logo
२०८३ अषाढ ५, शुक्रबार |
📰
🔍

राष्ट्रियसभा सदस्यद्वारा सुकुमबासी व्यवस्थापनदेखि घरेलु हिंसा र चिया उद्योगसम्म सरकारको ध्यानाकर्षण

प्रभातफेरी अनलाइन२ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ ५, शुक्रबार(२ घण्टा अघि)
राष्ट्रियसभा सदस्यद्वारा सुकुमबासी व्यवस्थापनदेखि घरेलु हिंसा र चिया उद्योगसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं,राष्ट्रियसभाका सदस्यहरूले वाग्मतीलगायत नदी किनारबाट हटाइएका सुकुमबासीको खान, बस्न र औषधी उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

आजको राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद गोमादेवी तिमल्सिनाले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमबासीले आधारभूत सुविधा समेत नपाएको दाबी गर्नुभयो। सांसद मदनकुमारी शाह (गरिमा) ले दुई महिना बितिसक्दा पनि सुकुमबासीको व्यवस्थापनमा सरकार असफल भएको टिप्पणी गर्नुभयो।

त्यस्तै सांसद जयन्तीदेवी राईले घरेलु हिंसा पीडितलाई न्याय सुनिश्चित गर्न आग्रह गर्नुभयो भने दुर्गा गुरुङले नीति तथा कार्यक्रम र बजेटमा स्थानीय आवश्यकता नसमेटिएको गुनासो गर्नुभयो।

सांसद नरबहादुर विष्टले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई लामो समयसम्म राखी दबाबमा काम गराइएको विषयप्रति आपत्ति जनाउनुभयो।

मुक्त कमैयाको पुनर्स्थापनासँगै रोजगारी सुनिश्चित गर्नुपर्ने, दलित समुदायमाथि भइरहेको हिंसामा कानूनी कारबाही नहुँदा न्याय कमजोर भएको, तथा बन्द भएका चिया उद्योगको भविष्यबारे पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।

साथै निर्माण व्यवसायीसम्बन्धी मन्त्रीका अभिव्यक्तिबारे समेत सरकारको स्पष्ट धारणा माग गरिएको छ।