logo
२०८३ अषाढ १५, सोमबार |
📰
🔍

सांसदलाई जिम्मेवार र अध्ययनशील बन्न सभामुख अर्यालको आग्रह

प्रभातफेरी अनलाइन११ पटक पढिएको प्रकाशित मिति: ६ घण्टा अघि (६ घण्टा अघि)
सांसदलाई जिम्मेवार र अध्ययनशील बन्न सभामुख अर्यालको आग्रह

काठमाडौं, सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीलाई जनताले निरन्तर नियालिरहेको उल्लेख गर्दै सबै सांसद आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी बन्नुपर्ने बताएका छन्।

सङ्घीय संसद सचिवालयले सोमबार काठमाडौंमा प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रभावकारी कानुन निर्माणका लागि विगतका असल अभ्यासबाट सिक्न, अध्ययनशील बन्न र प्रविधिमैत्री ढंगले काम गर्न सुझाव दिए।

सभामुख अर्यालले प्रतिनिधिसभामा धेरै नयाँ सांसद रहेकाले संसदीय विधि र प्रक्रियाबारे थप जानकारी दिन तथा सांसदहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए। उनले संसदीय प्रक्रिया र अभ्यासमा दक्षता हासिल गर्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा रूपान्तरण हुने भएकाले त्यसअनुसार आचरण, व्यवहार र जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सङ्घीय संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप जानकारी गराउने उद्देश्यले दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

संसद सचिवालयले सिंहदरबारस्थित संसद भवन परिसरमा सोमबारदेखि सुरु भएको उक्त अभिमुखीकरण कार्यक्रम मंगलबारसम्म सञ्चालन गर्ने जनाएको छ।