logo
२०८३ अषाढ १६, मंगलबार |
📰
🔍

स्थानीय तहका समस्या समाधानबारे मन्त्री रावल र मुख्यमन्त्री यादवबीच छलफल

प्रभातफेरी अनलाइन२० पटक पढिएको प्रकाशित मिति: ९ घण्टा अघि (९ घण्टा अघि)
स्थानीय तहका समस्या समाधानबारे मन्त्री रावल र मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

छलफलमा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीबारे विस्तृत रूपमा विचारविमर्श भएको थियो।

मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी र व्यवस्थित बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरेको जानकारी दिइन्। उनका अनुसार उक्त टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण संकलन गरेको छ।

उनले स्थानीय तहका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रालयले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन आवश्यक पहललाई निरन्तरता दिने बताइन्।

छलफलमा मन्त्रालयका सचिव, सहसचिव, प्रतिनिधिसभा सदस्य रहोवर अन्सारीलगायतको उपस्थिति रहेको थियो।