थोरै खर्च धेरै गर्नुपर्ने बेला थियो । तर के गर्ने मेरो धुन किताब निकाल्ने । स्वास्थ्य अलिक ज्वरो आएर खस्केको समय थियो; केही दिन घरैमा आराम गरिरहेको थिएँ यही समयमा मैले १०० टुक्रा मुक्तक लेखें । पहिलो छोरी ‘सिर्जना’ को नाम गाँसेर मुक्तकसङ्ग्रह ‘सिर्जनाका फूलहरु’ तयार पारें । स्वास्थ्य ठीक भएपछि काठमाडौं आएँ । कलाकार मोहन खड्कालाई मुक्तक कविता देखाएँ । कविता अनुसारका कला रेखाङ्कन गर्न अनुरोध गरें – उहाँले सहर्ष स्वीकार्नु भयो । कृष्णप्रसाद पराजुलीसँग भएर ‘अठोट’ काभ्रेली कवितासङ्ग्रह निकालिसकेको बखत थियो । साहित्यजगत्मा मेरो सक्रियता देखेर सबै प्रभावित भएको बेला भएकोले उक्त पुस्तकको भूमिका लेखिदिन कविवर सिद्धिचरण श्रेष्ठ, चर्चित कवि केदारमान व्यथित, समालोचक कृष्णचन्द्रसिंह प्रधान, भाषाविद् तथा प्रसिद्ध साहित्यकार कृष्णप्रसाद पराजुलीलाई अनुरोध ग¥यौं । सहर्ष सबैले तुरुन्तातुरुन्तै भूमिका लेखिदिनुभयो । ‘सिर्जनाका फूलहरु’ प्रेसमा दिने सोच भयो तर के गर्ने पुस्तक प्रकाशन गर्नका लागि नगद खन्याउन सक्ने ताकत भएन । भारतीलाई गुहार्दै भनें – “गलामा सुनको सिक्री बाँधेर आफूलाई देखाउन मन छ कि ? पुस्तक छापेर श्रीमानको नाम चलेको हेर्ने मन छ ।” मैले प्वाक्कै प्रश्न राखें – सोझी, ढाँट्न नजानेकी, लोभ नभएकी मेरी श्रीमतीले पनि ठ्वाकै जवाफ दिइन् – “मलाई त तपाईंको नाम चलेको नै मनपर्छ” भनेर सुनको सिक्री मलाई थम्याइदिइन् ।
भारतीको सुनको सिक्री प्राप्त भयो । सुन पसलमा सिक्री बन्धक राख्न दौडेर गएँ । त्यसताका सुन तोलाको ५,०००।– मात्र रहेछ, २ तोलाको सुनको सिक्रीका लागि रु.१०,०००।– प्राप्त भयो । भोलिपल्ट नै रु.१०,०००।– बो केर काठमाडौंतर्फ लम्क्यौं । भेराइटी प्रिन्टर्स, कमलादीमा पुस्तक छाप्न दियौैं । केह िदिनपछि प्रेसले पुस्तक जिम्मा लगाई दियो । पुस्तक प्राप्त भएपछि ठाउँ–ठाउँमा पुस्तक पु¥याउन गयौं । भूमिका लेखिदिनुहुने आदरयोग्यहरुको घर–घरमा पुगेर पुस्तक पु¥यायौं । कला रेखाङ्कन गरिदिनुभई ‘सिर्जनाका फूलहरु’ को महत्व राष्ट्रमा देखाइदिनुहुने मेरा प्रिय कलाकार मित्र मोहन खड्काको कार्यालयमा पुगेर केही थान पुस्तकहरु दियौं । पुस्तकको टिप्पणी लेख्न र छाप्नका लागि अनुरोध गर्दै विभिन्न पत्र–पत्रिकाको कार्यालय धायौं । एउटा ठूलो युद्ध जितेजस्तो भयो । मलाई कविका रुपमा यस पुस्तकले स्थापित गरिदियो । थुप्र्रै पत्र–पत्रिकाहरुले यस पुस्तकको चर्चा गरिदिए । मलाई सम्झनामा आएअनुसार त्यसताकाका चर्चित साप्ताहिकहरु समीक्षा र मातृभूमि, स्तरीय साहित्यिक पत्रिकाहरु गरिमा, मधुपर्क, सुगन्ध, जनमत, रचना र अन्य साप्ताहिकहरुमा सन्देश, प्रतिक्रिया, डेलीडायरी, युगसम्वाद, नेपालभूमि, विवेक, गोरखा एक्सप्रेस, हिन्दु, जनज्योति र दैनिकमा गोरखापत्रले पनि कृतिको प्रशंसामा लेखिदिएको देखिन्छ । ‘सिर्जनाका फूलहरु’बारे गहन विचारसहितका लेख–रचनाहरु मदनमणि दीक्षित, डा. तारानाथ शर्मा, कृष्ण गौतम, देवीप्रसाद सुवेदी, ध्रुव सापकोटा, हीरामणि शर्मा पौड्याल, रत्ननिधि रेग्मी, सानुराजा श्रेष्ठ ‘अन्जान’, इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ले पनि समीक्षात्मक टिप्पणी लेख्नुभई ‘सिर्जनाका फूलहरु’ पुस्तकको प्रशंसामा अक्षरहरुबाट अभिवादन लिन पाइयो । ठाउँ–ठाउँबाट पाएको प्रशंसा र धेरैजसोले त्यसताका गरेको तारिफले म धन्यधन्य भएको मलाई सम्झना आइरहन्छ । वरिष्ठ पत्रकार तथा विशिष्ट आख्यानकार मदनमणि दीक्षितज्यूले त समीक्षाको अग्रिम पृष्ठमा बाकस समाचार बनाई ‘सिर्जनाका फूलहरु, मोहन दुवाल र बनेपा’ शिर्षक बनाई यसरी मुक्तकण्ठले प्रशंसा गर्नुभई यसरी लेख्नुभयो — “बनेपाका मोहन दुवालका सयवटा मुक्तकहरुको संग्रह ‘सिर्जनाका फूलहरु’ प्रकाशित भएको छ । मोहन खड्काका रेखाचित्रहरुले मुक्तकमा रहेको भाव अनुकूल पुस्तकका प्रत्येक पानालाई सिंगारेर नेपाली साहित्यक्षेत्रमा प्रस्तुत पुस्तकले कविता र कलाबीच पहिलोपटक समायोजन गरेको देखिन्छ । मुक्तकहरुको यो सङ्ग्रहको प्रकाशनले नेपाली वाङ्मयको काव्यविधालाई विकासको चरणमा चारपाइला अघि सारेको छ ।” यसको साथै मुक्तकमा अगाडि सारेको साहित्यको परिभाषामा लेखिएको मुक्तक पनि ‘समीक्षा’ ले छापेर मेरा कविता–कलाको प्रशंसा गरेका छन् । मुक्तकमा साहित्यको परिभाषा —
चेतनाको अनुभूति हो साहित्य
संप्रेषणकै अनुकृति हो साहित्य
बेमेल सौन्दर्य होइन साहित्य –
सिर्जनाको भावाभिव्यक्ति हो साहित्य ।”
पुस्तकले उक्त मुक्तकमा रहेको विचारलाई उच्च धरातलमा पु¥याएर अनुशरण गरेको छ । दुवालका मुक्तकहरु यथार्थवादी छन् । मानवीय मूल्यप्रेरित छन्, देशप्रेमले भरिएका छन् तथा प्रगतिवादी विचार र रसात्मकका सौन्दर्यानुभूतिबीच कलात्मक सन्तुलनले ओतप्रोत छन् ।”
यसरी नै गुप्रै साहित्यकारहरुले यस मुक्तकसङ्ग्रहबारे आ–आफ्नो सकारात्मक अभिव्यक्ति पोखेका छन् सबैको यहाँ उल्लेख गरेर साध्य छैन तर वरिष्ठ समालोचक डा. तारानाथ शर्माले यस पुस्तकको चर्चा गर्दै मधुपर्कमा लेख्नुभएको केही हरफहरुमात्र यहाँ अगाडि राख्न चाहें । उहाँले लेख्नुभएको छ — “जीवन र जगत्प्रति मोहन दुवालको ठूलो प्रेम छ । मुक्तककार मोहन दुवालको जीवनप्रेम जोशिलो र जुर्मुराउँदो छ । समाजका विसङ्गति, अन्याय र अत्याचारप्रति उनका मुक्तकहरु विद्रोहको आगो ओइराउँछन् । सामाजिक उत्तरदायित्वको जल्दोबल्दो प्रेरणाले यी मुक्तक सामूहिक चेतनाका स्वर हुन पुगेका छन् । … मोहन दुवाल आशावादी कवि हुन् । उनका रचनामा व्यथा र वेदनाको यथेष्ट चित्रण पाइए पनि समस्त पीडाको ओखती न्याय, सहृदयता र मानवतामा पाइन्छ भन्ने उनको दह्रिलो आस्था छ ।
‘सिर्जनाका फूलहरु’ निकालेर घाटामा परेनौं । कृतिगत रुपमा ‘आलोचना र परिचय’ प्रगतिशील खेमामा जति चर्चा भयो त्यो भन्दाबढी ‘सिर्जनाका फूलहरु’ मुक्तकसङ्ग्रहको चर्चा जताततै भयो । सोझी श्रीमतीको त्याग÷समर्पण भावले मेरो नाम चलेकोमा गौरव गर्छु भनेर दिएको सुनको सिक्रीले मेरो सिर्जनात्मक व्यक्तित्वमा उचाइ थपिदियो — मलाई खुसी पनि लाग्यो । भारतीले सुनको सिक्री कहिल्यै पनि फिर्ता मागिनन् । सरल जीवन बाँच्न जानेकी भारतीले सुनको सिक्री लगाएर ठूलो हुने परिकल्पना गरेनन् । यसै सन्दर्भमा सुनको सिक्री समर्पण गरेर मलाई ‘सिर्जनाका फूलहरु’ हुर्काउन र सम्भार गर्न प्रेरणा दिंदै आएकी भारतीलाई यस मुक्तकसङ्ग्रहका केही मुक्तकका हरफहरु समर्पण गर्न रुचाएँ —
अँध्यारोमा उज्यालो भर्ने दीप–शिखा हौ तिमी
वसन्त ऋतुमा झलमलाउने सुन्दर फूल हौ तिमी
मौरीहरुलाई पुलपुल्याउने अलंकार हौ कि कसो –
सुन्दर–सुन्दर सृष्टिभित्रका दिव्य मुहार हौ तिमी ।
००
धरतीमा प्रगतिका फूल फुलाउने सृष्टिका कर्म हौ तिमी
जीवनमा निर्माणका हात झुलाउने दृष्टिका हस्ती हौ तिमी
सुख्खा फाँटमा बोट–विरुवा हुर्काउन मलजल दिएर –
कोइलीको मीठो धुनसँगै वसन्त खुलाउने वृष्टि हौ तिमी ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |