Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

प्रभातफेरी अनलाइन ६५ पटक पढिएको प्रकाशित मिति: २०८२ माघ १५, बुधबार (४ दिन अघि)
बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

बनेपा भौगोलिक दृष्टिले अत्यन्त सानो तर रमणीय नगर हो । बनेपाबाट २६ किलोमिटर पश्चिममा काठमाडौं र ४ किलोमिटर पूर्वमा धुलिखेल पर्दछ । व्यापार व्यवसायका लागि अत्यन्त प्रख्यात र प्रसिद्ध यो पूर्वको चर्चित नगर हो । यहाँ मुख्यतया नेवार जातिका मानिसहरू बसोबास गर्दछन् । यहाँका बासिन्दाहरू आफ्नो मूलभाषा नेवारीभाषामा नै कुराकानी गर्दछन् । अहिले आएर यस बनेपा नगर विस्तृत भएर फेरिएको छ । हालको बनेपा नगरपालिका १४ वडामा विभाजित गरिएको छ । सांगा, बासडोल र नालासमेत बनेपामा गाभिएको छ । यो गाभिनुभन्दा अगाडिको बनेपाको मुहारचित्र यसमा समेटिएको छ ।
चारैतिर रमणीय हरियाली पहाडले घेरिएको बनेपा उपत्यका कला–संस्कृतिमा पनि आफ्नै पहिचान देखाउन सफल नगरका रूपमा चीर परिचित छन् । नौतले दरबारको इतिहासलाई उत्खनन् गरी खोज्न बाँकी रहेको यस प्राचीन नगरलाई लायकु दरबारको भग्नावशेषमा पुरिएको माटो, इँटाभित्र लुकेको इतिहास साँच्न र खोज्न सक्रिय हुनुपर्दछ । लायकु परिसरमा रहेको सूर्यमूर्ति, चण्डेश्वरी मन्दिर, अन्य विभिन्न मन्दिरमा रहेको टुँडाल र ढुङ्गाका प्रस्तर मूर्तिहरू, ठाउँ–ठाउँमा स्थापित बुद्ध मूर्तिहरूले बनेपाको सांस्कृतिक मुहारलाई प्रष्ट देखाउँछ । र त्यस्तै नगरको विभिन्न कोणमा अवस्थित रहेका आठवटा गणेश–मन्दिरका कला कौशलहरू ऐतिहासिक दृष्टिले उल्लेख गर्न लायकका संस्कृतिका धरोहर हुन् भन्न सकिन्छ । यहाँ वर्षको एकपल्ट चण्डेश्वरी पूर्णिमाका दिन चण्डेश्वरीको जात्रा धुमधामसँग मनाउने चलन चल्दै आएको छ । त्यस्तै नारायण, भीमसेन र टुकंप्पो गणेशको रथयात्रा गराई जात्रा गर्ने प्रचलन अद्यापि कायम छ । साथै गणेश, हनुमान, बुद्ध, महादेव, नारायण भगवान्को पूजा वर्षेनी गर्ने चलन पनि छ । वर्षको एकपल्ट कन्याको पूजा गर्ने चलन यहाँ भव्य रूपले गर्ने गर्दछन् । जिल्लाभरका कन्याहरू पूजा गर्ने यो चलन धेरै अघिदेखि चल्दै आएको हो ।
प्राचीन कालदेखि यी सात शहर इतिहासमा प्रख्यात छन् – बनेपा, धुलिखेल, पनौती–खोपासी, श्रीखण्डपुर, साँगा, नाला र चौकोट । यी सात शहरका केन्द्रविन्दु नगर हो – बनेपा । वि.सं. ११५३ तिर नै राजा आनन्ददेवले स्थापना गरेको शहरका रूपमा परिचित प्राचीन नगर बनेपा राजनीतिक, सामाजिक, शैक्षिक दृष्टिले पनि अत्यन्त प्रख्यात शहर हो । पुन्यमाता नदीले घेरिएको यो उपत्यका १४६१ मिटर उचाइमा रहेको र यहाँको हावापानी गर्मीमा गर्मी महसुस नहुने, जाडोमा त्यतिविघ्न जाडो महसुस नहुने खालको छ ।
व्यापारिक नगर यस बनेपामा थुप्रै खालका बैंक र फाइनान्स कार्यालयहरू संचालित छन् । कम्प्युटर सेवाका अनगिन्ती माध्यमहरू सेवामा संचालित भइरहेको यस नगरमा काभ्रे बहुमुखी क्याम्पस र चैतन्य बहुमुखी क्याम्पस दुवै डिग्रीसम्म विभिन्न विषयमा पढाइ हुँदै आएको समुदायबाट संचालित हुँदै आएको क्याम्पस हो तर भर्खर मात्र चैतन्य बहुमुखी क्याम्पस सरकारी क्याम्पसको रुपमा स्वीकृति प्राप्त भएको छ । यसका अलावा थुप्रै खालका प्राविधिक क्याम्पसहरू, उच्च माविहरू, निजीस्तरमा संचालित मावि तथा सरकारी माविहरू यस नगरमा संचालित छन् । सबभन्दा पुरानो शीर मेमोरियल अस्पताललगायत नेपाल रेडक्रस सोसाइटी, एड्रा नेपाल, नेपाल परिवार नियोजन संघ, द रेयुकाई नेपाल आदि संघ संस्थाहरू स्वास्थ्यसेवाका अनगिन्ती सेवाहरूमा आ–आफ्नो ढङ्गले सेवारत छन् । निजीस्तरमा कृष्णप्रसाद हस्पिटल, बनेपा हस्पिटल लगायत अन्यले पनि नर्सिङ होमहरू खोलेर स्वास्थ्य सेवा पु¥याइरहेको देखिन्छ ।
साहित्यिक मासिक जनमत र थुप्रै साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएकोे यस नगरमा आयुर्वेद स्वास्थ्य पद्धतिका लागि यहाँका थुप्रै वैद्यराजहरू सक्रिय भएर स्वास्थ्यसेवामा संलग्न छन् । थुप्रै बस कारखानाहरू भएको यस नगरमा यातायातको सुव्यवस्थापनका लागि भनेर थुप्र्रैवटा यातायात सेवाका सङ्गठनहरु पनि संचालित छन् ।
बृद्धाश्रम, अनाथालय, सुस्त मनस्थिति केन्द्र, हृदयरोग केन्द्र, बहिरा संघ आदि अशक्त जनजीवनलाई सेवा पु¥याउने उद्देश्यले संचालित केन्द्रहरूका साथै ध्यानकुटी विहार, वौद्ध विहार आदि ज्ञान भण्डारहरू पनि यहाँ संचालित छन् । बागमती अंचल काभ्रेपलाञ्चोक जिल्लाअन्तर्गत रहेको सानो तर रमणीय ऐतिहासिक नगर बनेपाको स्थान इतिहासको कालखण्डमा उल्लेखनीय रहेको मात्र होइन नेपालको राजधानीसमेत बनेको ताडपत्रमा उल्लेख भएको पाइन्छ ।
‘भ्वन्तश्री’ शासकवंशको मूलघर रहेको बनेपाले प्राग् ऐतिहासिककालदेखि मध्यकालको उत्तरकालको पूर्वाद्धसम्म काठमाडौं उपत्यकासम्म आफ्नो प्रभाव छोडेको देखिन्छ । वि.सं. १५७३ तिर स्वतन्त्र राज्य बनेपामा राजा रण मल्लले शासन गरेको इतिहासमा उल्लेख छ । त्यस्तै जगार्जुन मल्लले पनि कुनै बेला राजा भई शासन चलाएको देखिन्छ । यसरी बनेपा कहिले स्वाधीन राज्यका रूपमा र कहिले नेपाल मण्डलभित्र रहेर आफ्नो पहिचान देखाइरहेको नगर हो ।
बनेपामा विशेष गरी दछु, भोलाखा, स्वधा, वकु यी चार टोलहरू प्रख्यात छन् । पहिला त यी चारवटा गाउँ पञ्चायत भएर पनि सञ्चालित थियो । अरनिको राजमार्गतिर रहेको बजार पछिल्लोपल्ट बन्दै आएको नयाँ बजार हो जहाँ बनेपाको व्यापार व्यवसायको चहकिलो मुहार देख्न सकिन्छ । इतिहासमा थुपै्र खालको नाम पाएका बनेपाका अन्य नामहरूमा भोँत, भोँदे, भोन्त, भ्वन्त, भोतदेश, बीनयापुरी, बीलयापुरी, बनिकापुर, बन्दिकापुर, वणिकापुर, बनेपुर, बनिपा, बनेपा ग्राम, भुजङ्ग आदि प्रख्यात छन् ।
००
लोकजीवनको भावनात्मक अभिव्यक्तिका रुपमा लोकसाहित्यको अभिव्यक्ति भएको देखिन्छ । साहित्यको विकासमा लोकसाहित्यले प्राचीनकालदेखि प्रभाव पार्दै आएको कुरा सर्वविदितै छ । लोकसाहित्यका रुपमा प्रकाशन हुँदै आएको विविध विधाअन्तर्गतका आख्यान, काव्य, नाट्यसाहित्य, कथा–कुथुङग्रीका विभिन्न रुपरङ्गहरु मानिसले सुन्दै र सुनाउँदै आएका विभिन्न प्रसङ्गहरु इतिहासमा छरपष्ट छन् । नेपाली साहित्यमा मात्र नभई नेपालमा प्रचलित अन्य विविध भाषाका साहित्यमा पनि वर्णमात्रिक र अन्य छन्दमा समेत आफ्नो लयमार्फत्– काव्यकृतिहरु प्रकाशित भएका छन् । लोकसाहित्यका एउटा रुप कविता – काव्य पनि भएकोले यसै सन्दर्भमा रहेर बनेपामा प्रचलित एउटा लोकगाथाका रुपमा प्रचलित स्तोत्रलाई अगाडि सार्ने प्रयास गरेको छु ।
आजभन्दा ३४३ वर्ष अगाडि जगत्केशरी नाम गरेका एकजना कविले ‘श्रीचण्डेश्वरी स्तोत्र’ नेपालभाषामा लेखेको एउटा प्राचीन काव्य–कृति हो । इतिहासमा ५३० वर्ष अघि रण मल्लले बनेपामा स्वतन्त्र राज्यका रुपमा राज्य गरेको देखिन्छ । त्यसैताका रण मल्लले पनि साहित्यिक सिर्जना गरेको देखिन्छ । ‘पाण्डव विजयम्’ त्यसबेला यिनीद्वारा सिर्जित नाट्यकृति हो । यस क्षेत्रमा देखापरेका हालसम्मका सबैभन्दा पुराना साहित्यिक व्यक्तित्वका रुपमा रण मल्लको साहित्यिक सिर्जना र सक्रियतालाई विशेष उल्लेख गर्न लायकको देखिन्छ । त्यसपछि देखापरेको नेपालभाषाको काव्य–कृति हो जगत् केशरीका स्तोत्रहरु । जगत्केशरीका दुईटा स्तोत्रहरु प्रकाशित छन् । लोकछन्दमा लेखिएको ‘चण्डेश्वरी स्तोत्र’ र ‘धनेश्वर स्तोत्र’ का कविका रुपमा प्रकाशित भएका जगत्केशरी कुन जातिका, कुन क्षेत्रका र बनेपा वा काभे्र कुन ठाउँका हुन् खोजीको विषय छ । बनेपा क्षेत्रभित्रका आराध्यदेवी र देवका रुपमा सबैले पूजा गर्दै आएका चण्डेश्वरी भगवती र धनेश्वर महादेवका स्तोत्र लेखेर यस क्षेत्रमा प्रख्यातनामा कमाएका जगत्केशरी बनेपा नगरभित्रकै कवि प्रतिभा हुन भन्न सकिन्छ । किनभने चण्डेश्वरी देवी यसक्षेत्रका पूजनीय मात्र नभईकन बनेपामा सबैले पूजा र रथ यात्रा गर्दै आएका आराध्य भगवती पनि हुन् । ‘धनेश्वर महादेव’ यस क्षेत्रमा प्रतिस्थापन हुँदै आएको प्राचीनकथाभित्र लुकेका ऐतिहासिक महादेवका शिवलिङ्ग भएकै कारणले सबैले पूजा गर्दै आएका महादेव हुन् । नेवारहरु नेपाललाई ‘नेपा’ भन्ने गर्छन् । काठमाडौं जस्तै ‘बनेपा’ पनि उपत्यकाका रुपमा संरक्षित छन् । बनेपालाई चिनीयाँ यात्रीहरुले ‘बनेपा’ (सानो नेपाल) को रुपमा उल्लेख गरेको पाइन्छ । यसै क्षेत्रमा प्राचीन कथामा वर्णित भएअनुसार ‘चण्डासुर’ दैत्यको साम्राज्य चलेको र त्यस साम्राज्यमा यिनले मनपरीतन्त्र चलाएर जनता जनार्दनहरुलाई दुःख दिएको किंवदन्ती  प्रचलित छ ।
संस्कृतिविद् हरिराम जोशीद्वारा सम्पादित रोलम्बाको वर्ष २ अङ्क ३ मा उल्लेख भएअनुसार नेपालमहात्यमा ‘चण्डपुर’ सहरमा बस्ने भनी चण्डासुरको चर्चा भएको छ । यसको वर्णनसँगै काशीका विश्वेश्वरनाथबाट वरदान पाएको उल्लेखले यिनी बनारसबाट आएको हुन सक्ने संभावनाका तथ्यहरु लुकेका छन् । तर नेपालमहात्म्यकै उल्लेखलाई आधार बनाएर अध्ययन गर्दा चण्डासुर बनारसको नभई बनेपा आसपासकै असुर मानव अर्थात् सामन्त हुन भन्न सकिन्छ । यस क्षेत्रमा अन्याय, अत्याचार, मनपरीतन्त्र चलाएकै कारणले यिनी यस क्षेत्रका निरंकुश सामन्त हुन् भनी प्रमाणित गर्न सकिन्छ । निरंकुश सामन्तहरुलाई त्यसताका दैत्य वा राक्षसका रुपमा परिचित गराउने प्रचलन भएकै कारणले चण्डासुरलाई दानवका रुपमा इतिहासमा परिचय गराएका छन् ।
यस क्षेत्रका दानवलाई वध गरेकै कारणले चण्डेश्वरी महामानवका रुपमा ईश्वरीय शक्ति अथवा शक्तिशाली व्यक्तिका रुपमा चिरपरिचित छन् । यसैकारणले यस क्षेत्रमा यी महादेवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापन गरी प्रत्येक वर्ष ठूलो पर्वका रुपमा चण्डेश्वरीको जात्रा चलाउने प्रचलन धेरै सय वर्ष अगाडि चल्दै र चलाउँदै आएका छन् । दानव अथवा अमानवकै रुपमा ज्यादती र शोषण गर्दै आएका असुर व्यक्तिलाई वध गर्न सक्नु चानचुने कुरा थिएन, त्यहि कार्य चण्डेश्रीले गर्दै आएको देखिएकोले सबैको मन–मनमा चण्डेश्वरी प्रतिस्थापन रहँदै आएको यस क्षेत्रका बासिन्दाहरुको भनाइ छ । यसैलाई आधार मानेर जगत्केशरीले ‘चण्डेश्वरी स्तोत्र लेखेका देखिन्छ । यहाँ जानकारीका लागि उक्त स्तोत्र उतारिएको छ ।
(ॐ नमः चण्डेश्वरीय नमः)
परनाम याङा गुरुसके आज्ञा फोने ।
भवानिया चरन सं चित्ततसे चोने ।।
चण्डिकाया महातम ङेनेल्हाये आव ।
महामाया चण्डेश्वरी पूजा याङा भाव ।१।
अद्भुत महिमा खाँ ङेने रसताया
जनम सुुफल जुव कृतारथ काया ।।
ङेङ ङेङ सन्तजन मन निश्चयन  ।
प्रतिपाल याक लोक करुणामयन ।२।
सर्वदान कृपायाक मोचातो खङाव ।
जगत जननी बस अति दया चाव ।।
धर्म अर्थ काम मोक्ष वरदान बिसे ।
बिज्याक भोतसं सदा थमं बास यासे ।३।
सुर नर मुनि जन गण गन्धर्वन ।
अपसरा नाग गुहय जक्ष किन्नरनं ।।
विद्याधर सिद्ध जोगी जुयाव प्रसन्न ।
नित्य प्रति पुजलपं प्रार्थना याता ।४।
चण्डिकाया पादुकास सेवलपं चोने ।
धर्म अर्थ काम मोक्ष पेता बर फोने ।।
कृपा याङा विज्याहुने छलपोलसेन ।
चण्डासुर मोचका खाँ ल्हाये कथा जिनं ।५।
अगोचल अगमखा क्षमा यायेमाल ।
हे परमेश्वरी छिके जिन नमस्कार ।।
पुरबया तपस्यानं परताप थुला ।
त्रिभुवन जयलपं चंडासुर जुला ।६।
महात्रासं माने याङा देवलोक जुला ।
राज्यदक्को हललपं चण्डासुरं काला ।।
देवलोक पनि चोने गनानं मप्mतो ।
बालें बालेलिसें छुला उभार मदतो ।७।
देवलोक समस्तनं गुपत नं चोना ।
गथे याये आव छि जी चोनवने गना ।।
उपाय छु दव आव याव प्रतिपाल ।
धकाव साहुति याले छम्हसेनं धाल ।८।
चण्डासुर भयानक महातप लाक ।
महादेव सके वङा तव बर लाक ।।
पुरुषन स्यायमदु धका वर फोनां ।
महादेव भोलानाथं धयाथेन बिला ।९।
थुलिया प्रभावं थुका चण्डासुर जुल ।
मखाँङा उपाय मेव जिन धया गुलि ।।
चण्डेश्वरी सके छिं जि वनेगु शरण ।
वस बिना मदु दुःख याइव हरण ।१०।
इन्द्रादि देव गण नं खव धकं चोना ।
रक्तचन्दन वन मन थाङ वाना ।।
धयाथें वङाव देव स्तुति याङा चोना ।
जि पनि शरण वया छि चरण जोङा ।११।
याङा विज्याहुने छिन देव उपकार ।
माम बबु गतिमति छलपोल धाल ।।
रक्षा याङा विज्याहुने मामन मचातो ।
जिपनिस वास याये गनानं मदतो ।१२।
चण्डासुर पापीष्ट नं दुःख बिल वला ।
जिपनिस राज्य दक्को वनं कासे तला ।।
अतिकष्ट दुःख पीडा थ्वनं बिल वला ।
गथे याये प्रतिपाल लखंलपे तेलो ।१३।
चण्डासुर पापीष्टथ्य स्याये छिनं माल ।
देवगण कृपायाङा याहुने उद्धार ।।
देव गणं धया वाक्य ङेङाव देवीनं ।
प्रतक्ष याङाव पिहाँ बिज्यात बननं ।१४।
शस्त्र अस्त्र धरलपं सिंह बाहन नं ।
तेजो मञ्जुरुप याङा प्रशन्न वदनं ।।
देवलोक व पदङा दंडवत याता ।।
ल्हाथ ज्वजलपं चोङा नाना स्तुति याता ।१५।
अनेक प्रकारं वन्ध परार्थना याता ।
जिमिस संड्ढष्ट जुलो रक्षा याव माता ।।
जिमिस दुःखया कथा अपमान जुलो ।
चण्डासुर बध याये मन थाने तेलो ।१६।
बारम्बार नमस्कार बिनति जिमिस ।
असह वेदन जुलो अतिन जिभिस ।।
धकाव विनति याङादेवगण चोना ।
चण्डासुर दानवया जिव वध फोना ।१७।
थथे चों चों चण्डासुर जुद्ध यात वला ।
शब्द ताया देवगण सकलेन सुला ।।
नाना पंक्षी रुप याङा देवगन वना ।
फले फले दशदिग वेग याङा वना ।१८।
मयुर वोहल कोख सारसया रुप ।
कपोत चकेवा मेगु राजहंश रुप ।।
जिवं जिवं कोकिलादीं रुप काशे हिला
तेतिसकोटी देवलोक पंक्षी रुप जुला ।१९।
महामाया चंडीकानं अन्तध्र्यान जुला ।
रक्तचन्दन वन सकसेव सुला ।
दानवनं देव हाता आसे आसे धकं ।
जिमिस हस्तस लातो गनवने धकं ।२०।
छम्हानं मखाङा देव दानव गणनं ।
बिचाल याङाव सोला थिंथिं नुगलनं ।।
दानव छम्हानं धाला सिमास दुबिला ।
सिमातोक धेङा सोला देव दव धाला ।२१।
धाया खाँ ङेङाव चंडासुर दैत्यन ।
खड्ग कासे तत्कालं सिमातोक धेना ।।
जगत जननी देवी चंडीका बिज्याता ।
हुँकारस बधयाङा चंडासुर हाता ।२२।
ले ले दुष्ट दानव छ थनि तुनि लाता ।
छ व जुद्ध याये धक थमं थिंथिं न्वाता ।।
अनेक प्रकारं जुद्ध दानवनं याता ।
शस्त्र अस्त्र जोङा थिंथिं बाहु जुद्ध याता ।२३।
चण्डासुर दैत्यनं थमं फुतो ताला ।
मननं विचार याङा देवी सके धाला ।।
छलपोल जगत्माता खव निश्चयन ।
मृत्यु छि हस्तस लातो बेगतन ।२४।
आसे आसे बिन्ती छिके क्षण मात्र लाङ ।
शिवलिङ्ग स्थापलपं जिन नाम याङा ।।
धयाथेङ चण्डेश्वर स्थापलपं तला ।
धयावलपं चण्डासुर जुद्ध यात वला ।२५।
क्रोधलपं चण्डेश्वरी खड्ग पहारन ।
दानवया शिरच्छेद याता तत्कालन ।।
चण्डासुर मृत्यु जुव दईत्यन खाङा ।
दशदिग विसेवन चण्डासुर गण ।२६।
आकासस देव दुंदुं वाद्य थाङा चोना ।
जय जय माम धकं नाना स्वान ताना ।।
अपसरा गन्धर्वन नित्य गीत याता ।
कीन्नरादी जक्षगण नाना स्तुति याता ।२७।
देवलोक समस्तया अति हर्ष मान ।
नाना वस्तु पुजलपं देवलोक साना ।
चण्डिका सन्तोष जुसे देवलोक हाना ।।
छमिस सेवान भिन अति रस ताया ।२८।
हुनि हुनि देवगण थव राज्य याता ।
निर्भये याङाव चोयो याव प्रतिपाल ।।
चण्डासुर वध याङा कथा ङने माल ।
इहलोक परलोक ङेभिङान सार ।२९।
ग्वम्हन पुजन याता जन बैशाखन ।
जन जात्रा आनन्दन याक पुन्हीखुनु ।।
फल पूmल धूप दीप थमं फक्को छाक ।
जन स्तुति याये अर्थ भालपाव याक ।३०।
नाना द्रव्य दयकाव अन्नदान याक ।
दुदु धलि घेल कष्टि पञ्चामृत छाक ।।
थ्वया पुण्य फल संख्या जिन गथे ल्हाये ।
पुत्र वर याङा जिन लहिनाव तय ।३१।
रोग शोक भय दुःख नाश याङा तय ।
इहत्रस परत्रस सुख गति विय ।।
थुली कथा महातम देवलोक काना ।
हुनि हुनि देवलोक छपनि मथान ।३२।
महामाया चण्डिीकाया आदेश ङेङाव ।
थव थव थास वङा अनुज्ञा कायाव ।।
परम इश्वरी देवी अन्तध्र्यान जुला ।
परमार्थ हिता याङा ङेङा थोखाँ मूल ।३३।
जगतकेशरी धाला बर फोने माम ।
भुगुति मुगुति ङता मनवान्छा काम ।।
पुराणस धयाथेन भाषा याङा तया ।
ज्ञानि गुनि पनि सेनं हिस्याय मतेव ।३४।
ने.सं. ७९८ भाद्रपद शुद्धि १०
यो स्तोत्रमा प्रयोग भएको भाषा बनेपाली नेवारहरुले बोल्ने प्राचीन भाषाकै लय र लवजमा लेखिएको छ । स्मरणको लागि यो स्तोत्र यस लेखमा प्रस्तुत गरिएको छ । पुरानो बनेपामा नेवारहरुले वैशाख चण्डी पूर्णिमामा यो स्तोत्र घर–घरमा वाचन गर्ने प्रचलन छ ।
यस स्तोत्र छन्दमा लेखिएको छ । भाषा र शैलीको दृष्टिले यस स्तोत्र कवितात्मक छ । बनेपालीले बोल्ने चलनचल्तीको भाषामा यस काव्यकृति लेखिएको छ । शब्दशैली र परिमार्जित भाषाका आधारमा भन्न सकिन्छ जगत्केशरीले आपूmलाई परिपक्व र सक्षम कविका रुपमा चिनाउन सफल छन् । सिङ्गै कवितामा चण्डेश्वरीको महिमा गाइएको छ र चण्डासुरलाई वध गर्दाका घटना–प्रसङ्गहरुलाई मिलाइएर चर्चा परिचर्चा गर्न कवि सफल छन् । यो स्तुतीलाई यस क्षेत्रका नेवारहरुले प्राचीन लोकगीत, लोककाव्यका रुपमा घर–घरमा वाचन गरेर चण्डेश्वरीको स्मरण गर्ने गर्छन् । चण्डेश्वरीको जात्रा हुने चण्डीपूर्णिमाका दिन यो स्तोत्र पढ्ने चलन छ । चण्डेश्वरीमाई भनेर आस्थामा साँचेका चण्डेश्वरीको दैवीगुणको बखान गरेर लेखिएको यस लोकगाथा यस क्षेत्रका लागि अमूल्य ग्रन्थका रुपमा प्रख्यात छन् ।
यसै सन्दर्भमा इतिहासकार केदारनाथ प्रधानले ‘बनेपाको ऐतिहासिक रुपरेखा’ पुस्तकमा ‘चण्डेश्वरीको सैन्यगणमा नाग रहनु, तिनको रक्षक एवं नागमालाका रुपमा ‘मीः नाग’ रहनुले यिनी नागजातिका हुनसक्ने सम्भावना देखिन्छ । चण्डेश्वरीलाई कालीका रुपमा मानिसले यस भेगजातिका नेतृको रुपमा  देखिने कालीको सन्तती भनी मान्न नसकिने देखिँदैन ।’ यस भनाइलाई आधार मानेर विवेचना गर्दा चण्डेश्वरी नागजातिको सन्तति हुनसक्ने थुप्रै संभावनाहरु छन् ।नेपालमा नागजातिको अस्तित्व रहेको मानिएबाट बनेपा इलाका नागगणसहितका मानव थलोका रुपमा विवेचना गर्न सकिन्छ । चण्डेश्वरीले चण्डासुर वध गरिएको प्रमाणिक आधारका रुपमा यस स्तुतिलाई पनि मनन गर्न सकिन्छ ।
नेपाल महात्म्यमा चण्डेश्वरीको प्रादुर्भाव भएको सम्बन्धमा उल्लेख भए भैmँ भाषा वंशावली र वेदमाला वंशावलीमा पनि उल्लेख भएको पाइन्छ । यसै स्तोत्रमा पनि नेपाल महात्म्यमा उल्लेख भएको कथाको वर्णन भएको छ । मातृप्रधान समाजको समयमा भएको मात्र घटना प्रसङ्गलाई नियाल्दा चण्डेश्वरीको मातृशक्तिको चण्डसुरको वध भएको देखिन्छ र यसै प्रसङ्गलाई उल्लेख गर्दै यो लोकगाथा स्तुतिका रुपमा तयार भएको देखिन्छ ।
०००
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • सिलवालको ‘अमेरिकाको घाम’ लोकार्पित

    सिलवालको ‘अमेरिकाको घाम’ लोकार्पित

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0