प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: ९ घण्टा अघि (९ घण्टा अघि)
काठमाडौं, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताएकी छन्।
६८औँ संसद् दिवसका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद्लाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिइन्।
उनले पछिल्लो समय संसद्को गुणस्तर खस्किएको भन्ने टिप्पणीहरू सुनिन थालेको उल्लेख गर्दै त्यसको कारणबारे सांसदहरूले आत्ममूल्याङ्कन गर्नुपर्ने बताइन्।
मन्त्री गौतमले संसद् जनताका प्रतिनिधि उपस्थित हुने सर्वोच्च संस्था भएकाले यसको गरिमा जोगाउने जिम्मेवारी सांसदहरूको व्यवहारबाटै प्रतिबिम्बित हुनुपर्ने धारणा राखिन्। आफ्नो आचरणमा कुनै कमजोरी आउन नदिने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।
उनले संसद्को समय जनताका मुद्दा उठाउन केन्द्रित गर्नुपर्ने र सांसदहरूले आफ्नो हरेक मिनेटको सदुपयोग गर्नुपर्नेमा जोड दिइन्।
साथै, संसद्मा प्रयोग हुने भाषा, उच्चारण गरिने शब्द र लगाइने पोशाकदेखि हरेक पक्षमा मर्यादा कायम गर्नुपर्ने उल्लेख गर्दै सांसदहरूले आफ्नो व्यवहारबाटै संसद्को गरिमा र सम्मान कायम राख्नुपर्ने बताइन्।