प्रभातफेरी अनलाइन१० पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार(१६ घण्टा अघि)
मेरो सम्झना गरी खाने वर्गले गरोस्, काम गरेर, क्रान्ति गरेर, सधैँ अगाडि बढेर।
वि.सं. २०७६ वैशाख २७ गते डीआर पौडेलले निर्मल लामालाई सम्झँदै निर्मल लामाकै यो भनाई आफ्नो फेसबुकमा सेयर गर्नुभएको रहेछ । निकै अग्ला कदका सरल, निष्ठावान् र सिद्धान्तनिष्ठ कम्युनिस्ट नेता निर्मल लामाले जीवनको उत्तरार्धमा मानिसहरूले आफूलाई त्यसरी सम्झिदिउँन् भन्ने अपेक्षा गर्नुभएको थियो । यो सरल वाक्यांश भित्रको गहनतम् मर्मले पौडेललाई स्पर्श नगर्ने कुरै भएन ।
कसलाई थाहा थियो र ! त्यसको दुई वर्ष वित्न नपाउँदै लामाको त्यही भनाई स्वयं डीआर पौडेलकै फेसबुक वालबाट झिकेर स्वयं उहाँलाई नै स्मरण गर्नुपर्छ भनेर । हृदयघातबाट अकल्पनीय मृत्युवरण गर्नुभएका पौडेलले यदि आफ्नो मृत्यु यति छिटै होला भनेर थाहा पाउने कुरै भएन । थाहा पाउनुभएको भए सायद हामीलाई यस्तै केही भन्नुहुन्थ्यो होला जस्तो लाग्छ । उहाँको जीवन दर्शन, चिन्तन प्रणाली र निष्ठापूर्ण सादगी जीवन यात्रा हेर्दा सहजै भन्न सकिन्छ– मृत्युपछिको उहाँको सदीच्छा पनि पक्कै निर्मल लामाकै जस्तो हुन्थ्यो होला । आखिर उहाँ जति बाँच्नुभयो, त्यही गरिखाने वर्गका लागि बाँच्नुभयो । जीवनको अन्तिम श्वास फेर्दासम्म आन्दोलन र क्रान्तिमा निरन्तर समर्पित हुनुभयो । अग्रगमनको पदचापलाई कहिल्यै छाड्नु भएन । सदैव इमान र निष्ठाको पर्याय भएरै बाँच्नुभयो । वर्गप्रेम र वर्गदृष्टिकोणमा हिमालजस्तै अटल र अविचल रहिरहनुभयो ।
सुरुवाती चरणमा डीआर पौडेलसँग मेरो उस्तो सङ्गत रहेन । एकातिर उहाँ हामीभन्दा अलि अघिको सिनियर नेता हुनुहुन्थ्यो भने अर्कातिर हामी फरक कम्युनिस्ट घटकमा थियौँ । यद्यपि पूर्वविद्यार्थी नेताको रूपमा उहाँका लेख रचना पढ्ने र चासो राख्ने क्रम भने चलेकै थियो। तर एउटै पार्टी र आन्दोलनका सहयात्री भएपछिको पछिल्लो दशक भने उहाँसँग बाक्लै भेटघाट र राम्रै सामीप्यता रह्यो । हरेक घटना, वस्तु, परिवेश र विषयलाई वर्गीय पक्षधरताको दृष्टिकोणले हेर्ने उहाँको स्पष्ट मार्क्सवादी लाइन थियो । भनिन्छ जीवनको लम्बाइभन्दा उचाइ बढाउने कुरा महत्त्वपूर्ण हो । समग्रमा हेर्दा उहाँको भागमा जीवनको लम्बाई त धेरै परेन तर राम्रै उचाई भने बनाएरै जानुभयो । इमानमा कहिल्यै चुक्नुभएन । वर्ग वैरीहरूसँग कहिल्यै झुक्नुभएन र सङ्कटमा कहिल्यै लुक्नुभएन । त्यसैले मलाई लाग्छ स्वयं डीआर पौडेलकै स्पिरिटअनुसार काम गरेर, क्रान्ति गरेर र निरन्तर अघि बढेर मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्छ ।
केही वर्षअघि अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय कार्यालयमा सबै पूर्वअध्यक्षहरूको तस्बिर राख्ने कुरा भयो । त्यसबखत कार्यालय सचिव रुद्र विष्ट हुनुहुन्थ्यो र म नेवाः राज्य (उपत्यका) संयोजक थिएँ । हामी दुई भाई डीआर पौडेलसँग भेटघाट पनि गर्ने र राम्रो तस्बिर पनि लिने भनेर मिनभवन छेउको उहाँको डेरामा गयौँ । कोठामा समसामयिक राजनीति र विद्यार्थी आन्दोलनबारे स्वाभाविक रूपमा कुराकानी भए । एउटा सांसद भईसकेको व्यक्ति जुन सादगीपनका साथ बस्नुभएको थियो त्यसले कम्युनिस्ट आन्दोलनको एउटा इमानदार र निष्ठावान् सिपाहीको स्पष्ट परिचय दिइरहेको थियो । कुराकानीका क्रममा उहाँको चिन्ता केवल पार्टी, आन्दोलन र वर्गप्रति मात्र केन्द्रित थियो । आफूले के पाइयो वा पाइएन भन्नेमा विल्कुल थिएन । छलफलपछि कोठाभित्र केही फोटा खिच्यौँ । तर लाइट मिलेन भनेर फेरि बाहिर निस्किएर थप फोटा खिच्यौँ । खैरो कोटमा खिचिएको तस्बिर अहिले पनि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय कार्यालयको भित्तामा छ । मेरो आँखा झल्यास्स् त्यहाँ पुग्दा मलाई यस्तो लाग्छ– डीआर दाइले मलाई नै हेरिरहनुभएको छ । डीआर पौडेल शिक्षा मन्त्रीमा नियुक्त भएको दिन म सुर्खेतमा थिएँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियु निर्वाचनका क्रममा करिब दुई हप्ता म त्यत्तै रहेको थिए । एउटा असाध्यै सोझो, इमानदार र भुइँमान्छेहरूको प्रतिनिधि शिक्षा मन्त्री भएको कुराले मलाई निकै नै खुसी तुल्याएको थियो । पूर्वविद्यार्थी नेता भएकाले त्यो जिम्मेवारी थप सान्दर्भिक लागेको थियो । त्यसैले साँझपख बधाई दिन भनेर फोन गरेँ । आफ्नो सरलतालाई पुष्टि गर्दै उहाँले तत्कालै फोन उठाउनुभयो । मैले विद्यार्थी नेता हुँदा जे विषय माग गर्नुहुन्थ्यो, अब शिक्षा मन्त्री भएपछि त्यही कुरा कार्यान्वयन गर्नुपर्यो दाइ भनेर बधाई दिएँ । उहाँले सक्दो कोसिस गर्छु भनेर प्रतिबद्धता जनाउनुभयो । त्यस दिशामा उहाँले सक्दो प्रयास गर्नु पनि भयो ।
देखेर डीआर पौडेल आजित हुनुहुन्थ्यो । मन्त्रालयका नीति, निर्देशन र आयोगको प्रतिवेदनमार्फत प्रधानमन्त्रीलाई निजी शिक्षाका मालिकहरूको चङ्गुलबाट मुक्त गर्न उहाँहरूले धेरै कोसिस गर्नुभयो । तर प्रधानमन्त्रीले त्यो घेरा तोड्न कहिल्यै चाहनुभएन । बरु त्यसैमा रमाइरहनुभयो । यो नेपालको शिक्षालाई समाजवादतिर लाने कि दलाल पुँजीवादको दलदलमा राखिराख्ने भन्ने भीषण लडाइँ थियो । यो लडाइँमा डीआर पौडेल सतिसाल भई उभिनुभएको थियो । निजी शिक्षाका दलालहरू उहाँलाई दुस्मन जस्तै ठान्थे । यो लडाइँ अहिले पनि जारी छ । मेरो विचारमा प्रधानमन्त्री कार्यालयमा पोको पारेर राखिएको शिक्षा आयोगको त्यो प्रतिवेदन सार्वजनिक गरेर त्यसका तमाम जनपक्षीय प्रावधान कार्यान्वयन गर्न सकियो भने त्यो नै वास्तवमा डीआर पौडेलप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।
हो, हामीले अल्प आयुमै डीआर पौडेलको भौतिक शरीर त गुमाउनुपर्यो । तर उहाँले उठाएको न्याय, समानता र स्वतन्त्रताको त्यो ध्वजा लत्रिएको छैन र लत्रिने पनि छैन । भुइँमान्छेहरूको पक्षमा डीआर पौडेलले बोकेको सिद्धान्त, विचार र वर्गनिष्ठाको त्यो झण्डा कहिल्यै झुक्ने छैन । जनताका छोराछोरीहरूले पढ्ने सार्वजनिक शिक्षाको सबलीकरणका निम्ति उहाँले बालेको त्यो दियो कहिल्यै निभ्ने छैन । उहाँको क्रान्तिकारी विचारको त्यो ओजस्वी तारा कहिल्यै अस्ताउने छैन । आफ्ना योगदान, विचार र निष्ठाहरूसँगै डीआर पौडेल अजर हुनुहुनेछ । अमर हुनुहुनेछ । किनभने यो महाअभियानमा उहाँ एक्लो हुनुहुन्नथ्यो । आफ्ना हजारौँ र लाखौँ सहकर्मी, सहधर्मी, अनुयायी र कमरेडहरूका माझ उहाँ सधैँ हाँसिरहनु हुनेछ । उहाँ सधैँ बाँचिरहनु हुनेछ । अल बिदा डीआर दाइ ! लालसलाम !!!
सुरेन्द्र बस्नेत
(बस्नेत राष्ट्रिय युवा परिषदका पूर्वकार्यकारी उपाध्यक्ष एवम् नेकपाका केन्द्रीय सदस्य हुन्)