बुद्धिचालसँग मेरो माया बसेको धेरै अगाडिदेखि नै हो । म युवा छँदादेखि नै बुद्धिचाल खेल्ने गर्थेँ । मलाई याद छ, सायद १६ वर्षको छँदादेखि बुद्धिचाल खेल्ने गरेको । भोलाखाटोलमा काठमाडौंका भाइरत्न शाक्य डेरामा बस्नुहुन्थ्यो । उहाँको पसलमा बुद्धिचाल र क्यारेम खेल्नेहरुको भीड लाग्ने गथ्र्यो । हरिदाई अर्थात् मेरो साहिँलादाई हरिप्रसाद दुवाल बुद्धिचालको सौखिन खेलाडी हुनुभएको र सबैजसो दाजुभाइको बुद्धिचालसँग माया मोह रहेकोले र हामी सबै बुद्धिचाल खेल्ने गथ्र्याैं । कृष्णदाइ र देवेन्द्रदाइ पनि बुद्धिचाल मन पराएर खेल्नुहुन्थ्यो । कहिलेकाहीँ घरमा हामी दाजुभाइहरु खेलमा सामेल हुन्थ्यौं ।
समय बचेको बखतमा अरुमा भन्दा बुद्धिचालमा समय लगाउँथे । सबैले चिन्छन् मलाई बुद्धिचालका खेलाडी भनेर । जहाँ जहाँ म पुगेँ, यस खेलबाट अलग भइनँ । मेरो प्रिय र मनपर्ने साथी बन्यो बुद्धिचाल खेल । गोरखा क्याम्पसमा २०३४ सालतिर शिक्षाशास्त्र अध्ययन संस्थान अन्तर्गत सहायक प्राध्यापक हुँदाताका होस्, त्यसभन्दा अगाडि पाँचखाल, भैंसेपाटी, धुलिखेल, सांगा, काठमाडौंमा म शिक्षक हुँदाताका होस्, जहाँ पनि मेरा बुद्धिचाल खेल्ने साथीहरुसँग अन्तरङ्ग सम्बन्ध कायम भएका थुप्रै उदाहरणहरु छन् । गोरखा क्याम्पसमा पढाउन जानुभन्दा अगाडि प्रसिद्ध लेखिका पारिजातसँग धेरैपटक उहाँकै निवासघरमा बुद्धिचाल खेलेका सम्झनाहरु आइरहन्छ । राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक निरञ्जनगोविन्द वैद्य मेरो पुराना बुद्धिचाल खेलका मित्र । भोटाहिटीस्थित उहाँको पुस्तक पसलमा दिनका दिनजसो उहाँसँग बुद्धिचाल खेलेका दिनहरु आजपर्यन्त सम्झना आइरहन्छ । बीएड पढ्दै गर्दा २०३२ देखि २०३४ सम्म म इटुम्बहालमा डेरा लिएर बसेको बेला निरञ्जनदाईको पसलमा नगएको दिन नै हुँदैनथ्यो । त्यो पुस्तक पसलसँग मेरो अनन्य सम्बन्ध गाँसिएको यसै खेलमार्फत् हो ।
खेलमा झेल पनि हुन्छ, खेलबाट मेल पनि हुन्छ । तर यस बुद्धिचाल खेलमार्फत् धेरैजनासँग मेरो सम्पर्क बढाइदियो । काभ्रेबाट लखेटिएर सहिद स्मारक माविका शिक्षक भइजाँदा बुद्धिचाल खेल्ने शिक्षक साथीहरुसँग विशेष मित्रता बढ्दै गयो । कालिम्पोङतिरका पाख्रिनसर अहिले पनि याद आइरहन्छ । थानकोटस्थित प्रभात निमाविका शिक्षक गोविन्द केसी, चन्द्रमोहन जोशीहरु आजसम्म पनि सम्झना भइरहेको छ । थुप्रै स्कुलमा पढाएँ, थुप्रै ठाउँमा मेरो बुद्धिचाल खेल खेल्ने खेलाडी मित्रहरुसँग साइनो बढ्यो । मेरा लागि स्फूर्तिदायक खेल बन्यो बुद्धिचाल ।

गोरखामा करीब एक वर्ष बसेँ । मेरा गोरखाका प्रिय मित्र होमकुमार श्रेष्ठको मेडिकल पसलमा दिनका दिनजसो म पुग्ने गर्थेँ । त्यसको प्रमुख कारण बुद्धिचाल खेल नै हो । दुर्गमजस्तो ठाउँ गोरखामा सबैजसो जागीरदारहरु तास खेल्न मस्त भइराख्दा म बुद्धिचालमा मगज लगाइरहँदा शंकाको नजरले मलाई हेर्ने गर्थे जिल्लाका तत्कालका प्रशासकहरु । मेरो खेल हेर्न गोरखालीहरु झुम्मिने गर्छन् । मलाई बुद्धिचाल खेल्ने सर भन्दा सबैले चिन्छन् । त्यहाँ पनि गोरखामा रहँदा सधैंजसो यस खेलबाट म टाढा रहिनँ, बुद्धिचालको खेलाडी बनिरहेँ । २०३५ मा काभ्रेमा फर्केँ । काभ्रेको टुसाल गाउँमा शिक्षक भएँ । त्यहाँ पनि बजगाईं, दाहालसरहरुसँग केही महिनामात्र भए पनि यस खेलको माध्यमबाट मन साटासाट गरियो । महेन्द्र निमावि छँदाताका २०३६ सालतिर साँगामा प्रअ भई गएँ । त्यहाँ पनि शिक्षकहरुसँग यही खेलमार्फत् आत्मीयता साट्न पाएँ । अझ विद्यालय संचालक समितिका अध्यक्ष माधवनारायण जोशी मेरा दिनका दिन जसोका यस खेलका मित्र बन्यो । निकै मनोरम हुन्थ्यो, हामी विद्यालय कार्यालय कोठामा यस खेलका पारखी बनेर खेलमा मन साटिरहन्थ्यौं । त्यसताका चर्चित विश्व च्याम्पियनहरु कार्पोभ र फिसरका पुस्तकहरु हेर्ने गर्थेँ । हरिदाइ अक्सरतया बुद्धिचालका किताबहरु अध्ययन गर्नुहुन्थ्यो । मेरो अध्ययनका सामग्री दाइले हेर्ने किताबहरु हुन्थ्यो ।
जेमा पनि निरन्तर लागिरहेपछि उपलब्धी प्राप्ति हुँदोरहेछ । बुद्धिचालमा पनि म जिल्लाभर चिनिंदै गएँ । २०३८ असोज २८ गते बनेपामा भएको प्रथम काभ्रे जिल्लाव्यापी बुद्धिचाल प्रतियोगितामा द्वितीय भएर म पुरस्कृत भएँ । हर्षको सीमा बढ्यो मनमा । मनले अझ आत्मसात गर्यो यस खेललाई । जहाँ जहाँ पुगेँ म बुद्धिचालमा रमाएँ । एकताका म पोखरामा पुग्दा रातभरजसो पोखरेलीहरुसँग बुद्धिचाल खेल खलेको सम्झना बिर्सन गाह्रो छ । २०४६ साल कार्तिक २२ गते पनि दोस्रो जिल्लाव्यापी बुद्धिचाल प्रतियोगितामा तत्कालीन मन्त्री भद्रकुमारी घलेबाट म दोस्रोमा पुरस्कृत भएको थिएँ । झन् हौसला बढ्यो र मनभित्रको मर्ममा बुद्धिचाल थपक्क बस्यो । यस अवधिमा हामीले बाग्मती अञ्चलव्यापी बुद्धिचाल प्रतियोगिता गर्ने जाँगर चलायौं । बनेपा युवा क्लवको आयोजनामा भव्य खालको आयोजना भयो बनेपामा । बुद्धिचालका हस्तीहरु सबै बनेपामा ओइरिए । चारदोबाटोस्थित शाक्यहरुको ठूलो घरमा अञ्चलस्तरीय बुद्धिचाल प्रतियोगिताको उद्घाटन गरे मन्त्री पशुपति शम्सेरले । प्रतियोगितामा बनेपाका ईश्वरभक्त बादे सहविजयी बनेपा । बनेपाको हैकम बुद्धिचालमा प्रष्ट देखे राष्ट्रले । हामी चिनाइदिन पायौं ईश्वरभक्त बादेलाई । साथीहरु सबै खुसी थिए । हामी आयोजकहरु सबै प्रफुल्ल रह्यौं । यो घटना बुद्धिचाल खेल जगत्मा सधैं सम्झिनुपर्ने घटना बन्यो । बनेपा, काभ्रे र राष्ट्रले इतिहासमा अंकित गरिदिनुपर्ने खेलजगत्को स्रोत भयो यो आयोजना । यस आयोजनाले बनेपालाई सामेल गराउन पायौं बुद्धिचालको ऐतिहासिक श्रृङ्खलामा ।
हामीमा हौसला बढ्दै गएको कारणले पछिल्लो कालखण्डमा काभ्रे बुद्धिचाल संघ गठन ग¥यौं । बनेपाको चारदोबाटोस्थित एउटा सानदार घरमा बुद्धिचालको अफिस खोल्यौं । पाँचखालका शंकर काफ्ले, दामोदर अधिकारी, सँगाका माधवनारायण जोशी, बनेपाका राजभाइ डंगोल, रोशन श्रेष्ठ, पुष्प कर्मचार्यहरु त्यस कार्यालयमा रमाई रमाई बुद्धिचाल खेल्थ्यौं । अरु ठाउँमा पुग्नु सट्टा, अरु ठाउँमा अल्मिलिनुभन्दा हामी त्यहीँ अल्मलिन्थ्यौं । बुद्धिचालले त्यसताका मलाई मोहनी नै लगाइदियो । मेरो मनसँग बुद्धिचालको साइनो बजबुत हुँदै गया । सम्झना भइरहन्छन् राजभाइ डंगोल, शंकर काफ्ले र रोशनहरु । बुद्धिचाल खेल्दा समय गएको ख्यालै नहुने । एक खेल खेल्दा नै घण्टौं समय जाने, दोहो¥याई–तेह¥याई खेल खेल्न मज्जा लाग्ने । खेलमा सामेल भइरहँदा केहीको पनि अत्तोपत्तो नहुने, एकदिन प्रसवपीडामा रहेकी मेरी जीवनसँगिनीले छोरा पाउँदा पनि म खेलमा मस्त भइरहेको सम्झना गरिँदा आफैंमा हाँसो उठ्छ ।
मभन्दा अगाडिका बुद्धिचाल खेलका हस्तीहरुमा बनेपाका हरिप्रसाद दुवाल, ईश्वरभक्त बादे, नेमलाल मुस्याजु, केशवकाजी वैद्यहरु, पनौतीका श्यामसुन्दर सैंजू र पाँचखालका शंकर काफ्ले चर्चित नामहरु हुन् । बुद्धिचाल खेलजगत्का पछिल्लो कालखण्डम बनेपामा जन्मेका मदनकृष्ण कायस्थले बुद्धिचाल जगत्मा नेपाल च्याम्पियन भएर बनेपाको नामलाई बुद्धिचालमा दर्ता गरिदिए । हालका सक्रिय बुद्धिचाल खेलाडी तथा संगठकहरुमा कृष्णप्रसाद कायस्थ, रघुवर चौप्रधान, पुष्प कर्माचार्य, कृष्णप्रसाद कायस्थ, श्याम मानन्धरहरु सक्रिय देखिन्छन् । काभ्रे जिल्ला बुद्धिचाल संघ बनेपामा सक्रिय भएको इतिहास छ । यस संघको सक्रियतामा भएको १८ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता र तेस्रो राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताले बनेपा, काभ्रेलाई अझ बुद्धिचाल जगतमा माथिल्लो स्रतमा चिनाइदिने जुन प्रशंसनीय कार्य भएका छन् सोको लागि विशेष धन्यवाद दिनुपर्छ । माघ ६ गतेदेखि माघ १० गतेसम्म भएको उक्त कार्यक्रममा देशका विभिन्न भागबाट ८० जना चुनाएका खेलाडीहरु बनेपामा खेल खेल्न आइपुगेको घटना ऐतिहासिक सन्दर्भ हो भन्नुपर्छ ।
नेपाल बनेपा पोलिटेक्नि ईन्ष्टिच्यूटमा भएको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा दुईदिन र म पनि खेल मन परेकै कारणले अरु काम छोडेर सामेल भई दिएँ । माघ ६ गते उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल बैंकका व्यवस्थापन समितिका संयोजक महेश्वर श्रेष्ठ र राष्ट्रिय बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष राजेशहरि जोशी, पत्रकार नवराज बजगाईं लगायतका वक्ताहरुले मन्तव्य राखेको उक्त समारोहमा मैले पनि ‘मित्रता पहिले, त्यसपछि मात्र प्रतियोगिता ९ँचष्भलमकजष्उ ाष्चकत तजबल अयmउभतष्तष्यल० को भावनाले खेल खेल्नुपर्ने भन्नाका साथै आफ्नो बुद्धिचालसम्बन्धमा मेरो भावना सुनाइदिएको थिएँ । १० गते भएको समापन समारोहमा पनि डाकेकै कारणले म पुगेँ । त्यसदिन बुद्धिचाल खेलाडीहरुसँग बीसौं वर्ष पछि खेल खेलेँ, तर नराम्रो भएन – खेलमा जितेँ पनि । आयोजनाका लागि बनाइएको संयोजन समितिमा पनि मलाई सल्लाहकार बनाइएकोले म पुग्नु आफ्नो कर्तव्य सम्झेर पुगेको हुँ ।
समापन कार्यक्रममा नेपाल बनेपा पोलिटेक्निक ईन्ष्टिच्यूटका प्राचार्य मिष्टरकान्त मैनाली प्रमुख अतिथि बनाइएको उक्त समारोहमा बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठ र मलाई विशिष्ट अतिथिका रुपमा मञ्चमा बोलाइएको थियो । मलाई ज्यादै खुसी लाग्यो, हामीले त्यसताका शुभारम्भ गरेको बुद्धिचाल जगतको नेतृत्व नयाँ पुस्ताले गर्दैछन् र अझ खुसी कुन अर्थमा पनि लाग्यो भने बनेपामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता भयो । त्यस समारोहमा तीनचोटी च्याम्पियन बनिसकेका काभ्रे दाप्चाका विकास लामा लगायत यसपल्ट च्याम्पियन बनेका केशव श्रेष्ठ, मनिष हमाल, पुण्यमान कर्माचार्य, सजिन महर्जन, सुजेन्द्रप्रसाद श्रेष्ठ, पुरुषोत्तम चौलागाईं, सुरवीर लामा, भगवतीप्रसाद शर्माहरुलाई माला दिएर हात मिलाउन पाएँ । म देखिरहेछु मेरा बुद्धिचालका मेरा मनका तरङ्गहरु, जिल्लास्तरीय प्रतियोगिताका अनेकौं परिघटनाहरु, बागमती अञ्चलस्तरीय प्रतियोगिता गर्न पाउँदाका प्रसङ्गगत प्रकट भएका प्रेमील तरङ्गहरु बिर्सि पठाउँन गाह्रो भइरहेछ । यसैगरी रसियन ग्राण्ड ष्मास्टरसँग बुद्धिचाल खेल्दाका स्वर्णीम क्षणहरु, भक्तपुर जिल्लासँग भएका मैत्रीपूर्ण खेलहरुका साथै काभ्रे जिल्लाको दुर्गम क्षेत्र डाँडापारीको घर्तीछापमा शंकर काफ्ले र म खेल खेल्दा निर्णायक बनेका कमानसिंह लामा पनि आज मेरो मन मस्तिष्कमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुँदा बुद्धिचालका खेलभित्र देखिरहेछु ।
खेलहरुमध्ये बुद्धिचाल खेल मलाई निक्कै मनपर्ने भएकोले म जहाँजहाँ पुगेँ बुद्धिचालसँग मित्रवत सम्बन्ध कायम भइरह्यो । खेल बौद्धिकमात्र होइन शान्त दिल, दिमाग र बुद्धिलाई ठाउँमा राखेर भलाद्मी ढङ्गले खेल्नुपर्ने भएकैले पनि मलाई प्रभाव पारिरह्यो । आजपर्यन्तसम्म मेरो मनमा बुद्धिचाल छ, समय मिलाउन नसकेर मात्र यस बुद्धिचाल खेलजगत्बाट टाढाटाढा भइरहेको छु । तर पनि मेरो मनभित्र बुद्धिचाल खेलले लुकामारी खेल्ने गर्छन् र सपना र विपनामा बुद्धिचाल खेलले ‘के तिमी मसँग ठुस्किएको पो हो कि’ भनि सोधिरहेजस्तो लाग्छ ।
०००