यो सरकारप्रति नेपाली जनताको अथाह अपेक्षाहरु भइरहँदा सरकारले भने ति अपेक्षाहरुलाई नजरअन्दाज गरेको महसुस भएको छ । सुशासनका सवालामा होस् या विकास निर्माण, शान्ति सुरक्षा लगायत कुनै पनि विधामा सरकारले जनतालाई राहतको अनुभूति हुने किसिमका सन्देशहरु दिएको नपाइएको भुईँमान्छेहरुको गुनासो एकपछि अर्काे गर्दै थपिँदै छ ।
सरकारले सरकार सञ्चालनमा देखाएको निरिहपनको पहिलो उदाहरण विद्युत् प्राधिकरण माथिको रबैयालाई लिन सकिन्छ । कुनै एउटा पात्रको निच स्वार्थका लागि समाजले सक्षम, योग्य र क्षमतावान् पात्रका रुपमा परिभाषित गरी कुशल संगठकको रुपमा स्थापित व्यक्तिमाथि खनिनुले सरकारको यथार्थता छर्लंग भएको छ । सरकार दिनप्रतिदिन नागरिकले प्राप्त गर्ने नैसर्गिक अधिकारमाथि अंकुश लगाउन गइरहेको छ । जसले वाक स्वतन्त्रता र जन्मसिद्ध अधिकारमाथि समेत रोक लगाउने परिपञ्चमा उत्रनुले पनि यो सरकारको नियत प्रष्टिएको छ । त्यसैले यो सरकारका गलत गतिविधिलाई खबरदारी गर्नु एउटा कलमजीविको धर्म हो भन्ने निर्णयमा हामी अडिग छौं ।
पछिल्लो घटनाक्रमप्रति गहिरो समिक्षा गर्ने हो भने सरकार निरंकुशतातर्फ अग्रसर भएको आभाष मिलेको छ । भर्खरै दशरथ रंगशालामा देखिएको उदण्ड गतिविधि होस् या पोखरामा जनप्रतिनिधिले सर्वसाधारणमाथि गरेको ज्यादती यसैका प्रतिनिधि पात्रका रुपमा लिइएको छ । यस किसिमका उदण्ड गतिविधिले सरकार विचलित भएको पुष्टि गर्दछ । जसका कारण नेपाली जनतामा दिनप्रतिदिन निराशा बढिरहेको छ । जसको फाइदा प्रतिगमनका मतियारका रुपमा परिचित राजावादी भन्नेहरुले धमिलो पानीमा माछा मार्ने प्रयत्न गरेका छन् । यो आफैंमा बिडम्बना भन्दा अरु कुनै अर्थ राख्दैन ।
बजार व्यापारीहरुको कब्जामा छ । उनीहरुले चाहेअनुसारको कालो बजारिया चलाइरहेका छन् । जसको मारमा सबैभन्दा बढी भुईँमान्छे परिरहेका छन् । उनीहरुको आवाज, पिडा, वेदना कसले सुनिदिने ? सरकार यसतर्फ कहिले गम्भीर हुने ? के नेपाली जनताले यही अपेक्षा राखेका थिए ? दुई तिहाइ नजिकको यो सरकारसँग अहिले सर्वत्र चर्चाको विषयको बनेको छ । यसतर्फ सरकार गम्भीर हुनुको सट्टा उदण्डतर्फ अग्रसर हुनुले गणतन्त्रमाथि नै प्रश्न चिन्हहरु एकपछि अर्काे खडा भएका छन् । यसले नेपाली जनताको रगत पसिनाबाट सिर्जित सीमित अधिकारहरु कुण्ठित हुनेमा दुईमत छैन ।
सरकारका यस्ता गतिविधिले प्रतिगमनहरु सडकमा आएका छन् । जुन आफैंमा परिवर्तनकारीहरुका लागि चुनौतीको विषय बनेको छ । यसतर्फ जुन उपलब्धीमा टेकेर सरकार बनेको छ, त्यो नै अभिशापको रुपमा सावित नहोस् भन्ने अपेक्षा हामीले राखेका छौं । भुईंमान्छेका सामान्यभन्दा सामान्य विषयवस्तुलाई सम्बोधन गरेर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिने छैन भन्ने निचोडमा हामी छौं ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |