प्रभातफेरी अनलाइन ११ पटक पढिएको प्रकाशित मिति: २०८३ जेष्ठ ११, सोमबार (२ घण्टा अघि)
काभ्रे/जिल्लामा आत्महत्या र मानसिक स्वास्थ्यसम्बन्धी बढ्दो चुनौतीलाई मध्यनजर गर्दै सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले जिम्मेवार सञ्चार अभ्यासमार्फत आत्महत्या न्यूनीकरणमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । आज स्वास्थ्य कार्यालय धुलिखेलद्वारा आयोजित “मिडिया अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम” मा सहभागी पत्रकारहरूले आत्महत्याका घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्नुको सट्टा जनचेतना अभिवृद्धि र मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि कलम चलाउने प्रतिबद्धता व्यक्त गरेका छन्
कार्यक्रममा मानसिक स्वास्थ्य तथा आत्महत्या न्यूनीकरणसम्बन्धी प्रस्तुति दिँदै डा. उर्मीला पौडेलले मानसिक स्वास्थ्यलाई अझै पनि समाजमा लुकाएर राख्ने प्रवृत्ति कायम रहेकाले समयमै परामर्श र उपचारको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले मानसिक समस्यालाई सामान्य स्वास्थ्य समस्याकै रूपमा स्वीकार गरी परिवार, विद्यालय र समुदायस्तरबाट सहयोगी वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले आत्महत्या न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले आत्महत्याका घटनालाई अतिरञ्जित, भावनात्मक वा विस्तृत विवरणसहित प्रस्तुत गर्दा समाजमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले पत्रकारहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसार संवेदनशील र जिम्मेवार रिपोर्टिङ गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सहभागी पत्रकारहरूले पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आत्महत्याका घटनालाई सनसनीपूर्ण ढंगले प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । घटनाको तरिका, स्थान वा तस्बिरलाई अत्यधिक प्रचार गर्दा विशेषगरी बालबालिका र किशोर–किशोरीमा ‘कपीक्याट इफेक्ट’ अर्थात् नकारात्मक सिको पर्ने जोखिम बढ्ने भएकाले अब त्यसप्रकारका सामग्री प्रकाशन–प्रसारणमा सचेत रहेको पत्रकारहरूको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपानेले काभ्रेका सञ्चारकर्मीहरूले पछिल्ला वर्षहरूमा जिम्मेवार पत्रकारितालाई प्राथमिकतामा राख्दै समाजलाई सकारात्मक सन्देश दिने समाचारलाई प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले समाजलाई सचेत बनाउने, समस्या उजागर गर्ने र समाधानतर्फ प्रेरित गर्ने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्कीले मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटनालाई न्यूनीकरण गर्न स्वास्थ्य संस्था, सञ्चारमाध्यम, परिवार र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा देखिने तनाव, पारिवारिक विखण्डन तथा सामाजिक दबाबका कारण मानसिक समस्या बढ्दै गएकाले सामूहिक प्रयासबाट मात्रै समाधान सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय तहदेखि नै मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न विद्यालयमा विद्यार्थीहरूसँग मानसिक स्वास्थ्यसम्बन्धी अन्तरक्रिया सुरु गरिएको छ । बढ्दो स्क्रिन टाइम, सामाजिक सञ्जालको अत्यधिक प्रयोग तथा पारिवारिक संवादको कमीले किशोर–किशोरीमा मानसिक दबाब बढाइरहेको भन्दै अभिभावक र शिक्षकलाई समेत सचेत हुन आग्रह गरिएको थियो ।

विज्ञहरूले मानसिक समस्या लुकाउने होइन, समयमै उपचार गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिएका थिए । डिप्रेसन वा मानसिक तनावमा रहेका व्यक्तिलाई परिवार र समाजले साथ दिन सके धेरै दुःखद घटनाहरू रोक्न सकिने उनीहरूको भनाइ थियो । कार्यक्रममा सहभागी वक्ताहरूले काभ्रेको पत्रकारिता पछिल्लो समय जिम्मेवार र रचनात्मक बन्दै गएको उल्लेख गर्दै यसलाई अन्य जिल्लाका लागि समेत उदाहरणीय अभ्यासका रूपमा लिन सकिने बताएका थिए । सञ्चारकर्मी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबीचको सहकार्यले मात्रै मानसिक रूपमा स्वस्थ र सुरक्षित समाज निर्माण गर्न सकिने निष्कर्ष कार्यक्रमले निकालेको थियो ।
मानसिक स्वास्थ्य पनि शारीरिक स्वास्थ्यजत्तिकै महत्त्वपूर्ण विषय हो । यदि तपाईं वा तपाईंको वरपर कोही लामो समयदेखि तनाव, एक्लोपन वा मानसिक दबाबमा हुनुहुन्छ भने लुकाउनुको सट्टा परिवार, साथीभाइ वा विशेषज्ञसँग खुला रूपमा कुरा गर्नुहोस् । समयमै गरिएको सल्लाह, उपचार र परिवारको साथले कसैको अमूल्य जीवन बचाउन सक्छ । कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले गर्नुभएको छ ,भने अध्यक्षता जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपति श्रेष्ठले गर्नुभएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बिनोद न्यौपाने तथा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविन कार्की अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |